मानिसहरुका लागि प्रेम अमूल्य हुनसक्छ तर जब यसको उत्सव मनाउने कुरा आउँछ केही जोडीहरु खुलेर खर्च गर्न कुनै कसर बाँकी राख्दैनन्।
अर्ब डलर खर्च भएको त्यो रुसी विवाह समारोह होस् कि संसारका अर्ब बढी मानिसले चासो दिएर हेरेको यो बेलायती विवाह, ‘सपनाको विवाह’को अर्थलाई यसले पुनः परिभाषित गरिदिएको छ।
यी विलासी र भव्य विवाहले केवल दुई आत्माको सम्मिलनलाई मात्रै दर्शाउँदैन, धनदौलत, वर्ग र विख्याति प्रदर्शनलाई पनि देखाउँछ।
संसारमा केही यस्ता विवाहहरु भएका छन् जहाँ पैसाको खोलो बगाइएको छ। तिनैमध्ये केही विवाहहरु यहाँ प्रस्तुत गरिएको छ–

साढे ४ करोड डलर खर्च भएको मेगन मर्कल र राजकुमार ह्यारीको बिहे (२०१८)
बेलायती राजकुमार ह्यारीको अमेरिकी अभिनेत्री मेगन मर्कलसँग सन् २०१८ मा विवाह भयो। जुन विवाहलाई संसारभर १.९ अर्ब मानिसले हेरेका थिए।
यो इतिहासमै धेरै हेरिएको विवाहमध्ये पर्छ। मर्केलले विवाहमा पहिरिएको गाउनको मूल्य नै २ लाख ६५ हजार अमेरिकी डलर रहेको मिडिया रिपोर्टहरुले उल्लेख गरेका छन्।
उनीहरुको विवाहमा जर्ज क्लोनी, सेरिना विलियम्स र ओप्रा विन्फ्रेजस्ता सेलेब्रिटी अतिथिहरु सहभागी भएका थिए। एल्टन जोनले रिसेप्सनमा विशेष सांगीतिक प्रस्तुति पस्किएका थिए। यो विवाहमा सुरक्षा बजेट नै ४ करोड डलर रहेको थियो भने विवाहका लागि बनाइएको विशेष केक ५०० अण्डा, ४४ पाउन्ड मखन, पिठो र चिनीबाट बनाइएको थियो। यो विवाहमा साढे ४ करोड अमेरिकी डलर खर्च भएको थियो।

साढे ५ करोड डलरसम्म खर्चिएको लाउरेन सान्चेज र जेफ बेजसको विवाह (२०२५)
अमेजनका मालिक जेफ बेजसले एक हप्ताअघि मात्रै पत्रकार लाउरेन सान्चेजसँग इटलीमा विवाह गरे। इटालियन टापुसान जियोर्जियो म्यागिओरमा सम्पन्न यो विवाहमा प्रविधि हस्तीदेखि हलिउडका चर्चितसम्म सहभागी भए।
ओप्रा विन्फ्रे, टम ब्रेडी, लियोनार्डो डिकाप्रियो र किम कार्दाशियनजस्ता कलाकारहरु यो विवाहमा पुगेका थिए। ऐतिहासिक भेनिटियन आर्सनालेमा भव्य रिसेप्सन दिइएको विवाहमा साढे ४ करोडदेखि साढे ५ करोड डलरसम्म खर्च भएको मिडिया रिपोर्टहरु आएका छन्।
इटलीको हिस्टरिक भेनिसमा यो विवाह सम्पन्न भएको थियो।

वानिशा मित्तल र अमित भाटिया : जसले विवाहमा खर्चिए ६ करोड डलर (२००४)
स्टिल व्यवसायी लक्ष्मी मित्तलले आफ्नो छोरी वानिशाको पेरिसमा भएको विवाहमा खर्चमा कुनै कमी गरेनन्। यो विवाहमा फ्रान्सेली विलासिताको उच्चतम उपयोग गरिएको थियो।
एक हजार अतिथि डाकिएको विवाहमा आउने सबैलाई विलासी होटलहरुमा राखिएको थियो। सो समारोहमा कायली मिनजको मनोरञ्जन प्रस्तुतिका साथै आइफल टावरमाथि आकर्षक आतिशबाजी देखाइएको थियो।
यो विवाह एक हप्ता लामो समयसम्म पेरिसका विविध स्थानमा सम्पन्न भएको थियो। यो समारोहमा अतिथिका लागि वाइन मात्रै १५ लाख डलरको राखिएको थियो। यो विवाहमा कुल ६ करोड डलर खर्च भएको अनुमान छ।

झण्डै अर्ब डलरको राधिका मर्चेन्ट र अनन्त अम्बानीको बिहे (२०२४)
गत वर्षमात्रै यो जोडीले विवाह गरेका हुन्। भारतका दुई धनाढ्य परिवारमाझ यो विवाह भएको थियो।
भारतीय अर्बपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टबीचको यो विवाहमा पनि संसारका चर्चित गायक, कलाकारले प्रस्तुति दिएका थिए।
विवाहपूर्व नै सन् २०२४ मार्चमा अम्बानी परिवारले ‘प्रि–वेडिङ सेरेमनी’ गरेको थियो। जसमा चर्चित गायिका रिहान्ना र ५५ सय ड्रोनहरुको ‘लाइट शो’ समावेश थियो। यो उत्सवमा जस्टिन बिबर, केटी पेरी र आन्द्रिया बसेलीले कन्सर्ट दिएका थिए।
यो विवाहका चर्चित अतिथिहरुमा किम कार्दाशियन, जन सिना र बेलायतका पूर्वप्रधानमन्त्री टनी ब्लेयर सहभागी थिए। मुम्बईस्थित एक अर्ब डलरको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा यो उत्सव सम्पन्न भएको थियो। यो विवाहमा ६० करोडदेखि १ अर्ब डलरसम्म खर्च भएको अनुमान छ।

अर्ब डलर खर्च भएको खादिजा उझाकोभा र सइद गुत्सरिभको विवाह (२०१६)
खादिजा उझाकोभा र सइद गुत्सरिभले सन् २०१६ मार्च २६ मा विवाह गरे। जुन विवाहलाई अत्यधिक महंगो मानिन्छ।
तेल र मिडिया व्यवसायी मिखाइल गुत्सरिभका छोरा सइद र २० वर्षकी खादिजाबीच रुसी राजधानी मस्कोमा विवाह उत्सव मनाइएको थियो। जहाँ १ अर्ब डलर खर्च भएको थियो।
दुलही खादिजाले एली साबले डिजाइन गरेको गाउन पहिरिएकी थिइन्। जसको मूल्य १० लाख डलर रहेको बताइन्छ। यो विवाहका लागि मस्कोको द साफिसा ब्यान्क्वेटलाई भुइँदेखि सिलिङसम्मै व्यापक सजाइएको थियो। जेनिफर लोपेज, स्टिङ र एनरिक इग्लिसियासलगायतले मनोरञ्जन दिएको विवाह समारोहमा अतिथिहरुले मानिसजत्रै अग्लो केकको स्वाद चाखेका थिए।
उनीहरुलाई गरगहनासहित विदाइ गरिएको थियो। यो समारोहमा लोपेजले प्रस्तुतिका लागि प्रतिघण्टा १० लाख अमेरिकी डलर लिएकी थिइन्।
यीबाहेक विभिन्न समयमा भएका विवाहमा पनि खुलेर खर्च गरिएका प्रशस्त उदाहरण छन्।
सन् १९८१ मा डायना स्पेन्सर र राजकुमार चार्ल्सको विवाहमा ४ करोड ८० लाख अमेरिकी डलर खर्च भएको थियो। यो विवाहलाई ७५ करोड मानिसले टिभीबाट हेरेका थिए। त्यस्तै सन् २०१८ मा अम्बानी परिवारले छोरी ईशा अम्बानीको विवाह लगानीकर्ता आनन्द पिरामलसँग गरेको थियो। त्यसमा १० करोड डलर खर्च गरिएको थियो। ईशा मुकेश अम्बानीकी छोरी हुन्।
सन् २००४ मा स्पेनका राजकुमार फिलिपले पत्रकार लेटजिया अर्टिजसँग विवाह गरेका थिए। जतिखेर साढे ३ करोड डलरसम्म खर्च भएको बताइन्छ। त्यसैगरी बेलायती राजकुमार विलियम र केट मिडल्टनबीच सन् २०११ मा भएको विवाहमा पनि ३ करोड ३० लाख डलर खर्च भएको थियो।
त्यसैगरी सन् २०१५ मा एन्जेलाबेबी र हुआङ साओमिङबीचको विवाहमा ३ करोड १० लाख डलर खर्च भएको बताइन्छ। सन् २००६ मा मोडल तथा अभिनेत्री प्रिया सचदेव र अभिनेता विक्रम चटवालको १० दिने विवाह तीनवटा सहरमा गरिएको थियो। सो विवाहमा २ करोड डलर खर्च भएको थियो। गल्फन्युजबाट भावानुदित
Shares

प्रतिक्रिया