कारोबार


बैंकहरूले उठाउन सकेनन् यी क्षेत्रको ऋण

बैंकहरूले उठाउन सकेनन् यी क्षेत्रको ऋण

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १४:२, काठमाडौँ

मुख्यतः तीन क्षेत्रमा प्रवाह भएको कर्जा असुलीमा समस्या देखिँदा बैंकहरूको खराब कर्जा बढिरहेको देखिएको छ।

राष्ट्र बैंकले गरेको आर्थिक वर्ष २०२३/२४ को कर्जा प्रवाह र ऋण असुलीमा लक्षित विश्लेषणात्मक अध्ययनले यस्तो देखाएको हो। 

सोअनुसार तीन क्षेत्रहरू निर्माण, कृषि र मत्स्यपालनमा गएको ऋण असुलीमा धेरै समस्या देखिएको छ। 

अहिले बैंक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा ५ प्रतिशतमाथि पुगिसकेको छ। गत आर्थिक वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरूले ऋण असुलीमा समस्या भोग्दै आएका हुन्।

झण्डै दुई वर्षसम्म ऋण असुलीमा सुधार नआउँदा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा इतिहासकै सबैभन्दा उच्च अवस्थामा पुगेको हो।

अध्ययनअनुसार निर्माण क्षेत्रमा मात्रै ७.२८ प्रतिशत कर्जा खराब कर्जामा गणना भएको छ। यसबाहेक मत्स्यपालनमा कुलमध्ये ६.६५ प्रतिशत र कृषि क्षेत्रमा ६.२२ प्रतिशत कर्जा खराब कर्जामा गणना भएको छ।

सरकारले निर्माण व्यवसायीको भुक्तानी रोकेको भन्दै सो क्षेत्रबाट ऋण उठेको थिएन। यसले खराब कर्जामा सन् २०२३/२४ मा निर्माण क्षेत्र अगाडि देखिएको थियो। सोही कारण राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिबाट यस क्षेत्रका ऋणीहरूलाई ऋण तिर्ने भाखा मंसिरसम्म बढाइदिनुका साथै कर्जा नतिरेकै आधारमा चेक बाउन्स नगर्ने तथा कालोसूचीमा समेत नराख्ने निर्णय गरेको थियो। 

यसलाई राष्ट्र बैंकले दोस्रो मौद्रिक समीक्षामा हटाएर अन्य ऋणीसरह राखिदिएको छ। यद्यपि गत चैत २७ गते राष्ट्र बैंकले निर्माण क्षेत्रको कर्जा असुल्नका लागि कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्नसक्ने सुविधा दिएको छ। बैंक तथा वित्तीय क्षेत्रले ऋण असुली गर्न नसकेपछि ऋणीलाई पुनर्तालिकीकरणको सुविधा दिएरै भए पनि कर्जा असुल्न राष्ट्र बैंक आफैँ लागेको हो। 

राष्ट्र बैंकले असारसम्म निर्माण क्षेत्रका ऋणका पुनर्तालिकीकरण गर्न सक्ने साथै सो अवधिमा बैंक तथा वित्तीय संस्थाले पेनाल ब्याजसमेत लिन नपाउने सुविधा दिएको छ। राष्ट्र बैंकले २०८१ साउनयताको खराब कर्जाको अवस्था भने खुलाएको छैन।

चालू आवको तेस्रो त्रैमासिकमा आइपुग्दा बैंक तथा वित्तीय क्षेत्रको खराब कर्जा औसतमा ५ प्रतिशत पुगिसकेको छ। निर्माण क्षेत्रबाट कर्जा असुुली गर्न नसकेपछि पुनः छुटको व्यवस्था ल्याइसकेको हुनाले यो क्षेत्रको खराब कर्जा घटेको छैन।

योबाहेक ऋण असुल्न नसकेको अर्को दोस्रो ठूलो क्षेत्र मत्स्यपालन शीर्षकमा लगिएको ऋण छ। यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको ऋणको ६.६५ प्रतिशत ऋण खराब कर्जामा गणाना भएको छ भने कृषिमा ६.६२ प्रतिशत छ। 

बैंक तथा वित्तीय संस्थाहरूबाट राष्ट्र बैंकले कृषि तथा पशुपक्षी कर्जासहितका १० प्रकारका कर्जामा सहुलियत ऋणको व्यवस्था गरेको थियो।

तर गत वर्ष जेठमा राष्ट्र बैंकले सहुलियत कर्जा प्रवाह र त्यसको सदुपयोगको स्थितिमा गरेको अध्ययनमा कर्जा दुरुपयोग भएको फेला पारेको थियो। 

खराब कर्जा कृषि क्षेत्रमा देखिएपछि सो अध्ययन गरेको बैंकले कृषिसहितका सहुलियतपूर्ण क्षेत्रमा कुल प्रवाह भएको कर्जाको ७ प्रतिशत कर्जा दुरुपयोग भएको निष्कर्ष निकालेको थियो।

सहुलियतपूर्णसहितका कर्जाहरूमा पनि दुरुपयोग बढ्नुले कृषि, मत्स्यपालनलगायत क्षेत्रमा खराब कर्जा बढाएको प्रतिवदेनमा उल्लेख छ। 

राष्ट्र बैंकले वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा कुल ऋणको १५ प्रतिशत, ऊर्जा क्षेत्रमा १० प्रतिशत, साना तथा मझौला व्यवसायलाई १५ प्रतिशत ऋण अनिवार्य दिनुपर्ने व्यवस्था गरेको थियो भने विकास बैंक र वित्तीय संस्थाहरूले पनि यी क्षेत्रमा अनिवार्य ऋण प्रवाह गनुपर्ने व्यवस्था गरेको थियो। 

योबाहेक धातु उत्पादन तथा प्रशोधन, मेसिनरी तथा विद्युतीय सामान उत्पादन क्षेत्रमा ६.०९ प्रतिशत र होलसेल तथा खुद्र व्यापार क्षेत्रमा सोही हाराहारीमा खराब कर्जा रहेको उल्लेख गरेको छ।

यो पनि- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad