संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर आफ्नो ‘इगो’ पूरा गरेको बताएका छन्।
सोमबार संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले सरकारलाई तीखो टिप्पणी गरेका हुन्।
‘सरकार भएदेखि नै तपाईंहरुको सम्पूर्ण ध्यान अन्यत्रै गयो। कतिसम्म भने एउटा अड्डाको प्रमुख परिवर्तन गर्न मात्रै तपाईंहरुले दर्जन बढी निर्णय गर्नुभयो’, उनले भने, ‘महिनौँसम्म मिहिनेत गर्नुभयो। एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिङलाई हटाएरै छाड्नुभयो। ठूलो बहादुरी गर्नुभयो।’
उनले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई समेत कुलमानको समर्थन गरेको कारण हटाएको टिप्पणी गरे।
‘कुलमानलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निष्काशित गर्ने ठाउँमा पुर्याउनुभयो’, प्रचण्डले भने।
उनले वर्तमान सरकारले बिजुलीको अर्बौँ बक्यौता नतिर्नेहरुलाई खुसी पारेको समेत आरोप लगाए।
Shares

प्रतिक्रिया