कारोबार


प्रदेशस्तरमा ट्विनेटर विमान सञ्चालनको तयारी

‘पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ’
प्रदेशस्तरमा ट्विनेटर विमान सञ्चालनको तयारी

रासस
असार १८, २०८२ बुधबार १६:४९, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिले मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले मन्त्रालयले नीतिगत सुधार गरी संरचनागत सुधार गर्दै जानेगरी कार्ययोजना बनाइरहेको बताए।

उनले भने, “हाल हामी नीतिगत र कानुनी सुधारका पक्षमा काम गरिरहेका छौँ । नागरिक उड्डयन, संस्कृति, पर्यटनलगायत क्षेत्रका कानुनी सुधार गर्ने पक्षमा केन्द्रित छौँ । अहिले नौ वटा आवश्यक ऐनहरू अघि बढाइरहेका छौँ । संरचनामा काम गर्ने गरी योजनाबद्ध रूपमा लागिरहेका छौँ ।”

नेपालको पर्यटनमा लगानी बढाउनका लागि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले भने, “पर्यटन बोर्डका माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने काममा लागिरहेका छौँ। उनीहरू पनि बोर्डको सहजीकरणबाट विश्वस्त र उत्साहित हुनुहुन्छ ।”

मन्त्री पाण्डेले पर्यटन बोर्डसँगको समन्वयमा पर्यटन प्रवर्द्धनको खाका र कार्ययोजना बनाउने अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । यसअघि पर्यटन दशक घोषणा भइसकेको उल्लेख गर्दै उनले भने, “हामी कार्ययोजना बनाउने काममा लागिरहेका छौँ । भ्रमण दशकको कार्ययोजना निर्माणको अन्तिम चरणमा छौँ । यो कार्यान्वयनमा आएसँगै पर्यटन क्षेत्रले फड्को मार्ने विश्वास लिएका छौँ ।”

मन्त्री पाण्डेले हवाई सेवालाई सुरक्षित, सुलभ र भरपर्दो बनाउन मन्त्रालयले निरन्तर पहल गरिरहेको बताए।

उनले भने, “हवाई टिकट महँगो भयो भन्ने गुनासो आइरहेको छ । यसको सम्बोधनका लागि हामीले निरन्तर पहल गरिरहेका छौँ । नेपाल एयरलाइन्सको क्षमता वृद्धि गर्ने र विदेशी एयरलाइन्सको प्रभाव कम गर्न सकिएको खण्डमा हवाई भाडा समायोजन हुनसक्ने सम्भावना उच्च छ ।”

मन्त्री पाण्डेले मुलुकको आन्तरिक उडानलाई प्रभावकारी बनाउन प्रदेशस्तरमा ट्विनेटर विमान सञ्चालनका लागि पनि प्रदेशसँग समन्वय भइरहेको जानकारी गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad