अर्थ मन्त्रालयले आर्थिक गतिविधि बढ्ने भएकाले आगामी वर्ष राजस्वको लक्ष्य पूरा गर्ने दाबी गरेको छ।
७०० बढी शीर्षकको करबाट १३ खर्ब १५ अर्बको संघीय राजस्व लक्ष्य पूरा हुने अर्थले दाबी गरेको हो।
सरकारले चालू आर्थिक वर्षभन्दा पनि ठूलो लक्ष्य राख्दै पूरा हुने दाबी गरेको छ। चालू आवको बजेटमा संशोधित अनुमानबाट आफैँ लक्ष्य घटाएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको लक्ष्यचाहिँ यथार्थपरक रहेको दाबी गरेका छन्।
सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा जानेसमेत गरी कुल १४ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
त्यसमा १ खर्ब ६५ अर्ब रुपैयाँ राजस्व बाँडफाँटबाट हस्तान्तरणपछि संघीय सञ्चित कोषमा दाखिला हुने राजस्व १३ खर्ब १५ अर्ब रुपैयाँ संकलन हुने अनुमान छ। त्यसमा वर्तमान स्रोतबाट १२ खर्ब ५९ अर्ब ३० करोड रुपैयाँ हुने अनुमान छ।
कर परिवर्तन तथा प्रशासनिक सुधारबाट ६६ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन हुने प्रक्षेपण गरिएको छ।
चालू आर्थिक वर्षको बजेटमा १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। त्यसमा १ खर्ब ५९ अर्ब रुपैयाँ प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्दै संघीय कोषमा १२ खर्ब ६० अर्ब रुपैयाँ संकलन हुने अनुमान गरेको थियो।
अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको संशोधित अनुमानको १७ प्रतिशत मात्रै बढी राजस्व बढाएकाले लक्ष्य भेट्टाउन सकिने दाबी गरेका छन्।
‘बजेट विश्लेषण गर्नेहरुले पनि महत्त्वाकांक्षी भनेका छैनन्। बजेटको आकारमा धेरै बढोत्तरी गरेका छैनौँ’, उनको तर्क छ, ‘आर्थिक गतिविधि बढिरहेको अवस्थामा विगतका तुलनामा राजस्वको लक्ष्य यथार्थपरक नै छ।’
तर पौडेलले यथार्थपरक भने पनि विगतका वर्षको राजस्व संकलन हेर्दा ठूलो लक्ष्य राखिएको छ।
आर्थिक वर्ष ०७८/०७९ मा ९ खर्ब ८६ अर्ब, ०७९/०८० मा ८ खर्ब ९० अर्ब, ०८०/०८१ मा ९ खर्ब ५५ खर्ब रुपैयाँ राजस्व उठेको थियो। चालू आर्थिक वर्षमा राजस्व बाँडफाँटसहित १२ खर्ब ६७ अर्ब उठ्ने लक्ष्य राखे पनि जेठ १५ (बजेटको दिन)सम्म कुल राजस्व ९ खर्ब ६७ अर्ब रुपैयाँ संकलन भएको छ।
राजस्व सचिव दिनेश कुमार घिमिरेले आर्थिक गतिविधि चलायमान हुने आधारमा राजस्वका दर निर्धारण गरिएको बताए।
‘आर्थिक गतिविधिका आधारमा राजस्व संकलन कसरी संकलन हुन्छ भन्ने ७ सय बढी शीर्षक छन्’, उनले भने, ‘कुन शीर्षकमा कति आउँछ भन्ने स्पष्ट छ। हामीले सोचेको परिस्थिति फरक भए लक्ष्यभन्दा कम उठ्न सक्छ।’
भन्सारमा सन्दर्भ मूल्यसूचीले अप्ठ्यारो पारेको अवस्थामा कारोबारमा आधारित मूल्य निर्धारण हुने गरी अगाडि बढ्ने विषय रहेको उनको भनाइ छ।
‘रियलिस्टिक एप्रोचमा राजस्वका लक्ष्य पूरा हुने गरी नै अनुमान गरिएको हो’, घिमिरेले थपे, ‘खुल्ला सीमामा अवैध नियन्त्रण गर्न विभिन्न निकायसँग समन्वय गरी राजस्व बढाउँछौँ।’
अर्थ मन्त्रालयकै सहसचिवहरु आयात ह्वात्तै बढ्ने र आर्थिक गतिविधिमा व्यापक बढोत्तरी भए मात्रै लक्ष्यको नजिक पुग्न सकिने बताउँछन्।
कुन शीर्षकमा कति राजस्व संकलनको लक्ष्य?
