सबै सरकारी निकायका वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’ राखिएको छ। सबै नागरिकका लागि सहज र समावेशी बनाउन यस्तो टुल समावेश गरिएको सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीले जानकारी दिए।
उनका अनुसार दृष्टिविहीन, न्यून दृष्टि भएका, रंग पहिचानमा समस्या भएका, पढाइसम्बन्धी कठिनाइ भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले सरकारी वेबसाइटको सामग्री अझ सहजरूपमा प्रयोग गर्न सक्ने गरी सबै सरकारी वेबसाइटमा एक्सेसिबिलिटी टुल राखिएको हो।
डिजिटल सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न तथा अपांगता भएका व्यक्तिको सूचना प्राप्त गर्ने अधिकारलाई प्रभावकारी बनाउन सरकारले यो सुविधा कार्यान्वयनमा ल्याएको हो।
अहिले सरकारी वेबसाईट खोलिसकेपछि तलपट्टी मध्यभागमा ‘एक्सेसिबिलिटी टुल आइकन’ भेटिन्छ। यो सुविधाबाट प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार वेबसाइटको स्वरूप तथा सामग्री समायोजन गर्न पाउँछन्।
‘सजिलैसँग अक्षरको आकार सानो वा ठूलो बनाउने, वेबसाइटमा रहेका अक्षर तथा शब्द र पृष्ठभूमिबीचको भिन्नता बढाएर सामग्री स्पष्टरूपमा देख्न सहयोग गर्ने जस्ता ‘टुल’हरु त्यहाँ राखिएका छन्,’ दवाडीले भने, ‘साथै विभिन्न प्रकारका रङ्ग फिल्टर प्रयोग गर्न सकिने, अक्षर तथा हरफबीचको दूरी समायोजन गर्न सकिने, फन्ट छान्न सक्नेलगायतका व्यवस्था गरिएको छ।’
वेबसाइट चलाउँदा प्रयोगकर्तालाई थप सहज बनाउन ‘माउस कर्सर’लाई सानो वा ठूलो बनाउन सक्ने, वेबसाइटका सबै तस्बिर लुकाएर अक्षरहरु मात्र पढ्न मिल्ने बनाउने, चलायमान दृश्य तथा एनिमेसन रोक्न सकिनेलगायतका सुविधा राखिएको उनको भनाइ छ।
विभागका अनुसार अन्तर्राष्ट्रिय मापदण्डका रुपमा रहेको ‘वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाईन’ (डब्ल्युसीएजी) अनुरुप विकास गरिएका यी वेबसाइटहरू किबोर्डको प्रयोगबाट मात्र पनि सहज रुपमा सञ्चालन गर्न सकिने छ।
सरकारी वेबसाइटहरुमा राखिएको ‘स्किप नेभिगेसन’ लिंकको व्यवस्थाले किबोर्ड तथा स्क्रिन रिडर प्रयोगकर्तालाई सिधै मुख्य विषयवस्तुमा पुग्न सहयोग पु¥याउँछ भने महत्वपूर्ण तस्बिर, लोगो तथा सेवासम्बन्धी सामग्रीमा रहेको ‘अल्ट टेक्स्ट’ले दृष्टिविहीन प्रयोगकर्तालाई सामग्री बुझ्न अत्यन्त सहज बनाएको विभागले जनाएको छ।
यसै गरी फारम भर्ने क्रममा देखिने त्रुटि सन्देश (इरर म्यासेज) र सुझावहरू सजिलै सुन्न र बुझ्न मिल्ने गरी वेबसाइटहरू तयार पारिएको विभागले जनाएको छ। ‘सर्च तथा सम्पर्क फारामजस्ता ‘इनपुट’ क्षेत्रमा स्पष्ट नाम र संकेतहरू राखिएकाले ‘स्क्रिन रिडर’ प्रयोगकर्तालाई थप सहज हुनेछ,’ सूचना अधिकारी दवाडी भन्छन्, ‘किबोर्ड प्रयोगकर्ताले आफू वेबसाइटको कुन स्थानमा छु भन्ने स्पष्ट रूपमा थाहा पाउन सक्ने छन्।’
Shares

प्रतिक्रिया