उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरणमैत्री विकास निर्माणको आवश्यकता रहेको बताएका छन्।
‘कालोपत्रे होइन सेतो पत्रे गरौँ’ भन्ने नाराका साथ नेपाल सिमेन्ट उत्पादक संघ द्वारा काठ्माण्डौँमा आयोजित “सिमेन्ट कन्क्लेभ” कार्यक्रममा बोल्दै उहाँले सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउनुपर्ने बताएका हुन्।
मन्त्री भण्डारीले नेपालको कच्चा पदार्थमा आधारित विकास निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
“आज हामी सिमेन्टमा आत्मनिर्भर भएका छौँ, बालुवा, गिट्टी हाम्रै वरीपरि उपलब्ध छ, यसको प्रयोग बढाउनुपर्छ, स्वदेशमै रहेका सामग्रीबाट विकास निर्माणका कामहरू गर्न सक्छौँ र यो अभ्यास बढाउनुपर्छ”, उनले भने, “हामीले विकास निर्माणलाई दिगो, भरपर्दो र वातावरणमैत्री बनाउनु जरुरी छ। यसमा भएका कानुनी समस्याहरू समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न तयार छु।”
विकसित मुलुकहरूले कालोपत्रे सडक विस्थापित गर्दै सेतो पत्रेमा जोड दिएको हुँदा नेपालले उक्त अभ्यास बढाउनुपर्ने मन्त्री भण्डारीको भनाइ छ।
उनले उद्योग सञ्चालकहरूले पनि वातावरणीय प्रभावको ख्याल गर्नुपर्ने बताए। उनले अहिले कतिपय विकास निर्माणका कार्य अपरिपक्व रहेको भन्दै विकास निर्माणलाई दिगो र भरपर्दो बनाउनुपर्ने बताए।
“अहिले पहाडका केही सडकहरू एकातिर निर्माण भइरहने अर्कोतिर भत्कँदै जाने अवस्था छ, कालोपत्रे भएका सडक एक दुई वर्षमै भत्किएका पनि छन्। तर सिमेन्ट र छडको प्रयोग गरेर सडकहरू निर्माण भएमा कम्तीमा पनि १० वर्ष टिक्न सक्ला त्यसैले सेतो पत्रेमा जोड दिनु आवश्यक छ। यसमा सरकार र व्यवसायीका तर्फबाट भूमिका आवश्यक छ”, मन्त्री भण्डारीले भने।
आयात र निर्यातको सन्तुलन बढाउनुपर्नेमा उनको जोड छ। बाह्य उत्पादन नेपाल भित्रिएजसरी नै नेपाली उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताए।
Shares

प्रतिक्रिया