आय, मुनाफा तथा पुँजीगत लाभमा लाग्ने कर चालू आर्थिक वर्षमा ३ खर्ब २१ अर्ब रुपैयाँ उठ्ने संशोधित अनुमान रहेकोमा आगामी वर्ष ३ खर्ब ९३ अर्ब रुपैयाँ पुर्याउने सरकारी लक्ष्य छ।
यस्तै, ३ खर्ब ७३ अर्ब हालकै स्रोतबाट रकम जम्मा हुने र कर परिवर्तन तथा प्रशासनिक सुधारबाट १९ अर्ब ६७ करोड रुपैयाँ संकलन हुने अनुमान छ।
एकलौटी फर्म तथा व्यक्तिगत आयममा लाग्ने कर चालू आर्थिक वर्षमा १ खर्ब १३ अर्ब रुपैयाँ उठ्ने देखिएकोमा आगामी वर्ष १ खर्ब ३३ अर्ब रुपैयाँ उठ्ने अनुमान छ। १ खर्ब २७ अर्ब त व्यक्तिगत आयमा लाग्ने कर, पारिश्रमिक कर, पुँजीगत लाभकर, आकस्मिक लाभकर, एकलौटी व्यवसायको आयमा लाग्ने करबाटै उठ्नेछ। प्रशासनिक सुधारबाट मात्रै थप ६ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गर्नेछ।
कम्पनी तथा संस्थानको आयमा लाग्ने कर १ खर्ब ९३ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ। चालू आर्थिक वर्षमा १ खर्ब ५२ अर्ब रुपैयाँ संकलन गरेको सरकारले ४१ अर्ब रुपैयाँ थप उठाउन सक्ने आकलन गरेको छ।
अर्थ मन्त्रालयले सरकारी संस्थान, पब्लिक कम्पनी, प्राइभेट कम्पनीको मुनाफामा लाग्ने कर, पुँजीगत लाभकर र आकस्मिक लाभ करबाट लक्ष्य भेट्टाउने उल्लेख गरेको छ।
लगानीको आय तथा अन्य आयमा लाग्ने करबाट ६६ अर्ब ७२ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ। सो शीर्षकमा चालू आर्थिक वर्षमा ५४ अर्ब ४४ करोड मात्रै उठ्ने अनुमान रहेकोमा आगामी वर्ष १२ अर्ब बढी राजस्व उठाउन सक्ने आकलन छ।
सम्पत्ति, बहाल तथा पट्टाबापतको आयमा लाग्ने कर, ब्याजमा लाग्ने कर, लाभांशमा लाग्ने कर, लगानीसम्बन्धी अन्य आयमा लाग्ने कर, आकस्मिक लाभ करबापत करवृद्धि गर्न सकिने अर्थ मन्त्रालयको अनुमान छ।
अर्थमन्त्रीले पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर ९ अर्ब रुपैयाँबाट १३ अर्ब ४५ करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेका छन्।
वस्तु तथा सेवामा आधारित कर ६ अर्ब ६७ अर्ब ४५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। चालू आर्थिक वर्षमा ५ खर्ब ६७ अर्ब रुपैयाँ राजस्व संकलन गरेकोमा आगामी वर्ष १ खर्बको लक्ष्य बढाइएको छ।
भ्याटबाट ३ खर्ब ३३ अर्ब उठाउने लक्ष्य
मूल्यअभिवृद्धि कर चालू आर्थिक वर्षमा ३ खर्ब ३३ अर्ब रुपैयाँ उठ्ने संशोधित अनुमान रहेकोमा आगामी वर्ष ३ खर्ब ९४ करोड रुपैयाँ पुर्याउने लक्ष्य छ।
सरकारले डिजिटल कारोबार गर्दा लाग्ने भ्याट घटाए पनि हवाइ सेवा कम्पनीलाई भ्याटमा दर्ता हुन जरिवानामा छुट दिएको छ।
यसबाहेक उत्पादन क्षेत्रबाट ४८ अर्ब १३ करोड, वस्तु आयातबाट २ खर्ब २१ अर्ब ७९ करोड रुपैयाँ उठ्ने लक्ष्य राखिएको छ। वस्तु बिक्री र वितरणबाट ३८ अर्ब २० करोड, परामर्श तथा ठेक्काबाट ३७ अर्ब ११ करोड, पर्यटन सेवा संकलनबाट ४ अर्ब ९२ करोड रुपैयाँ संकलन हुने अनुमान छ। त्यसबाहेक सञ्चार सेवा, बीमा, हवाइ उडान र अन्य सेवाबाट ३३ अर्ब ९२ करोड रुपैयाँ र बेदर्तावालाबाट १० अर्ब ४२ करोड रुपैयाँ उठाउने लक्ष्य छ।
सरकारले आगामी वर्ष अन्तःशुल्कबाट २ खर्ब १३ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ। गत आर्थिक वर्षमा १ खर्ब ४६ अर्ब मात्रै उठेको अन्तःशुल्क यो वर्ष १ खर्ब ८१ अर्ब उठ्ने संशोधित अनुमान छ। आगामी वर्ष ३२ अर्ब अन्तःशुल्क बढाउन सक्ने गरी लक्ष्य निर्धारण गरिएको छ।
त्यसैगरी आयातबाट ६० अर्ब ८५ करोड रुपैयाँ उठाउने लक्ष्य छ। स्वदेशी उत्पादनबाट स्वास्थ्य जोखिम कर १० अर्ब ४७ करोड संकलन हुने अनुमान रहेकोमा वैदेशिक उत्पादनबाट ३ करोड मात्रै उठ्ने देखिएको छ।
सुर्तीजन्य पदार्थबाट ३६ अर्ब १० करोड, मदिराबाट ३६ अर्ब ८४ करोड, बियरबाट ४१ अर्ब ६४ करोड र अन्य औद्योगिक उत्पादनबाट २७ अर्ब १६ करोड रुपैयाँ उठ्ने अनुमान छ।
विशेष सेवामा लाग्ने कर ४ अर्ब ७४ करोड रुपैयाँ उठ्ने अनुमान गरेको छ। जसमा जनस्वास्थ्य सेवा कर, शैक्षिक संस्था र वैदेशिक अध्ययन र विद्युतीय सेवा करबाट राजस्व संकलन हुने उल्लेख छ।
पूर्वाधारको उपयोग, वस्तुको प्रयोगको अनुमति तथा कुनै कार्य सञ्चालन गर्न अनुमति दिँदा लाग्ने कर ५४ अर्ब ४६ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। यो वर्ष ४७ अर्ब ८० करोड रुपैयाँ संकलन हुने अनुमान छ। सडक मर्मत तथा सुधार दस्तुर, सडक निर्माण तथा सम्भार दस्तुर र पूर्वाधार करबाट राजस्व संकलन हुनेछ।
वैदेशिक व्यापारमा आधारित कर २ खर्ब ५१ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान छ। चालू आर्थिक वर्षमा २ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान छ। भन्सार महशुल आयातमा २ खर्ब ३७ अर्ब रुपैयाँ लागू भएको छ। हरित करबापत २ अर्ब ३६ करोड रुपैयाँ संकलन हुने अनुमान छ। जब कि चालू आर्थिक वर्षमै ३ अर्ब ५१ करोड रुपैयाँ संकलन हुनेछ।
निर्यातबाट भन्सार महशुल ६८ करोड, कृषि सुधार शुल्क ९ अर्ब ४५ करोड, भन्सारसम्बन्धी अन्य आय ८८ करोड हुने अनुमान छ।
साढे २६ अर्बले बढ्यो गैरकर राजस्वको लक्ष्य
रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय छानबिन आयोगले गैरकर राजस्व बढाउन सुझाव दिएको छ।
सरकारले चालू आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा १ खर्ब २७ अर्ब ७५ करोड रुपैयाँ छ। आगामी वर्षको लागि १ खर्ब ५४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने रहेको छ।
यसमा सम्पत्तिबाट आय ९० अर्ब १८ करोड, ब्याजबाट ६ अर्ब ६० करोड रुपैयाँ रहेको छ। लाभांशबापत ६६ अर्ब ५८ करोड, भाडा तथा रोयल्टीबाट १६ अर्ब ९९ करोड रुपैयाँ छ।
त्यसबाहेक सरकारले पर्यटन शुल्क ६ करोड, पदयात्रा शुल्क ७६ करोड आम्दानी गर्नेछ।
वस्तु तथा सेवा बिक्रीबाट आगामी वर्ष ४९ अर्ब ७५ करोड रुपैयाँ रहने अनुमान छ। चालू आर्थिक वर्षमा ४१ अर्ब ५४ करोड रुपैयाँ उठ्ने संशोधित लक्ष्य छ। प्रशासनिक सेवा शुल्कबाट ३४ अर्ब ८९ करोड, प्रशासनिक दस्तुर १ अर्ब ७० करोड, दण्ड जरिवाना जफतबाट ४ अर्ब ९४ करोड संकलन हुने अनुमान छ।
विविध राजस्वबाट सरकारले ८ अर्ब ६६ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ।
Shares

प्रतिक्रिया