कारोबार


राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड सबै तहका सरकारले लागू गर्ने

राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड सबै तहका सरकारले लागू गर्ने

नेपालखबर
जेठ ७, २०८२ बुधबार २०:४५, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विषयगत समितिको तेस्रो बैठकले देशभरका पदमार्गहरू एउटै राष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्ने निर्णय गरेको छ।

पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बुधवार काठमाडौंमा बसेको विषयगत समितिको तेस्रो बैठकले सबै तहका सरकारले ‘राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ लागू गर्ने निर्णय गरेको हो।

यस बैठकले पर्यटन विकासका लागि विभिन्न सातवटा निर्णय गरेको छ। जसमा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी ठानिएको ‘होमस्टे सञ्चालन मापदण्ड’लाई पनि सबै तहमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।

यसका साथै प्रदेश र स्थानीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउँदा केन्द्र सरकारसँग तादाम्यता मिलाउने, संस्कृति तथा पर्यटन क्षेत्र मा स्थानीय तहको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकारले सहयोग गर्ने निर्णयसमेत गरेको छ। 

पहिचान गरिएका पर्यटकीय गन्तव्यहरूको सौन्दर्यीकरण, प्रचारप्रसार तथा मर्मत सम्भारमा तीनै तहका सरकारले प्राथमिकता दिने, पर्यटनमा निजी क्षेत्रको लगानी आकर्षणका लागि वातावरण निर्माण गर्ने र अघिल्ला बैठकका निर्णयहरू कार्यान्वयन गर्ने निर्णय पनि भएको मन्त्री पाण्डेको सचिवालयले जानकारी दिएको छ।

बैठकमा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेसँगै  प्रदेशका पर्यटन मन्त्रीहरु र समितिका सदस्यहरूको उपस्थिति थियो।

बैठकमा बोल्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा तीनै तहका सरकारबीच समन्वय र साझेदारी आवश्यक रहेको बताए। उनले भने, ‘हामीकहाँ नीति निर्माणदेखि कार्यान्वयनसम्म टुक्राटुक्रामा हुने प्रवृत्तिले प्रभावकारी परिणाम आउन सकेको छैन। अब साझा मापदण्ड र स्पष्ट कार्यविभाजनका साथ अघि बढ्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad