कारोबार


भारत र चीनका समकक्षीसँग गभर्नर पौडेलको भेट, भुक्तानी सहजीकरणबारे छलफल

भारत र चीनका समकक्षीसँग गभर्नर पौडेलको भेट, भुक्तानी सहजीकरणबारे छलफल

नेपालखबर
असार १६, २०८२ सोमबार १५:३६, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले बैंक फर इन्टरनेशनल सेटलमेन्ट (बीआईएस)कार्यक्रममा दुई छिमेकी मुलुकका गभर्नरसँग भेट गरेका छन्। 

स्विजरल्याण्डको बासेलमा सञ्चालित बीआईएसको९५ औँ बार्षिक बैठकमा गभर्नर पौडेलले चीन र भारतका गभर्नरलाई भेटेर अन्तरदेशीय भुक्तानी सहजीकरणबारे छलफल गरेका हुन्। छिमेकका दुई गभर्नरसँग पौडेलले छुट्टछुट्टै भेट गरेका थिए।  

भारतीय रिजर्व बैंकका गभर्नर संजय मल्होत्रा र गर्भनर पौडेलबीच दुई केन्द्रीय बैंकको आपसी सम्बन्ध विस्तार गर्ने र आगामी दिनमा समेत दुई केन्द्रीय बैंकबीच द्विपक्षीय सहकार्य अभिवृद्धि गर्ने, भुक्तानी प्रणालीलाई सहज बनाउने र जनशक्तिको क्षमता विकास गर्नेलगायतका पक्षहरूमा निरन्तर समन्वय रहने विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ। 

त्यस्तै पौडेल र चाइनाका पिपुल्स बैंक अफ चाइनाका गभर्नर पाङ गोङसेङसँगको भेटमा भने दुई केन्द्रीय बैंकबीच द्विपक्षीय सहयोग, बैंकिङ कारोबार एवम् भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउनका लागि निरन्तर सहकार्य गर्ने विषयमा छलफल गरेका थिए।

कार्यक्रममा अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रीय बैंकको उपलब्धी,चुनौति र एआइको प्रयोगको बारेमा छलफल भएको थियो। 

साथै, गभर्नर पौडेलले कार्यक्रमकै बीच बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्ससँग पनि भेट गरेका थिए भने बैंकिङ विभागका प्रमुख लुइस गोचाको नेतृत्वमा उक्त विभागका उच्च अधिकारीहरू लगायतका प्रतिनिधिहरूसँग समेत बैठक गरेका थिए।

सो बैठकमा विदेशी विनिमय सञ्चिति लगानी विविधीकरणका लागि सुन खरिद तथा विश्वबजारमा उपलब्ध नयाँ नयाँ उपकरणहरूमा लगानी गरी विदेशी विनिमय सञ्चिति व्यवस्थापनबाट प्राप्त हुने प्रतिफल बढाउन नेपाल राष्ट्र बैंकसँग हुन सक्ने सहकार्य लगायतका विषयहरूमा छलफल भएको थियो। 

साथै, विदेशी विनिमय सञ्चितिलाई सुरक्षित लाभदायक र प्रभावकारी व्यवस्थापन गर्न थप लगानीको अवसरका लागि आवश्यक सहकार्य गर्ने विषयमा समेत छलफल गरेका थिए।

सन् १९३० मा स्थापित बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसमा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य रहेका छन्। विश्वभर मौद्रिक र वित्तीय स्थायित्व रा उद्देश्यले स्थापित उक्त संस्थाले केन्द्रीय बैंकहरुबीचको सहकार्य र वित्तीय प्रणालीको विकास एवम् वित्तीय स्थायित्व कायम राख्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। 

यो संस्थाले जुन २७ देखी जुन २९ गतेसम्म ९५ औँ वार्षिक बैठक सञ्चालन गरेको थियो। उक्त बैठकमा सहभागिता जनाउन गर्भनर पौडेलसहित बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नरको कार्यालयका निर्देशक एवम् सचानक समितिका सचिव शरण कुमार अधिकारी बासेल गएका थिए।

यस्तै कार्यक्रममा जीआईएस सदस्य राष्ट्र एवं विश्वका विभिन्न देशका केन्द्रीय बैंकका गभर्न एवम् उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad