कारोबार


आजदेखि ५ महिनासम्म जानेछ दैनिक ४० मेगावाट बिजुली बंगलादेश

आजदेखि ५ महिनासम्म जानेछ दैनिक ४० मेगावाट बिजुली बंगलादेश

नेपालखबर
असार १, २०८२ आइतबार ८:४२, काठमाडौँ

सरकारले आजदेखि व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ। गएको वर्ष कात्तिक ३० गते एकदिन मात्र परीक्षणको रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरिएको थियो। 

नेपाल विद्युत् प्राधिकरणले गएराति १२ बजेदेखि पाँच महिनाका लागि व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको हो। 

आजदेखि आगामी कात्तिक २९ गते (१५ नोभेम्बर) सम्म अब हरेक दिन ४० मेगावाटका दरले बंगलादेशमा विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

गत कात्तिक ३० गते नेपाल, भारत र बंगलादेश गरी तीनै देशका ऊर्जामन्त्रीले संयुक्तरूपमा विद्युत् निर्यातको भर्चुअल उद्घाटन गरेका थिए।

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले बंगलादेश विद्युत् निर्यातको पहल अघि बढाएका थिए। 

नेपालबाट निर्यात गरिएको बिजुली मुजफ्फरपुरदेखि भारतको प्रसारणलाइनमार्फत बेहरामपुर–भेडामारा ४०० केभी प्रसारणलाइनबाट बंगलादेश पुग्नेछ। 

नेपालबाट दैनिक ४० मेगावाट विद्युत् भारतीय प्रसारणलाइन हुँदै बंगलादेश निर्यात गर्ने गरी १७ असोज ०८१ मा त्रिपक्षीय सम्झौता भएको थियो । त्यसपछि सबै प्रक्रिया पूरा गरी ३० कात्तिकमा एकदिन मात्रै विद्युत् निर्यात गरिएको थियो। सम्झौताअनुसार यस वर्षको विद्युत् व्यावसायिक रूपमा आजदेखि पठाउन सुरु गरिएको हो।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुशीको खबर भएको बताए। ‘बंलादेशमा विद्युत निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुशीको कुरा हो,’ उनले भने। 

शनिबार राति १२ बजेदेखि भारतीय प्रसारणलाइन हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात सुरु भएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए।  भारततर्फ भने केही वर्षअघि देखि नै विद्युत् निर्यात् हुँदै आएको छ। 

१५ नोभेम्बरपछि फेरि सात महिना बंगलादेश विद्युत् निर्यात बन्द हुनेछ। अर्को वर्षको १५ जुनबाट पुनः बंगलादेश विद्युत् निर्यात सुरु हुनेछ।

हिउँदका महिनामा नेपालमा विद्युत् कम उत्पादन हुने भएपछि बर्खामा मात्रै निर्यात गर्ने गरि बंगलादेशसँग विद्युत् निर्यात सम्झौता भएको छ भारतीय प्रसारणलाइन हुँदै बंगलादेशमा नेपालले विद्युत् निर्यात गर्ने सम्झौतापत्रको अवधि पाँच वर्षको छ। 

नेपालको विद्युत् खरिद गरेबापत बंगलादेशले नेपाललाई प्रतियुनिट ६.४० सेन्टका दरले शुल्क तिर्ने सम्झौता छ। भारतले पनि प्रसारणलाइन प्रयोग गर्न दिएबापत बंगलादेशबाट तोकिएको शुल्क पाउने सम्झौता छ। 

सरकारले सन् २०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गरेर १५ हजार मेगावाट विद्युत् विदेश निर्यात गर्ने लक्ष्य लिएको छ। जसमा पाँच हजार मेगावाट बंगलादेशलाई बेच्ने लक्ष्य छ। बाँकी १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad