कारोबार


हितेन्द्रले ल्याएको प्राधिकरणको श्वेतपत्रमा यी हुन् कुलमानले उल्लेख गरेभन्दा फरक तथ्यांक

हितेन्द्रले ल्याएको प्राधिकरणको श्वेतपत्रमा यी हुन् कुलमानले उल्लेख गरेभन्दा फरक तथ्यांक

हितेन्द्रदेव शाक्य र कुलमान घिसिङ


नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १८:४१, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सार्वजनिक गरेको श्वेतपत्रमा कुलमान घिसिङले उल्लेख गरेका तथ्यांक भन्दा फरक रहेका छन्। 

शुक्रबार शाक्यले सार्वजनिक गरेको तथ्यांकमा विद्युतको पहुँच, दैनिक सञ्चालन खर्च, नाफा लगायतका विषयमा केही फरक रहेको हो। 

श्वेतपत्रमा विद्युतको पहुँच ९७.५ प्रतिशत पालिकाहरुमा र ९५ प्रतिशत वडाहरुमा पुगेको उल्लेख गरेको छ। घरसंरचनाको आधारमा ९१.४१ प्रतिशत र परिवार संख्याको आधारमा ८४.६२ प्रतिशत विद्युतीय करण भएको उल्लेख छ। प्राधिकरणका कुल ५५ लाख ८६ हजार ग्रहाक रहेको उल्लेख गरिएको छ।

सरकारले बर्खास्त गरेका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले ९९ प्रतिशत भन्दा बढी जनतामा विद्युतको पहुँच पुगेको उल्लेख गरेका थिए। उनले कार्यभार सम्हाल्दा करिव ५८ प्रतिशत जनताले मात्र विद्युत उपभोग करिब सतप्रतिशत पुग्न लागेको दाबी गरेका थिए। 

विद्युत चुहावटको तथ्यांकमा स्वयतपत्र र कुलमानले दाबी गरेको तथ्यांकमा केही फरक परेको छ। 

कुलमानले २०७२/७३ मा करिव २६ प्रतिशत विद्युत प्रणालीको चुहावट रहेकोमा आव २०८०/८१ मा १२.७३ प्रतिशत कायम गर्न सफलता प्राप्त भएको छ। यसले गर्दा प्राधिकरणको वित्तीय अवस्था सुधार गर्न ठूलो योगदान पुगेको दाबी गरेका थिए। श्वेतपत्रका अनुसार २०८१ माघ मसान्तसम्म प्रसारण प्रणालीमा ३.३८ प्रतिशत र वितरण प्रणालीमा ९.२१ चुहावत निर्यातसहितको रहको उल्लेख गरिएको छ।

श्वेतपत्र सार्वजनिकीकरण कार्यक्रम

निर्यात विद्युतको परिमाण समावेस गर्दा प्रणालीको वास्तविक चुहावटलाई संकेत गर्न नसक्ने सम्भावना रहेकाले विद्युत निर्यातलाई उत्पादन र विक्री दुवैबाट घटाउँदा खुद आन्तरिक चुहावट १४.८५ प्रतिशत रहेको उल्लेख छ। 

कुलमान घिसिङले आ.व २०७२/०७३ सम्म प्राधिकरणको सञ्चित घाटा करिब  ३५ अर्ब रहेको आ.व २०७३/७४ बाट निरन्तर नाफामा ल्याई सञ्चित घाटा पूर्ति गरी आ.व २०८०/८१ सम्ममा सञ्चित नाफा करिब  ४७ अर्ब पुगेको दाबी गरेका थिए। हितेन्द्रदेव शाक्यले सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको देखाएका छन्।

प्राधिकरणको सेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड, संञ्चित नाफा ४६ अर्ब ४७ करोड र जगेडा तर्फ ५ अर्ब ८९ करोडगरी २ खर्ब ५९ अर्ब १० करोड रुपैयाँ रहेको श्वेतपत्रमा उल्लेख छ। आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको उल्लेख छ। 

आर्थिक वर्ष २०७२/०७३ मा प्राधिकरणको कुल सम्पत्ति करिब २११ अर्ब रहेकोमा हाल करिब ६४४ अर्ब पुगेको कुलमानले उल्लेख गरेका थिए। श्वेतपत्रमा पनि कुल सम्पत्तिको तथ्यांक एउटै छ। 

आ.व २०७२/७३ मा प्रति व्यक्ति विद्युत खपत करिब १३१ युनिट रहेकोमा हाल प्रति व्यक्ति विद्युत खपत बृद्धि भैइ करिब ४०० युनिट पुगेको बताइएको छ। श्वेतपत्रमा चुहावटसहितको कुल राष्ट्रिय विद्युतको मागको आधारमा प्रतिव्यक्ति विद्युत खपत ४०० किलोवाट आवर रहेको छ भने चुहावट बाहेकको कुल विद्युत बिक्रीको आधारमा प्रतिव्यक्ति विद्युत खपत ३५१ किलोवाट आवर रहेको छ। 

श्वेतपत्रमा चालु आर्थिक वर्षको फागनु मसान्तसम्म भएको ठेक्का पट्टा अन्तगर्त भुक्तानी हुन बाँकी बिलहरुको परिमाण ११ अर्ब ६१ करोड रुपैयाँ रहेको दिन नसकेको उल्लेख छ। विद्युत प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रकम मध्ये डलर र नेरु मुद्दती खातामा ३ अर्ब ६८ करोड र धरौटी खातामा ३ अर्ब ९५ करोड रहेको छ। २ अर्ब ४७ करोड चालु खातामा रहेको बताइएको छ, जुन दैनिक सञ्चालनको लागि न्यूतनम जगेडा हो। 

निर्माण कार्यको भुक्तानीकालागि १० अर्ब अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढेको बताएका छन्। 

प्राधिकरणले आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ करोडगरी २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋण रहेको छ। यो कुल सम्पत्तिको करिब ३९ प्रतिशत हो। प्राधिकरणको कुल दायित्व ३ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ। 

डेडिकेटेड र ट्रकलाइनको दायित्व २३ अर्ब ४४ करोड रुपैयाँसहित फागुनसम्म बक्यौता ४४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मन्त्रालयसंगको कार्यसम्पादन सम्झौता अनुसार श्वेतपत्रका आधारमा प्रगति वा अवन्नती देखाउन मद्दत पुग्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad