कारोबार


बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित हुन्छ : अध्यक्ष ढकाल

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित हुन्छ : अध्यक्ष ढकाल

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १४:३५, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताएका छन्।

काठमाडौंमा आयोजित तेस्रो संस्करणको नेशनल बैंकिङ्ग डिस्कोर्स, २०२५ को उद्घाटन सत्रमा बोल्दै ढकालले संसद्‍मा विचाराधीन ऐनको संशोधन जस्ताको त्यस्तै पारित भएमा आर्थिक गतिविधि नै प्रभावित बन्ने धारणा राखेका हुन्। 

बाफियासँग सम्बन्धित ऐन संशोधन गर्न संसद्मा प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्ताव गरिएको अवस्थामा यो विषयलाई गम्भीर रुपमा लिनुपर्ने उनको तर्क छ। 

“व्यवसायी र बैंकर छुट्याउने भन्ने जुन विषय छ। यसले अर्थतन्त्रमा समस्या पार्न सक्छ। एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत सेयर संस्थापकलाई दिने भनिएको छ। यसबाहेक, सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको छ। यो व्यवस्थाअनुसार १ प्रतिशतभन्दा बढी सेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबैजसो उद्योगधन्दा व्यवसाय बन्द हुने जोखिम छ”, ढकालले भने।

उनले बजेट कार्यान्वयन गर्न सके नेपालले लिएको आर्थिक विकासको लक्ष्य पूरा गर्न सकिने समेत बताए।

यस्तै अध्यक्ष ढकालले वातावरणलाई असर नपर्ने गरी  खनिजजन्य पदार्थको आन्तरिक प्रयोग र निर्यात गर्न सकिने बजेटको व्यवस्था सकारात्मक भएको बताए।

अध्यक्ष ढकालले भने, “यदि मध्यपूर्वका देशहरुलाई आफूसँग भएको पेट्रोलियम पदार्थको निर्यात नगरेको भए वा निर्यात गर्न नदिइएको भए मध्यपूर्वका देशहरु आजको अवस्थामा रहने थिएनन्। तसर्थ हामीले पनि वातावरणमा नकारात्मक असर नपर्ने गरी नेपालमा भएको प्राकृतिक स्रोतको प्रयोग र निर्यातलाई सहजीकरण गर्नुपर्छ”, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad