कारोबार


हितेन्द्रले भने– चिन्ता लिनुपर्ने अवस्था छैन, प्रसारणलाइनमा रुखको हाँगा खस्दा हिजो समस्या आएको हो

हितेन्द्रले भने– चिन्ता लिनुपर्ने अवस्था छैन, प्रसारणलाइनमा रुखको हाँगा खस्दा हिजो समस्या आएको हो

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८२ शुक्रबार १३:१८, काठमाडौँ

बिहीबार एक्कासि विद्युत् अवरुद्ध भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले कुनै चिन्ता नलिन आग्रह गरेका छन्। 

शुक्रबार पत्रकारहरुसँग उनले बिहीबार भएको अवरुद्धलाई उदाहरणका रुपमा लिँदै विद्युत् उत्पादनसँगै प्रसारण नेटवर्क पनि त्यही गतिमा अघि बढाउनुपर्ने अन्यथा यस्ता समस्या आइरहने बताए। 

सामाजिक सञ्जालमा पूरै विद्युत् अवरुद्ध हुनपुगेको भन्दै व्यापक चर्चा चलेपछि प्राधिकरणको तर्फबाट स्पष्टीकरण दिनुपर्ने देखिएकाले पत्रकार सम्मेलन गरेको उनले बताए। 

‘हिजो ६ बजेर ३८ मिनेटमा ढल्केबर–वसन्तपुरको लाइनमा रुखको हाँगा परेर र ढल्केबर–नवलपुर लाइनमा रुखको ठूलै हाँगा खसेर दुईवटा लाइनमा सँगसँगै घटना भएर सिस्टम अवरुद्ध भएको हो। त्यो समयमा त्यो क्षेत्रवरिपरि चक्रवातजस्तो स्थानीय रुपमा धेरै शक्तिशाली हावाहुरी चलेको थियो। धेरै ठाउँमा एकैपटक समस्या भयो’, उनले भने, ‘त्यो मात्र होइन, ढल्केबरबाट पश्चिमतर्फ जाने र वीरगन्जदेखि पश्चिम जाने लाइनमा पनि समस्या आयो।’  

पटक पटक प्रयास गर्दा पनि सम्भव नभएपछि भारतसँग कोअर्डिनेसन गरेको बताउँदै दुईवटा कोड पठाएर समस्या पहिचान र समाधानको प्रयास गरेको उनको भनाइ छ। यसले गर्दा केही समय लागेको शाक्यले उल्लेख गरे। 

यसलाई त्यति ठूलो समस्याका रुपमा चिन्ता लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। 

‘विद्युत् उत्पादन बढ्दै गर्दा प्रसारण नेटवर्क त्यही गतिमा बढाउन सकेनौँ भने रोक्दै गयौँ भने साना साना घटनाहरु हुने गर्छ’, उनले भने, ‘हिजो अढाई घण्टा कन्ट्रोल रुममा बस्दा मैले हरेक घटनालाई नियालेँ। त्यसपछि अहिले बैठकअगाडि ट्रान्समिसन, डिस्ट्रिब्युसन, सिस्टम कन्ट्रोल, सिस्टम प्लानिङका सबैलाई बोलाएर बृहत् छलफल गरेको छु।’ 

उनले तत्काल गर्नुपर्ने, १ वर्षभित्र गर्नुपर्ने र सिस्टम रिइन्फोर्समेन्टका मुख्य तीन कुराहरुबारे आवश्यक तयारी गरेको जानकारी दिए। 

पहिलेभन्दा अझ चुस्त विद्युत् प्रवाहको लागि प्राधिकरण अग्रसर भएको उनको दाबी छ।

‘कुनै चिन्ता लिनुपर्दैन। हिजोभन्दा अझ बेटर नै गर्छौँ’, उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad