काठमाडौं महानगरपालिकाले कालीमाटी तरकारी बजारमा देखिएको भिडलाई व्यवस्थापन गर्नका लागि उत्यकाका ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालन गर्ने भएको छ।
महानगरले कलंकी चोक, बाफल चोक, स्वयम्भू चोक, बनस्थली चोक, गोंगबु चोक, बसुन्धरा चोक, गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचोर र रत्नपार्कमा अस्थायी बजार सञ्चालन गर्न लागेको हो।
‘कालीमाटी र बल्खुमा तरकारी किन्नेहरुको निकै भीड भयो। त्यसलाई विकेन्द्रिकरण गर्न खोजेका हौं’ महानगरपालिकाका कृषी विभागका प्रमुख हरी भण्डारीले नेपालखबरसँग भने, ‘आज निर्णय भयो, भोली (मंगलबार) व्यवस्थापनको सबै काम हुन्छ र पर्सी (बुधबार)बाट अस्थायी तरकारी बजारमा सञ्चालन आउँछ।’
भण्डारीले तरकारी बिक्री गर्ने स्थान र सुरक्षा महानगरपालिकाले उपलब्ध गराउने बताए।
‘कालीमाटी र बल्खुको व्यापारीहरुले नै त्यस स्थानमा तरकारी सप्लाई व्यवस्थापन गर्ने छन्’ भण्डारीले भने, ‘बिहान २ बजेदेखि ८ बजेसम्म लकडाउन अवधीभर अस्थायी बजार सञ्चालन हुनेछ।’
सरकारले लकडाउनको दोस्रो पटक समयावधी थप्दै वैशाख ३ गतेसम्म बढाउने निर्णय गरेको छ।
Shares

प्रतिक्रिया