कारोबार


वर्षा नहुँदा सिराहामा हुन सकेन पर्याप्त रोपाइँ

वर्षा नहुँदा सिराहामा हुन सकेन पर्याप्त रोपाइँ

नेपालखबर
असार १८, २०८२ बुधबार ६:८, सिराहा

असारको मध्यसम्म पनि सिरहाका धेरै खेत सुक्खै छन्। खेत जोतिएको छ, बीउ पनि तयार छ, तर वर्षा नहुँदा रोपाइँ थाल्न नसकेका किसान आकाशतिर हेर्दै पानीको पर्खाइमा छन्। सिँचाइको भरपर्दो व्यवस्था नहुँदा सिरहाका किसान आज पनि आकासे पानीको भरमा खेती गर्न विवश छन्। 

रोपाइँ सकेर हरियाली भइसक्नुपर्ने खेत अझै सुनसान छन् । कहिले वर्षा होला र धान रोपाइँ सुरु गर्न पाइएला भनेर किसानको अनुहारमा चिन्ता झल्किन थालेको छ । वर्षा लागिसकेको भए पनि पर्याप्त पानी नपर्दा उनीहरूको पर्खाइ लम्बिँदै गएको छ।

“समयमा वर्षा नहुँदा रोपाइँ गर्न पाइएन । पानी परेपछि मात्र काम अघि बढ्छ” लहान नगरपालिका–२३ का रामकुमार यादवले भने, “हामी त हरेक बिहान आकाश हेर्छौँ । कहिले बादल लाग्छ, कहिले घाम आउँछ । तर, पानी पर्दैन।” 

उनले रोपाइँका लागि झण्डै दुई बिघा खेत जोतिसकेका छन्, बीउ पनि तयार छ, तर वर्षा नहुँदा हात बाँधेर बस्न बाध्य हुनुपरेको छ । वर्षा नहुँदा रोपाइँको याम नै खेर जाने चिन्ता बढेको उनले बताए। 

सिरहालगायत तराईका अन्य जिल्लामा अझैपनि अधिकांश किसान आकाशे पानीमै भर पर्ने गर्दछन्। सिँचाइको सुविधा नहुँदा वर्षाको भरमा खेती गर्ने किसानलाई प्रत्येक वर्ष असार महिनामा आकाशले साथ दिनेरनदिने कुराले ठूलो प्रभाव पार्छ।

कृषि ज्ञान केन्द्र सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार जिल्लामा कुल ५४ हजार हेक्टर धान खेतीयोग्य जमिन छ । तर हालसम्म जम्मा १८ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ। उनले भने, “अहिलेसम्म भएको रोपाइँ पनि किसानले बोरिङ्गको सहायताले गरेका हुन्।”

कृषि ज्ञान केन्द्रको आकलनअनुसार केही दिनभित्र पर्याप्त वर्षा नभए बाँकी खेतीयोग्य जमिनमा रोपाइँ गर्ने समय ढिला हुँदै जान्छ। यसको प्रत्यक्ष असर धान उत्पादनमा पर्नेछ। सिँचाइ सुविधा विस्तार, जल सञ्चयन प्रणालीको विकास, र मौसमी पूर्वानुमानमा आधारित कृषि तालिकाको आवश्यकता किसानले बारम्बार उठाउँदै आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad