ताप्लेजुङको कञ्चनजंगा कोसी प्रदेशकै सबैभन्दा चर्चित हिमाल हो। यसले ताप्लेजुङमा मात्रै होइन, कोसी प्रदेशकै पर्यटन विकासमा ठूलो योगदानसमेत गर्दै आएको छ।
ताप्लेजुङमा कञ्चनजंगा मात्रै पर्यटकीय क्षेत्र भने होइन। लोदेन खर्क तिम्बुङ पोखरी, ओलाङचुङ्गोला, उच्च हिमाली बस्ती याङ जस्ता पर्यटकीय क्षेत्र पनि ताप्लेजुङमा पर्छन्।
याङमाटार, याङमा पोखरी, सिङजेना ताल, टिपताला नाका यहाँका चर्चित पर्यटकीय स्थल हुन्। ताप्लेजुङमा पर्यटन विकासको प्रशस्त सम्भावना भएपनि प्याकेजिङ हुन नसकेको यहाँका होटल व्यवसायी बताउँछन्।
ताप्लेजुङसँग जोडिएका पर्यटकीय स्थलको प्रचारप्रसार नभएको पनि होइन। तर प्याकेजिङ गर्न र पर्यटक ल्याउनका लागि सरकार, व्यवसायी र स्थानीय तहबीचमा समन्वय नभएको होटल व्यवसायी संघ ताप्लेजुङले जनाएको छ।
ताप्लेजुङमा मात्रै पर्यटकको लागि ८४ दिनको लागि प्याकेज बनाउन सकिने सम्भावना रहेको २०६७ सालदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका जङ्ग सुनुवार बताउँछन्। काठमाडौँ केन्द्रित एजेन्सीले ताप्लेजुङसँग जोडेर प्याकेजिङ नगरिदिँदा यहाँका व्यवसायीले समस्या झेल्दै आएको उनको गुनासो छ।
‘काठमाडौँका ट्राभल एजेन्सीले प्याकेज बनाउँदा सिधै कन्यामको र कन्यामबाट माथिल्लो फेदीसम्मको प्याकेज बनाउने गरेका छन्,’ उनले भने, ‘ताप्लेजुङमा रात राखेर अर्को दिन घुमाएर पाथिभरा पुर्याउने खालको प्याकेज आवश्यक पर्छ।’

व्यवसायी सुनुवार ताप्लेजुङमा अहिलेसम्म सरकारले होटल तथा पर्यटनसँग जोडेर एउटा पनि प्रशिक्षण दिन नसकेको आरोप लगाउँछन्। पर्यटकीय गतिविधि बढाउन सबैभन्दा पहिले सवारी चालकलाई प्रशिक्षण दिनुपर्ने उनको बुझाइ छ।
होटलमा लगानी गरेका व्यवसायी तनावमा
ताप्लेजुङका होटल तथा पर्यटन व्यवसायी सविन बानियाले केही वर्षभित्रै होटलमा १२ करोड लगानी गरिसकेका छन्। ८ महिना यता ताप्लेजुङमा पर्यटक कम हुँदै गएपछि उनी तनावमा छन्।
‘पाथिभराको विषयमा पर्यटकको सामाजिक सञ्जालमा राम्रै देखिन्छ, तर उपस्थिति भने कमजोर देखिएको छ’, उनी भन्छन्, ‘पाथिभरामा केवलकार बन्नु हुँदैन भन्ने आन्दोलन चलेपछि पर्यटकहरू अझ घटेका छन्।’
ठूलो सम्भावना बोकेको ताप्लेजुङको पर्यटनमा सरकारका केही नीतिसमेत बाधक भएको उनीहरूको भनाई छ। कञ्चनजङ्घा संरक्षण क्षेत्रमा ‘टि हाउस’ र होटेलहरू तथा सडकको सुविधा नहुँदा पर्यटकलाई ल्याउन र लैजान नै समस्या हुने गरेको व्यवसायी बताउँछन्।
‘संरक्षण क्षेत्रका लागि प्रवेश अनुमतिपत्र दिनुपर्छ तर अनुमति दिने निकाय खोज्दै हिड्नु पर्ने बाध्यता छ,’ बानियाँले भने, ‘यसको एकद्वार प्रणाली समेत छैन। व्यवसायीले कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालय ताप्लेजुङ बजारमा नै खुल्नुपर्ने समेत माग गरेका छन्। तर, सरकारले सुनेको छैन।’
