सगरमाथाको सफल आरोहण गरी फर्किएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) दन्त बहादुर छत्याल सशस्त्र प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भएका छन्।
सशस्त्र प्रहरी बलले उनी फर्किए लगतै बढुवा गर्ने निर्णय गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
छत्यालले जेठ ४ गते बिहान ९ः२० बजे सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए।
साहसिक कार्य गरेबापत सशस्त्र प्रहरी बल, नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो।
छत्याल सगरमाथा आरोहणका लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
सगरमाथा सम्वादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका छत्याललाई शुधबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार गण सिनामंगल काठमाडौँमा बुधबार छत्याललाई स्वागत गर्दै सफल आरोहणको लागि बधाइ दिए।
Shares

प्रतिक्रिया