कारोबार


पाँच अर्बभन्दा बढी बजेट अर्थमै फिर्ता, ऊर्जा मन्त्रालय र एमसीए नेपालको सबैभन्दा बढी

पाँच अर्बभन्दा बढी बजेट अर्थमै फिर्ता, ऊर्जा मन्त्रालय र एमसीए नेपालको सबैभन्दा बढी

रासस
बैशाख १४, २०८२ आइतबार १३:१८, काठमाडौँ

चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायले पाँच अर्बभन्दा बढी बजेट फिर्ता गरेका छन्। 

अर्थ मन्त्रालयका अनुसार चालूभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ।

निकायगत रुपमा विश्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) को बजेट फिर्ता सबैभन्दा बढी छ।

अर्थ मन्त्रालयका सूचना अधिकारी अम्बिकाप्रसाद खनालका अनुसार चालूतर्फ पाँच करोड ३४ लाख र पुँजीगततर्फ पाँच अर्ब तीन करोड ८१ लाख बराबर बजेट फिर्ता भएको छ। चालूतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ९५ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३९ लाख, निर्वाचन आयोगले दुई करोड ४२ लाख र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक करोड ५८ लाख बजेट फिर्ता गरेको हो।

पुँजीगततर्फ सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुई अर्ब ३५ करोड ३४ लाख फिर्ता गरेको छ। एमसीए–नेपालले दुई अर्बबराबर बजेट फिर्ता गरेको खनालले जानकारी दिए। पुँजीगततर्फ बजेट फिर्ता गर्ने अन्य निकायमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३६ करोड ७८ लाख, परराष्ट्र मन्त्रालयले ३० करोड र महालेखा परीक्षकको कार्यालयले एक करोड ६१ लाख फिर्ता गरेका छन्।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्थाअनुसार कुनै योजना तथा कार्यक्रममा विनियोजित बजेट फागुन मसान्तभित्र खर्च हुन नसकेमा र आर्थिक वर्षको बाँकी अवधिमा पनि खर्च गर्न नसक्ने अवस्था भएमा चैत १५ गतेभित्र अर्थ मन्त्रालयमा फिर्ता गरिसक्नुपर्ने प्रावधान छ।

गत वर्ष ७० प्रतिशत बजेट फिर्ता गरेको एमसीए–नेपालले यस वर्ष करिब ५८ प्रतिशत बजेट फिर्ता गरेको छ। अमेरिकी सरकारको अनुदान सहयोगमा सञ्चालित यो परियोजनामा अमेरिकी सहयोग निरन्तर हुन्छ वा हुँदैन भन्ने अन्योल छ भने यो परियोजनाका निम्ति सरकारले छुट्याएको बजेट खर्च नहुने स्थिति छ।

चालू आर्थिक वर्षका लागि एमसीए–नेपालले रु १३ अर्ब ३६ करोड बजेट पाएको थियो। उक्त रकममध्ये नौ अर्ब ९० करोड मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट अनुदान लिइने र बाँकी रु तीन अर्ब ४५ करोड १८ लाख आन्तरिक स्रोतबाट व्यहोर्ने अनुमान गरिएको थियो। तर एमसीए–नेपालले बजेट खर्च  नगरेपछि आन्तरिक स्रोतबाट व्यहोर्ने भनिएको रकममा पनि करिब ५८ प्रतिशत बजेट अर्थ मन्त्रालयलाई फिर्ता गरिएको छ।

चालू आर्थिक वर्षमात्र नभई गत आर्थिक वर्षमा पनि एमसीए नेपालको खर्च निकै कमजोर थियो। एमसीए–नेपालले गत आर्थिक वर्षका लागि पाएको कुल बजेटको करिब ३० प्रतिशत मात्रै खर्च गरेपछि बाँकी ७० प्रतिशत बजेट फिर्ता गरेको थियो। एमसीए नेपालअन्तर्गतका परियोजनामा खर्च गर्ने गरी गत आर्थिक वर्षका लागि सरकारले १० अर्ब ८४ करोड १७ लाख बजेट विनियोजन गरेकामा सात अर्ब ६० करोड ७० लाख फिर्ता गरिएको थियो। विद्युत् प्रसारणलाइन निर्माणका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा वितरण र अधिग्रहणको काम सुस्त भएपछि लक्ष्यअनुसार बजेट खर्च हुन नसकेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad