विराटनगरमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ। दुई दिनदेखि नेपाल आयल निगमले नियमित पेट्रोलियम ढुवानी नगर्दा सेवा प्रभावित भएको हो।
नेपाल आयल निगम विराटनगर वितरण केन्द्रले निगमको प्राविधिक समस्या देखाउँदै सबै खालको पेट्रोलियम पदार्थको ढुवानी रोकेको थियो।
पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ, विराटनगरले एक सूचना जारी गर्दै नेपाल आयल निगमको प्राविधिक समस्या (इआरपी)को कारणले गर्दा वैशाख ३० र वैशाख ३१ गते दुई दिनको अवधिमा जम्मा ६ वटा डिजल र दुईवटा पेट्रोल ट्याङ्कर गाडीहरू बाहेक अन्य गाडीहरू निस्किन नसकेको जनाएको छ।
सङ्घका निवर्तमान अध्यक्ष मुकुन्द न्यौपानेले आयल निगमको लापरवाहीका कारण यस्तो समस्या सिर्जना भएको बताए।
'सफ्टवेयरमा समस्या भएको भनिएको छ,' उनले भने, 'सफ्टवेयरमा समस्या आउँदा विराटनगरमा मात्र किन ढुवानी बन्द भयो अन्यत्र नियमित इन्धनहरू पठाउने काम भइरहेको भएपनि विराटनगरले वितरण गरेको छैन।'
अहिले विराटनगरका अधिकांश पेट्रोल पम्पहरूमा पेट्रोल तथा डिजेलको कृत्रिम अभाव सिर्जना गराइएको छ।
नेपाल आयल निगम विराटनगरका प्रमुख पुष्कर कार्कीले इन्धन आपूर्तिमा देखिएको समस्याको विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन्।
नेपाल आयल निगमको कारण सिर्जित समस्याको बारेमा जानकारी लिन नेपालखबरले पटकपटक सम्पर्क गर्दासमेत कार्की सम्पर्कमा आउन चाहेनन्।
पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घका अनुसार, दुई दिनदेखिको अभाव टार्न बल्ल छवटा डिजेल र दुईवटा पेट्रोलियम ट्याङ्करका गाडीहरू बाहेक कुनै पनि इन्धनका ट्याङ्कर आयल निगमले पठाएको छैन। विराटनगर बजारका सबैजसो पेट्रोल पम्पहरू बन्द भएका छन्।
सङ्घले भने जेठ १ गतेदेखि नियमित पठाइने सूचना जारी गरेको छ।
Shares

प्रतिक्रिया