कारोबार


प्रसारणलाइनको तार छोएर गम्भीर घाइते बालकलाई प्राधिकरणले साढे १५ लाख बढी क्षतिपूर्ति दिने

प्रसारणलाइनको तार छोएर गम्भीर घाइते बालकलाई प्राधिकरणले साढे १५ लाख बढी क्षतिपूर्ति दिने

नेपालखबर
साउन ७, २०८३ बिहिबार ११:२३, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ। 

प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको हो। 

प्राधिकरणका अनुसार नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२, घुसेरीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका क्रममा बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छुँदा सो दुर्घटना भएको थियो । स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपनियम १ बमोजिम क्षतिपूर्ति र औषधि उपचारको खर्च भुक्तानी गर्दै आएको छ । प्राधिकरणको विनियमावली अनुसार २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति र औषधोपचार विभागीय प्रमुख, २ लाखदेखि ५ लाख रुपैयाँसम्म सम्बन्धित उपकार्यकारी निर्देशक, ५ लाख देखि १० लाख रुपैयाँको मुख्य प्रशासकीय अधिकृत र १० लाखभन्दा बढीको रकम सञ्चालक समितिले निर्णय गर्नुपर्ने व्यवस्था छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजीरहरुका आधार पीडित बालकको परिवारलाई सहयोग गरिएको उल्लेख गर्दै मानिसको जीवनभन्दा जतिसुकै ठूलो रकम पनि कम हुने बताए। 

‘यो रकमले पीडा भुलाउने त होइन तर जीवनयापनमा थोरै भए पनि सहयोग होस् भन्ने अपेक्षा गरिएको छ’, मन्त्री श्रेष्ठले भने, ‘बीमा, उपचार र क्षतिपूर्तिको व्यवस्था एकतिर भइरहेकै विषय हो। तर, पछिल्ला दिनमा बढ्दै गएको विद्युतीय दुर्घटनाको न्यूनीकरणका लागि प्राधिकरण र नागरिक समाज सचेत हुनुपर्छ।’

मन्त्री श्रेष्ठले हरेक वर्ष विद्युतीय दुर्घटनाबाट भइरहेको जनधनको क्षतिको तथ्यांक डरलाग्दो रहेको उल्लेख गर्दै प्राधिकरणलाई आफ्ना संरचनाहरुको मर्मत गर्ने, जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने, सुरक्षा सतर्कता बढाउने र नागरिकलाई जनचेतना तथा पूर्व सूचनाका कार्यलाई तीव्रता दिन निर्देशनसमेत दिएका छन्। 

साथै विद्युतीय दुर्घटना न्यूनीकरण गर्न नागरिकको सचेतना पनि अपरिहार्य रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad