उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा राजस्व वृद्धिको लक्ष्य पूरा हुने आत्मविश्वास रहेको बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले राजस्वको अनुमान गर्दा चालु आर्थिक वर्षको तुलनामा ४१ प्रतिशतसम्म राजस्व वृद्धि हुन्छ भन्ने अनुमान गरेर बजेट निर्माण गरेको विगतको अनुभव रहेको स्मरण गरे।
‘राजस्वको अनुमान गर्दा चालु आर्थिक वर्षको तुलनामा ४१ प्रतिशतसम्म राजस्व वृद्धि हुन्छ भन्ने अनुमान गरेर बजेट निर्माण गरेको विगतको अनुभव छ,’ अर्थमन्त्री पौडेलले भने, ‘चालु आर्थिक वर्षको कुरा गर्दा हामीले ३१ प्रतिशतको वृद्धि हुन्छ भनेर बजेट प्रस्तुत गर्यौँ। यस पृष्ठभूमिमा मैले बजेटमा राजश्वको सम्बन्धमा प्रस्ताव गर्दा चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा १७ प्रतिशत मात्रै राजस्व वृद्धिको लक्ष्य राखेको छु। १७ प्रतिशतको राजस्व वृद्धिको लक्ष्य पूरा हुन्छ, पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वासको साथमा मैले प्रस्ताव गरेको छु।’
उनले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेटमा स्रोतको प्रस्ताव यथार्थपरक र कार्यान्वयन हुने प्रकृतिको हुनुपर्छ भन्नेमा आफू होसियार भएको बताए।
‘आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेटमा अर्थमन्त्री सबैभन्दा बढी के कुरामा होशियार भएको हो भने, यो प्रस्तावित विनियोजन मात्रै होइन, स्रोतको प्रस्ताव पनि यथार्थपरक हुनुपर्छ, कार्यान्वयन हुनुपर्ने प्रकृतिको हुनुपर्छ,’ मन्त्री पौडेलले भने, ‘किनभने, लामो समयदेखि बजेट यथार्थपरक नरहेको, कार्यान्वयन हुन नसकेको र बजेटप्रतिको विश्वसनीयता कमजोर भएको भन्ने प्रकृतिको आलोचनाहरू सुन्दै आएका छौँ।’
उनले विगतमा राजस्व लक्ष्य पूरा भएर राजस्व संवद्ध कर्मचारीहरूलाई अर्थ मन्त्रालयमा बोलाएर गरेर चकलेट बाँडेको अनुभव रहेको समेत सुनाए।
Shares

प्रतिक्रिया