ताप्लेजुङ होटल व्यवसायी सङ्घका उपाध्यक्ष सुरेश लिम्बूले सरकारले ताप्लेजुङ लक्षित गरी अहिलेसम्म कुनै पनि गतिविधि नगरेको गुनासो गरे। स्थानीयकै पहलमा हरेक वर्ष पाथिभरा महोत्सव पछिल्लो तीन वर्षदेखि हुँदै आएको भएपनि त्यहाँ सरकारी उपस्थिति भने नभएको लिम्बू बताउँछन्।
स्थानीयकै पहलमा श्रीजङ्गा महोत्सवले भारतीय तथा बाह्य पर्यटकलाई तान्ने प्रयास भइरहेको उनले सुनाए।
कञ्चनजङ्गा बेसक्याम्प जानका लागि स्थानीय सरकारले सामान्य प्रयास गरेको भएपनि योजना अनुसार काम नभएको व्यवसायीहरुको अनुभव छ।
केबुलकार बने व्यवसाय सुरक्षित हुने विश्वास
ताप्लेजुङका पर्यटन व्यवसायीहरूले पाथिभरामा केबुलकार बने व्यवसाय सुरक्षित हुने विश्वास लिएका छन्। लामो समयदेखि पर्यटनको क्षेत्रमा काम गर्दै आएका होटल तथा पर्यटन व्यवसायीले केबुलकारले पर्यटक पनि सुरक्षित हुने र व्यवसाय पनि सुरक्षित हुने बताएका छन्।
व्यवसायी रमेश गुरुङले सानो टिमले गरेको विरोधले देशव्यापी चर्चा पाएको तर, त्यसको नकारात्मक असर ताप्लेजुको पर्यटन क्षेत्रमा परेको बताए।
ताप्लेजुङमा पर्यटकीय सिजनमा दिनमै २७ हजारसम्म पर्यटक आएको रेकर्ड छ। तर, पाथिभरा मुकुमलुङ नो केबुलकार आन्दोलनका कारण पर्यटक घटेर दैनिक एक हजार देखि १५ सयसम्ममा झरेको व्यवसायीको गुनासो छ।
यहाँका व्यवसायी पाथिभरामा केबुलकार बने ठूलो फेदी र माथिल्लो फेदीको समस्या पनि समाधान हुने बताउँछन्।
गन्तव्यसम्म पुग्नका लागि सडक पूर्वाधार र त्यसको व्यवस्थापन हुनुपर्ने उनीहरुको माग छ। अव्यवस्थित बसोबासी ठूलो फेदी र माथिल्लो फेदीमा रहेकाले त्यसलाई व्यवस्थापन गर्नुपर्नेमा पनि स्थानीयले जोड दिएका छन्।
ताप्लेजुङमा अहिले पनि झन्डै ४० वटा ठूला होटल पर्यटक बस्ने खालका रहेको दाबी होटल एसोसिएसनको छ। साना ठूला गरी ३५० वटा होटल यहाँ सञ्चालनमा छन्।
ताप्लेजुङमा पर्यटक टिकाउनका लागि साँझ ७ बजेभन्दा पछाडि ठूलो फेदी नपठाउने र साढे तीन बजेपछि काँकडभिट्टा जाने गाडीलाई जान नदिने हो भने पनि यहाँको पर्यटन चलायमान हुने होटल व्यवसायी संघ ताप्लेजुङका उपाध्यक्ष सुरेश लिम्बुको तर्क छ।
ताप्लेजुङ विश्वमै धेरै रेडपाण्डा पाइने ठाउँसमेत हो। विश्वमा पाइने ८० प्रतिशत लालीगुराँस ताप्लेजुङमा नै फुल्ने दाबीसमेत व्यवसायी गर्छन्।
पाथीभरा (मुकुम्लुङ) मा २०८१ सालमा २ लाख २१ हजार ६०२ जना दर्शनार्थीले दर्शन गरेको तथ्यांक छ। पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ५ लाख ५६ हजार १२ रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
Shares

प्रतिक्रिया