विश्व बैंक ग्रुपअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले रथनिजा अरन्दरालाई नेपालको आवासीय प्रतिनिधिको जिम्मेवारी दिएको छ।
आईएफसी विश्व बैंक ग्रुपको एक सदस्य हो। आवासीय प्रतिनिधिमा नियुक्त रथनिजा काठमाडौंमा बस्नेछिन्।
उनले आईएफसीको पोर्टफोलियो विस्तार, नयाँ लगानीको विकास, परामर्शका अवसरहरु र संस्थाको नेपालमा प्रभावकारितालगायतमा नेतृत्वदायी भूमिका खेल्ने जनाइएको छ।
रथनिजा श्रीलंकाकी हुन्। उनी सन् २०११ देखि आईएफसीमा आबद्ध छिन्। विश्व बैंक ग्रुपमा उनको अनवरत कार्यको प्रशंसा समेत गरिएको छ। यसअघि उनले आईएफसीको दक्षिण एसियामा रहेको कन्ट्री एडभाइजरी एन्ड इकोनोमिक्स समूहमा मुख्य भूमिका निर्वाह गरेकी थिइन्। सो क्रममा उनले वित्तीय समावेशिताको विस्तार, कृषिव्यवसायको सुदृढीकरण र जलवायु लगानीमा सुधारजस्ता कार्यमा धेरै क्षेत्र र उद्योगहरुमा केन्द्रित भएर योगदान दिएको आईएफसीले जनाएको छ।
‘आईएफसी नेपालमा विकास साझेदारहरुसाग सहकार्यका लागि प्रतिबद्ध छ’, जिम्मेवारी पाएपछि उनले भनेकी छिन्।
नेपालमा खासगरी पूर्वाधार, डिजिटल सेवा, पर्यटन र वित्तीय क्षेत्रहरुमा अथाह सम्भावना रहेकाले यस क्षेत्रलाई आईएफसीले महत्त्वपूर्ण सहयोग गर्ने उनको भनाइ छ।
विश्व बैंक ग्रुपको पूर्ण रणनीतिमा आधारित भएर दिगो र समावेशी वृद्धितिर लम्किन सार्वजनिक र निजी क्षेत्रका साझेदारहरुसँग निकट भएर काम गर्ने उनको प्रतिबद्धता रहेको आईएफसीले उल्लेख गरेको छ।
विश्व बैंक ग्रुपमा जोडिनुअघि उनले पीडब्लुसी इन्डोनेसिया र स्विटजरल्यान्डको ओरेकल एजीमा काम गरेकी थिइन्।
बितेका ५ वर्षमा आईएफसीले स्वच्छ ऊर्जा, निजी स्वपुँजी, वित्त र आतिथ्य क्षेत्रहरुमा ७० करोड अमेरिकी डलरको प्रतिबद्धता जनाएको उल्लेख गरेको छ। यी लगानीले साना र मझौला उद्यमहरुलाई महत्त्वपूर्ण सहयोग मिलेको तथा हरित ऊर्जामा रुपान्तरण हुन र वित्तीय र लैंगिक समावेशितालाई प्रवर्द्धन गरेको आईएफसीले जनाएको छ।
‘गत आर्थिक वर्ष (सन् २०२४) आईएफसीका लागि कोशेढुंगा साबित भएको थियो’, आईएफसीले भनेको छ, ‘पूर्वाधार, उत्पादन, कृषि उद्यम र सेवा तथा वित्तीय संस्था समूहजस्ता तीन मुख्य सैद्धान्तिक क्षेत्रहरुमा महत्त्वपूर्ण प्रतिबद्धतासँगै प्रगति भएको थियो। यीमध्ये हरेक क्षेत्रले कम्तीमा एउटा रुपान्तरणकारी परियोजना सञ्चालन गरेको थियो। यी क्षेत्रमा कुल ८ करोड ४० लाख डलर आर्थिक प्रतिबद्धता गरिएको छ।’
Shares

प्रतिक्रिया