गएको हप्ताबाट सेयरबजारमैत्री सूचनाहरु धमाधम आए पनि त्यसले धितोपत्रको दोस्रो बजारमा भने खास्सै प्रभाव पार्नसकेको छैन।
सेयरबजारमैत्री गभर्नर आएसँगै पहिलो कारोबारको पहिलो चार मिनेटमा ८४ अंकको उचाइ लिए पनि अन्तिममा बजार घटेको थियो। त्यसपछि उनै गभर्नरले मौद्रिक नीतिबाट लगानीकर्तालाई छुट दिए पनि बजारमा प्रभाव पार्न सकेन।
आइतबार गभर्नर विश्वनाथ पौडेलले कार्यकालकै पहिलो मौद्रिक नीति समीक्षा अर्थात् चालू आवको नीतिको तेस्रो समीक्षा गरे। जसमा लगानीकर्ताले दुई वर्षदेखि निरन्तर माग गर्दै आएको कुरा समेटियो।
समीक्षाले सेयर धितोकर्जामा लाग्दै आएको जोखिमभारलाई घटाएर १ सय प्रतिशतमा झार्ने गरी नीतिगत व्यवस्था गरे। यसअघि यस्तो जोखिमभार १२५ प्रतिशत थियो। यसले लगानीकर्ताले सेयर धितोकर्ता लिनलाई सहज बनाएको छ। ब्याजदर घटेर एक तल्लो विन्दु औसतमा ८.२२ प्रतिशतमा आइपुगेसँगै लगानीकर्ताले धितोकर्जामा सहुलियत पाएका छन्। यसले बजारलाई थप चलायमान मात्रै नबनाएर बजारमा लगानीकर्ताको उपस्थिति बढाउने अपेक्षा थियो।
अन्य समय हुँदो हो त, यस्ता समाचारसँगै बजारले सकारात्मक प्रतिक्रिया गर्ने तथा सूचकसँगै कारोबार पनि उक्लिने गर्थ्यो। यस तर यसपटक भने सेयरबजारले त्यसलाई बेवास्ता गरेको छ। बरु आइतबार घटेको बजारले सोमबार पनि मौद्रिक नीतिको व्यवस्था गरेरै घट्दो बजारलाई नै निरन्तरता दिन पुग्यो।
मौद्रिक नीतिपछिको पहिलो कारोबार सुरु भएको एक मिनेटमा सूचकसँगै कारोबार रकमले पनि छलाङ मारेको थियो। बजार खुल्नुअगावै प्रि–ओपन सेसनमै सूचकले १४ अंकको उचाइ समातेको थियो। त्यसलगत्तै बजार ११ बजेको खुल्यो बजार खुल्दा सेयरमाग एकैपटक अत्यधिक बढ्दा सबै समूह धमाधम मूल्य बढेर हरियो बन्न पुगे भने सूचक पनि एक मिनेटमा १९ अंकसम्मले बढेर आजको अधिकतम विन्दु २७४३.६२ अंकमा पुग्न सफल बन्यो।
यति बेलासम्म नेप्से मात्रै नभएर कारोबार पनि झण्डै एक अर्बबराबरको भइसकेको थियो। तर अन्त्यमा बजार परिसूचक ५.२१ अंकले घट्यो। नेप्से सो दरमा घटेर २६७४.७६ विन्दुमा झरेको छ।
साढे ७ अर्बको कारोबार
लचिलो मौद्रिक नीतिपछिको पहिलो कारोबार पनि सामान्य छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज सोमबार ७ अर्ब ५८ करोड ५० लाखको मात्र किनबेच भएको छ। १ करोड ७१ लाख कित्ता बिक्रीमा सो कारोबार भएको हो।
यस दिन ९२ वटा धितोपत्रको मूल्य बढे पनि १५५ वटाको घटेको छ। सेयरहरु ९.९९ प्रतिशतसम्मले बढेका छन्। ओम मेगाश्री फर्म्यास्युटिकल्सको सो दरले बढ्दा लगानीकर्ताले ११२.६० रुपैयाँ प्रतिकित्ता कमाएका छन्। यसबाहेक उपकार लघुवित्तको सेयर ६.१९ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ४.३१ प्रतिशतले सेयर बढेको छ।
यता गुराँस लघुवित्तको भने नकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर १० प्रतिशतले घट्दा प्रतिकित्ता २९५.९२ रुपैयाँ नोक्सानी भएको छ। यसबाहेक वाराही हाइड्रोपावर ९.८५ प्रतिशत, अभियान लघुवित्त ३.९२ प्रतिशत र नाडेप लघुवित्त ३.६५ प्रतिशतले घटेको छ।
कारोबारमा आज राधी जलविद्युत् अगाडि छ। कम्पनीको ६४ करोडको कारोबार हुँदा ङादी ग्रुप पावरको ५६ करोड, युनिभर्सल पावर कम्पनीको ४५ करोड, कुमारी बैंकको २१ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १८ करोडको कारोबार भएको छ।
सेयरबजारका लगानीकर्तालाई खुसी बनाउने नीति आएसँगै बजारको पहिलो मिनेटमा सूचकमा उछाल देखिएपनि लगत्त बजारले उक्त उछाललाई कायम गर्न भने सकेन ।
Shares

प्रतिक्रिया