कारोबार


सुनमा लगाइएको विलासिता कर खारेजको माग गर्दै शिल्प व्यवसायी संघद्वारा चरणवद्ध आन्दोलनको घोषणा

सुनमा लगाइएको विलासिता कर खारेजको माग गर्दै शिल्प व्यवसायी संघद्वारा चरणवद्ध आन्दोलनको घोषणा

नेपालखबर
असार १५, २०८२ आइतबार १९:४०, काठमाडौँ

नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको १३  प्रतिशत मूल्य अभिवृद्धि करविरुण चरणवद्ध आन्दोलनको घोषणा गरेको छ।

संघले आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष केशवबहादुर सुनारले सरकारले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै चरणवद्ध आन्दोलनमा जानुपरेको बताए।

उनले अगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गरगहनामा लगाइएको विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज नगर्नेसम्म आन्दोलन नछोड्ने चेतावनी दिए।

उनले सुनचाँदीका गरगहनामा अनावश्यक कर लगाउँदा साना व्यवसायी तथा उपभोक्ता मारमा पर्नेतार्फ सरकारको ध्यानाकर्षण गराए। उनले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने तथा सुनचाँदीको कारोबारको लागि प्रष्ट नियमावली बनाउन समेत माग गरे।

उनले भने, ‘भोलिदेखि हामी चरणवद्ध आन्दोलनमा जान्छौं। ललितपुर संघ, भक्तपुर संघ, त्यसपछि हस्तकला संघ, शिल्प व्यवसायी संघ  र कला व्यवसायी संघले समेत आन्दोलन गर्छ। हाम्रो माग पुरा नभएसम्म हामी सरकारलाई पूर्ण रुपमा दबाब दिइरहन्छौँ। हामी यसरी नै चुप लागेर बस्यौँ भनेर सरकारले पनि हेर्न छोड्छ भनेर हामी चरणवद्ध आन्दोलनमा थियौँ। तर पनि सरकारले सुनेन। सुनचाँदीमा उच्च मूल्यवृद्धिका कारण गरगहनाको व्यापारमा समेत गिरावट आउने र साना व्यवसायीहरु ठूला व्यवसायीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने परिस्थिति सिर्जना भएको छ।’

सरकारले अन्तर्राष्ट्रिय प्रवृत्तिअनुसार विलासिता वस्तुमा कर लगाउने नीति लिएको भए पनि व्यवसायीहरू त्यसलाई अव्यवहारिक भन्दै हटाउन माग गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad