निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भारतको कोलकातामा उडान गर्ने भएको छ।
बुद्ध एयरले आगामी सेप्टेम्बरदेखि भारतीय सहर कोलकातामा उडान गर्ने कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले नेपालखबरलाई जानकारी दिए।
बुद्ध एयर दोस्रोपटक कोलकाता उडानमा फर्किनलागेको हो। यसअघि कोभिड महामारी सुरु हुनुअघि पनि कम्पनीले उडान थालेकोमा पछि सम्भव नभएर रद्द गरिएको थियो।
‘हामीले सन् २०१९ मे २७ मा कोलकाता उडान सुरु गरेका थियौँ’, प्रवक्ता कर्णले भने, ‘५ महिना चलाएर सम्भव नभएपछि बन्द गरेका थियौँ।’
त्यसो त नेपालबाट कोलकातामा अहिले कुनै पनि कम्पनीले उडान गरेका छैनन्। अहिले धेरै उडान अनुरोध आएपछि सेप्टेम्बर १ देखि उड्नलागेको उनले जानकारी दिए।
कर्णका अनुसार बुद्ध एयरले एटीआर ७२ जहाजबाटै काठमाडौं–कोलकाता–काठमाडौं सिधा उडान गर्ने तयारी गरेको छ।
हाल बुद्ध एयरले भारतकै वाराणसीमा समेत उडान गर्दै आएको छ।
कोलकाताको भाडाबारे भने अहिले कम्पनीले केही खुलाएको छैन।
Shares

प्रतिक्रिया