सरकारले व्यावसायिक रुपमा सञ्चालनमा नरहेका ४ उद्योगको सम्पत्ति मूल्यांकन गरी निजी क्षेत्रलाई दिने भएको छ।
जनकपुर चुरोट कारखाना, बुटवल धागो उद्योग, ओरियन्ड म्याग्नेसाइड र नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकन गर्न लागेको हो।
वैशाख १५ गते मन्त्रिपरिषद्ले ७ वटा उद्योग निजीकरण गर्ने गरी निर्णय गरेको थियो। तर मन्त्रिपरिषद्ले निर्णय गरेका गोरखकाली रबर उद्योग, उदायपुर सिमेन्ट उद्योग र हेटौंडा सिमेन्ट उद्योगबाहेकको सम्पत्ति मूल्यांकन गर्न परामर्शदाता नियुक्त गर्ने सूचना जारी गरेको छ।
अर्थ मन्त्रालयका अनुसार जनकपुर चुरोट कारखानाको असार २२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ। त्यस्तै ३ वटा कम्पनीको भ्यालुएसनको लागि असार २७ गतेसम्म आवेदन दिन सकिनेछ।
अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक प्रतिवदेनअनुसार ४ कम्पनीको ९ अर्ब २२ करोड रुपैयाँ छ। तर अर्थ मन्त्रालयले अनुमानित तथ्यांक राखेको भन्दै स्वतन्त्र विज्ञहरुबाट सम्पत्तिको मूल्यांकन गर्न खोजिएको अर्थ मन्त्रालयले जनाएको छ।
‘मन्त्रिपरिषद्ले ७ वटा उद्योगलाई लगानी व्यवस्थापन गर्न स्वीकृति दिएको छ। त्यसमा ४ वटाको परामर्श नियुक्त गर्न सूचना जारी भएको छ’, अर्थ मन्त्रालयका सहप्रवक्ता अम्बिका प्रसाद खनालले भने, ‘पहेँलो किताबमा खुद सम्पत्ति भए पनि मेसिनरी, भवन संरचना लगायतको पूर्ण सम्पत्ति मूल्यांकन गर्न खोजिएको हो।’
सरकारले उद्योगहरुको सम्पत्ति मूल्यांकनपछि निजी क्षेत्रलाई सञ्चालन गर्न दिने तयारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रुग्ण उद्योग प्रक्रिया पु¥याएर निजी क्षेत्रलाई सञ्चालन गर्न दिने बताएका छन्।
‘रुग्ण उद्योगको सञ्चालन निजी क्षेत्रले नै गर्ने हो। हामीले विभिन्न उद्योगको अध्ययन गरेर अन्तिम तयारी गरिरहेका छौँ’, बुधबार एक सार्वजनिक कार्यक्रममा मन्त्री भण्डारीले भने, ‘दिन तोकेर भन्दैन केही समय लाग्ला निजी क्षेत्रलाई सञ्चालन गर्न दिन्छौँ।’
जनकपुर चुरोटको उद्योग बन्द तर २२ लाख आम्दानी
सरकारले जनकपुर चुरोट कारखाना लिमिटेडको जग्गा भ्यालुएसन गर्न परामर्शदातालाई आह्वान गरेको छ।
कम्पनी ऐनअनुसार २०२१ पुस २९ गते स्थापना भएको थियो। राष्ट्रिय अर्थ व्यवस्थामा उद्योगको योगदान बढाउने आवश्यकतालाई ध्यानमा राखी कारखाना स्थापना गरिएको छ।
पुँजी संरचना ८ करोड अधिकृत र चुक्ता पुँजी ४.०८ करोड छ।
आर्थिक वर्ष २०८०/०८१ मा २२ लाख रुपैयाँ आम्दानी गरेको छ। खुद सम्पत्ति २ अर्ब ८१ करोड रुपैयाँ छ। नेपाल सरकारलाई बुझाउनुपर्ने ऋणको सावाँ २ अर्ब ९४ करोड ६२ लाख रुपैयाँ छ।
नेपाल सरकारलाई तिर्न बाँकी लाभांश ५५ लाख रुपैयाँ छ। जनकपुर चुरोट कारखानामा ७ जना अस्थायी र १ जना करारको कर्मचारी राखिएको छ। अन्तिम लेखापरीक्षण २०७८/०७९ मा भएको थियो।
आर्थिक वर्ष २०८०/०८१ मा १ करोड रुपैयाँ अनुदान दिएको थियो।
ओरियन्ड म्याग्नेसाइट
नेपाल ओरियन्ड म्याग्नेसाइट प्राइभेट लिमिटेड २०३५ चैत २५ गते स्थापना भएको थियो। म्याग्नेसाइट उत्पादन गरी बिक्रीवितरण गर्ने उद्देश्य छ। अधिकृत पुँजी ५० करोड र चुक्ता पुँजी ४५ करोड रुपैयाँ छ।
आर्थिक वर्ष २०८०/०८१ मा ५१ करोड ७९ रुपैयाँ नाफा तथा नोक्सानी भएको छ। १८ जना करारमा कर्मचारी छन्। खुद सम्पत्ति ४ अर्ब ७१ करोड रुपैयाँ छ। नेपाल सरकारलाई तिर्नुपर्ने सावाँ रकम ८१ करोड ९५ लाख रुपैयाँ र ब्याज १ अर्ब ६८ करोड ३५ लाख रुपैयाँ रहेको छ। अन्तिम लेखा परीक्षण २०६४/०६५ मा भएको थियो।
बुटवल धागो कारखाना
बुटवलमा रहेको धागो कारखाना २०३९ असार १२ गते स्थापना भएको छ। अधिकृत पुँजी ६० करोड र चुक्ता पुँजी ३७.३१ करोड छ।
आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ३९ रुपैयाँ नोक्सानी भएको छ। उद्योगको खुद सम्पत्ति १ अर्ब ६६ करोड रुपैयाँ छ। उद्योगले नेपाल सरकारलाई तिर्नुपर्ने रकम १ अर्ब रुपैयाँ छ। ३ जना कर्मचारी छन्।
२०६६ असोज १ बाट सम्पूर्ण कामदार तथा कर्मचारीहरुलाई अनिवार्य अवकाश गरेपछि व्यावसायिक गतिविधि नभएको र पुनः सञ्चालनका लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएकोमा थप प्रक्रिया निर्णय हुन नसकेको अवस्था छ।
नेपाल मेटल कम्पनी
२०३३ असार ५ गते स्थापना भएको मेटल उद्योग रुग्ण अवस्थामा छ। यसको अधिकृत पुँजी ३३ करोड र चुक्ता पुँजी १७.८३ करोड रुपैयाँ छ।
२०८०/०८१ मा ६१ लाख रुपैयाँ नोक्सानी भएको कम्पनीको खुद सम्पत्ति ४ करोड ४९ लाख रुपैयाँ छ। ७ जना कर्मचारी भएको कम्पनीको लेखा परीक्षण २०८०/०८१ मा भएको थियो।
Shares

प्रतिक्रिया