कारोबार


कतारको जागिर छोडेर दहीको कारोबार, वार्षिक करोडौँ कमाउँछन् नहाज

‘अम्बानी परिवार ग्राहक बन्यो, बिल गेट्स र जकरबर्गले पनि स्वाद लिए’
कतारको जागिर छोडेर दहीको कारोबार, वार्षिक करोडौँ कमाउँछन् नहाज

राजेश भारती
जेठ २, २०८२ शुक्रबार १७:४७, काठमाडौँ

पैसा कमाउन धेरै मानिसहरु विदेश जान्छन्। तर कतिपय यस्ता मानिसहरु हुन्छन् जो विदेशको जागिर छाडेर फर्किन्छन् र स्वदेशमै वर्षेनी करोडौँ कमाउँछन्।

भारतको केरलाका नहाज बशीर यस्तै व्यक्तिमा पर्छन्। नहाज क्रेमबेरी नामक कम्पनी चलाउँछन्। उनको कम्पनीले धेरै स्वादमा दही बनाउँछ। ती स्वादलाई रुचाउने ग्राहक पनि उस्तै छन्। सामान्यदेखि चर्चित धनाढ्य अम्बानी परिवारसम्मलाई उनले ग्राहक बनाएका छन्। 

उनको वार्षिक आम्दानी नै करोडौँ भारु छ। पछिल्लो समय डिजिटल मार्केटिङ र सामाजिक सञ्जालको कुरा गर्छन्। तर नहाजले भने केही फरक गर्न चाहे।

मलहरुमा आफैँ गए र दही चखाए। सुरु सुरुमा उनले यसै गरे। मानिसहरुलाई स्वाद चखाउँदै हिँडे। यसबाट उनी मानिसहरुको भरोसा जित्न चाहन्थे। आफ्नो कम्पनीको विशेष दहीबारे जानून् भनेर उनले यो सबै गरेका थिए। 

नहाजको जन्म केरलमा भएको थियो। उनले आफ्नो परिवारको ‘टिस्यु’ बनाउने व्यवसायबाट व्यापारबारे जानकारी लिए। २० वर्षकै उमेरमा कतारमा उनलाई राम्रो जागिर मिल्यो। तर उनले त्यसलाई बीचैमा छाडिदिए। किन कि उनी आफ्नै काम गर्न चाहन्थे।

तर नहाजको चाहना परिवारलाई मन परेको थिएन। उनकी आमाले भने साथ दिइन्। नहाज आफ्नो सपना पूरा गर्न चाहन्थे। उनी भारतमै राम्रो गुणस्तरको दही लैजान चाहन्थे। 

त्यसपछि बढ्दै गयो कारोबार  
नहाजको सफलताको कथा कतारबाटै सुरु भयो। जब उनी भारत आउँथे, एउटा चिजको कमीले सताउँथ्यो। उनले कतारमा जस्तो स्वादिलो दही खान पाउँदैनथे। कतारमा पाइनेवाला दहीको स्वाद र गुणस्तर नहाजलाई साह्रै मन पर्थ्यो।

केरलको दही अमिलो हुन्थ्यो। जुन उनलाई मन पर्दैनथ्यो। सोही कारण उनले भारतमा राम्रो दही बनाउने निर्णय लिएका थिए। कतारको जागिर छोडेर उनले सन् २०२० मा क्रेमबरी नामको कम्पनी सुरु गरे। विस्तारै विस्तारै कम्पनी सफल हुँदै गयो। किनभने यो कम्पनीले बजारकै एउटा खाली स्थान पूरा गरेको थियो। 

आफ्नो प्रोडक्ट मानिसहरुसम्म लैजान नहाजले मल र मेट्रो स्टेसनमा निःशुल्क दही बाँड्न सुरु गरे। केही मानिसले मन पराउन पनि थाले। कसै कसैले भने अमिलो दही नै मन पराउँथे। कोही साथी र आफन्तले उनको कामलाई नउडाएका होइनन्, तर उनले हार मानेनन्। उनले मानिसहरुबाट पाएको पृष्ठपोषणअनुसार आफ्नो प्रोडक्टमा बदलाव ल्याए। 

विस्तारै विस्तारै उनको मिहिनेत रंगिन थाल्यो। उनले केरलको लुलु मलबाट व्यवसाय सुरु गरेका थिए। विस्तारै उनको दही केरल, कर्णाटक र तमिलनाडुका ठूला सुपरमार्केटमा पाइन थाल्यो। झन् पाँचतारे होटलसँग काम गर्न थालेपछि त उनको कम्पनीलाई अझै धेरैले चिन्न थाले। 

अम्बानी परिवार जोडियो, बिल गेट्स र जकरबर्गले पनि चाखे  
नहाजको कम्पनीको लागि सबैभन्दा ठूलो अवसर त्यतिखेर आयो जब अम्बानी परिवारले सम्पर्क गर्‍यो।

नहाज भन्छन्, ‘अम्बानी परिवारले आफ्ना दुवै छोराको विवाहमा १० हजार बढी प्याकेट दही मगाएको थियो। बिल गेट्स र मार्क जुकरबर्ग जस्ता पाहुनाले पनि हाम्रो दहीको स्वाद लिए। हाम्रा कर्मचारी उनीहरुले दही खाएको देखिरहेका थिए। मलाई पनि धेरै खुसी लागिरहेको थियो।’ 

हिजोआज नहाजको दही पाँचतारे होटलमा चाख्न पाइन्छ। उडानमा पनि ‘सर्भ’ हुन्छ। मानिसहरुले क्रेमबेरीको नयाँ स्वादलाई धेरै रुचाइरहेका छन्। खासगरी मसलायुक्त संभाराम दही र फलहरुबाट बनेको दहीले धेरै चर्चा बटुलिरहेको छ। 

क्रेमबेरी अब भारत र अन्य देशहरुमा पनि व्यवसाय बढाउन चाहिरहेको छ। नहाजले जे सिकेका छन् त्यसबाट निकै खुसी पनि छन्। पछिल्लो वर्ष उनको कम्पनीको वार्षिक कारोबार नै १५ करोड भारुको भएको थियो। नवभारत टाइम्सबाट 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad