कारोबार


नेपालको नाङीमा जुध्यो पहिलो नजर, अनि फक्रियो जेनी र जेसनको प्रेम

नेपालको नाङीमा जुध्यो पहिलो नजर, अनि फक्रियो जेनी र जेसनको प्रेम

अस्ट्रेलियाका जेसन र बेलायतकी जेनी (जेनी ओ'सलिभन)


फ्रान्सेस्का स्ट्रिट
बैशाख ४, २०८२ बिहिबार १४:५३, काठमाडौँ

जब नाङीमा जेनी म्याकगोवनको दैलो हुँदै जेसन ओ‘सलिभनका पाइला अघि बढे, उनले विश्वासै गर्न सकिनन्।

नाङी नेपालको हिमालमुनिको एउटा सानो गाउँ हो। 

‘म कसैलाई हेरिरहेकी थिइनँ। हिमालहरुको बीचमा उभिएको पहाडको टुप्पोमा हामी कसलाई भेट्छौँ र?’, जेनी भन्छिन्। 

सन् २०१२ को वसन्त ऋतुको समय। २१ वर्षकी विद्यार्थी जेनी। 

दक्षिण एसियामा केही हप्ताका लागि अंग्रेजी पढाउन कलेजले जुटाइदिएको अवसर सदुपयोग गर्दै नेपाल पुगेकी थिइन् उनी। 

त्यतिखेर विद्यालयमा स्वयंसेवी उनीसँगै साथी र समकक्षीहरु ब्रिट, बोनी पनि थिए। 

जब जेनी र बोनी नाङीमा आइपुगे। एक अस्ट्रेलियाली परिवार पनि आफ्ना सन्तानसँगै स्वयंसेवाकै लागि आइपुग्ने उनीहरुले सुनेका थिए। 

जेनी अरु स्वयंसेवीबारे त्यति ध्यान र चासो दिइरहेकी थिइनन्। बरु उनलाई नाङीको आकर्षक उच्च पहाडी भूगोलले तानिरहेको थियो।

समुद्री सतहभन्दा २ हजार २६० मिटरमाथिको यो गाउँ अन्नपूर्ण हिमशृंखलाको बीचतिर पर्छ। जेनी फरक संस्कृति र जीवनको बाटोमा हराइरहेकी थिइन्। स्थानीय समुदायसँग घुल्दै थिइन्। 

‘निकै चिसो थियो’, उनी सुनाउँछिन्, ‘बिहान ब्युँझिँदै गर्दा देखिने अन्नपूर्ण धेरै सुन्दर थियो। र म कसरी अंग्रेजी सिकाउने भन्नेमा केन्द्रित थिएँ।’ 

राति जेसन नाङीमा आइपुगे। 

‘त्यस रात बिजुली थिएन, किन कि ठूलै हुरीबतास चलिरहेको थियो’, उनी सुनाउँछिन्। 

जेनी र उनकी साथी बोनी स्वयंसेवी बस्ने टहरोमा मैनबत्तीको उज्यालोमा बसिरहेका थिए। त्यतिखेरै जेसनका पाइला उनीहरुको दैलो हुँदै अघि बढे। 

अग्लो कदका जेसन २० को दशकमा हिँडिरहेका अस्ट्रेलियन युवा थिए। उनको उपस्थिति कल्पनाबाहिरको थियो। 

जेनी र उनकी साथीलाई पत्यार लागिरहेको थिएन। 

‘हामीलाई एक अस्ट्रेलियाली परिवार, एक आमा, बुबा र दुई किशोरहरु आउने भनिएको थियो। तर एक आमा, बुबा, दुई किशोरी र उनीहरुका जवान भतिज आएका थिए’, जेनीले सम्झिइन्। 

जेसन त्यही जवानमध्ये एक थिए। ब्रिस्बेनका एक इलेक्ट्रिसियन जसले भर्खरै यससम्बन्धी प्रशिक्षण सकेका थिए। जेसनका काकाले केही महिनाका लागि नेपाल जाने योजना बनाएका थिए। यसले उनलाई पनि नेपालमा केही विद्युतीय मर्मतका काम गर्न मन लागेको थियो। उनले परिवारसँग नेपाल जाने निर्णय लिएको सुनाएका थिए। 

‘उनीहरु मेलबर्नबाट उडे, म ब्रिस्बेनबाट’, जेसन सुनाउँछन्, ‘हामी हङकङमा भेट्यौँ र त्यसपछि सँगै काठमाडौं उड्यौँ।’

काठमाडौं आएपछि जिप लिएर पोखरा पुगेका उनीहरु त्यहाँ केही रात बिताएपछि अर्को जिप लिएर बेनी पुगेका थिए। त्यसपछि फेरि जिपबाट नाङीसम्म पुगेका थिए। 

नाङीसम्मको पानी परेको बेला भएको यात्रा डरलाग्दो रहेको जेसन सुनाउँछन्। 

उनी अँध्यारोमा स्वयंसेवी टहरोतर्फ जाँदै गर्दा जेनीले मैनबत्तीको उज्यालोमा जेसनको थोरै अनुहार देखेकी थिइन्। उनीहरुको आँखा जुध्यो। विस्तारै अनुहार हेर्दै गर्दा जेसनको मुहारमा आफू पाएको कल्पना गरिन्। 

‘मैले मान्छे हेर्नेबारे सोचेकै थिइनँ’

‘तिमीले मलाई हेर्ने सोचेकै थिएनौ!’ 

‘अहँ, साँच्चै थिइनँ।’ 

वास्तवमा जेसनले नेपालसँगको अपेक्षाबारे केही सोचेका थिएनन्। 

‘मलाई के काम दिइन्छ भन्ने नै थाहा थिएन’, जेसन भन्छन्, ‘यो निकै अन्योलग्रस्त थियो। त्यसपछि हामीले त्यो रात बितायौँ। सबै कुरा अवास्तविक थियो किन कि हामी केही दिनका लागि पुगेका थियौँ, कुनै सानो गाउँमा ...’ 

जेनी भोलिपल्टको पहिलो बिहान जेसनसँगै थिइन्। निकै आश्चर्यचकित र दुविधाग्रस्त। 

केही अनौठो उत्साह भइरहेको थियो। 

‘अत्यन्त उत्साहित’, उनको स्वीकारोक्ति छ, ‘ऊ साँच्चै मैजस्तो थियो– अग्लो, चौडा शरीर। मलाई ऊ को हो जस्तो लागिरहेको थियो।’  

अर्को दिन जेसनकी सानी भतिजीबारे थाहा पाउँदै थिइन्। उनीहरु राम्रा थिए। खेल्दै आनन्द लिइन्। यही मौकामा उनीहरुबारे थप चासो राखिन्। 

‘मैले उनीहरुसँग जेसनको उमेर सोधेँ। उनीहरुले भने– जेसन २६ वर्षका भए। तर केटी साथी छैनन्। अब त बिहे गर्ने बेला पनि भयो’, जेनी सम्झिन्छिन्। 

जेसनबारे राम्रो सूचना पाएको महशुस गरिन्। 

जेसनलाई भने जेनीमा अलि बढी उत्सुकता जागेजस्तो लागिरहेको थियो। 

नेपालमा भेटेको प्रेम 
त्यसको केही दिनपछि जेनी र जेसन दुवैलाई एकअर्काका लागि नै भेट भएजस्तो लाग्न थाल्यो। 

‘गाउँका केटाकेटीहरुसँग खेल्दै रमायौँ’, उनी सम्झिन्छिन्। 

दिउँसो जेसनले विद्यालयको विद्युतीय मर्मतका काम गरे भने जेनीले अंग्रेजी पढाइन्। साँझ उनीहरुले सँगै बसेर साथी बोनीको ल्यापटपमा फिल्महरु हेरे। 

‘साँच्चै रमाइलो थियो’, उनी भन्छिन्, ‘तर त्यहाँ त्यस्तो रोमान्टिक लाग्ने केही थिएन।’ 

किनभने जेनीकी साथी बोनी पनि सँगै हुन्थिन्। बोनी प्रायः जस्टिन बिबरको गीत बजाइरहन्थिन्। बिबरको चर्चित ‘बोयफ्रेन्ड’ गीत भर्खरै सार्वजनिक भएको थियो। 

‘उनी एकपछि अर्को गरी गीत बजाइरहन्थिन्। दुवैलाई मन पनि पथ्र्यो’, उनी थप्छिन्, ‘त्यसो त जेसनलाई भने मन पर्दैनथ्यो। त्यही भएर पनि हामी यही गीत सुनिरहन्थ्यौँ।’ 

जेनी र जेसनको बीचमा केही त पक्कै थियो तर जेनी जेसनले के सोच्दै छ भन्नेबारे निर्धक्क थिइनन्। एकपटक उनले बोनी सुतेपछि डरलाग्ने फिल्म हेर्दै दुई जना अबेरसम्म बस्ने संकेत गरिन्। तर जेसनलाई त्यस्ता फिल्म मन पर्दैनथ्यो। ऊ पनि सुत्न गयो। 

बेलायत फर्किनु केही हप्ता मात्र बाँकी थियो। 

स्वयंसेवी टहरोमा एउटा पर्खाल थियो जहाँ फर्किने स्वयंसेवीहरुले अन्तिम सन्देश लेख्न सक्थे। त्यहाँ आफ्नो इमेल पनि लेख्न सकिन्थ्यो। जेनीले आफ्नो सन्देश लेखिन्। त्यसमा इमेल ठेगाना पनि छाडिदिइन्। योचाहिँ जेसनले साँच्चै उनीसँग नजिक नै रहन चाहेमा सम्भव होस् भनेर थियो। 

दक्षिणपश्चिम इंग्ल्यान्डको ब्रिस्टोलस्थित घरमा फर्किँदै गर्दा नेपालको छुट्टै सांस्कृतिक माहोलले थोरै आश्चर्यभावमा थिइन् जेनी। उनले विद्यालय, केटाकेटीहरु र त्योभन्दा धेरै जेसनबारे सोचिरहेकी थिइन्। 

‘एक/दुई हप्ता त मैले उसबाट केही सन्देश पाइनँ’, उनलाई याद छ, ‘त्यसपछि अचानक जेसनको इमेल आयो।’

एकछिन त जेसन ओ‘सलिभन को हो भन्ने भयो। किनभने नेपालमा उनीहरुले एकअर्काको पूरा नाम नै थाहा पाएका थिएनन्। 

तर उनले चाँडै इमेलको रिप्लाई गरिन्। त्यसपछि दुवै नियमित इमेल आदानप्रदानमा लागे। दैनिक सन्देश–च्याट हुनथाल्यो। चासो बढ्न थाल्यो। नेपालमा नगएको भए यी दुईबीच भेट पनि हुने थिएन। 

‘त्यसको केही महिनापछि मैले उसलाई तिमीसँग स्मार्टफोन छ? छ भने ह्वाट्सएप डाउनलोड गर, त्यसपछि हामी सजिलै च्याट गर्नसक्छौँ भनेँ’, जेनी सम्झिन्छिन्। 

त्यो भनेको केही दिनसम्म जेनीले जेसनको रिप्लाई पाइनन्। त्यो नपाउँदा उनलाई कस्तो कस्तो लागिरहेको थियो। तर केही दिनपछि जेसनले इमेल पठाए–  

‘ओके, मसँग अब स्मार्टफोन छ। अब के गरुँ ?’ 

उनले स्मार्टफोन किनेर ल्याएपछि जेनीले रिप्लाई पाएकी थिइन्। 

सन् २०१२ मा अहिलेजस्तो स्मार्टफोन छ्यासछ्यासती भइसकेको थिएन। जेनीले जेसनलाई आफूले २१औँ शताब्दीमा ल्याइदिएको भनेर ठट्टा पनि गरिन्। यता जेसन पनि आफ्नो पहिलो एप डाउनलोड जेनीकै कारण भएको बताउँछन्। 

यी दुईले त्यसको केही महिनापछि पहिलोपटक भिडिओमा कुराकानी गरे। नयाँ प्रविधिको प्रयोगलाई बढाए। 

त्यसपछि सेप्टेम्बरको समय थियो। नेपालमा सँगै बसेको समय धेरै टाढा भइसकेको थियो। 

जेनीलाई कतै मसँग भर्चुअल कुरा गर्ने जेसन नै होइनन् कि भन्ने चिन्ता बढ्नथाल्यो। 

‘तर हामी स्काइपमा कुरा गर्न थाल्यौँ’, उनी भन्छिन्, ‘चाँडै त्यो पनि दैनिक हुनथाल्यो।’ 

उनीहरुको सम्बन्ध केवल मित्रतामात्रै थिएन। जेनीलाई जेसन मन पर्न थालिसकेको थियो। उनीप्रति सोच्न थालिसकेकी थिइन्। जेसन पनि उनलाई बारम्बार इमेल पठाउन थालिसकेका थिए। 

त्यसपछि एक दिन उनले आफूले बेलायतमा डेट जानलागेको सुनाइन्।

जेसनलाई पत्यार लागेन। उनले डेट खराब भएको होस् भन्दै म्यासेज पठाए। 

‘किन?’, जेनीले सोधिन्। 

‘किनभने म तिमीलाई मन पराउँछु’, जेसनले भने, ‘साथीभन्दा धेरै!’

जेनीले जेसनका लागि आफ्नो सोचाइबारे आमा र दिदीलाई भनिन्। उसले के भन्ला भन्नेबारे पनि सुनाइन्। उनीहरुले अघि बढ्न हौसला दिए। तर जेनी जेसन कति टाढा छ भन्नेबारे सचेत थिइन्। 

‘त्यो बेला त मैले सँगै हुनेबारे सोचेको पनि थिइनँ’, उनी थप्छिन्, ‘किन कि दुई जना संसारको विपरीत भागमा थियौँ र मैले अस्ट्रेलिया जानेबारे विचारै गरेको थिइनँ। घुम्न चाहेको ठाउँ पनि थिएन। मलाई त अंग्रेजी पढाउने धोको मात्र थियो। र, म साँच्चै ‘ठीक छ उनीहरु यसअघि नै अंग्रेजी बोल्न सक्छन्’ भन्ने सोच्थेँ। म यसकै लागि संसार घुम्न चाहिरहेको थिएँ। त्यसकारण त्यता जाने सोच थिएन।’ 

त्यसपछिको विदाको समयमा उनीहरुले बेलायतको चर्चित सांगीतिक उत्सव ग्लास्टनबरी फेस्टिभलको टिकट लिए। त्योसँगै एउटा योजना बन्यो। उक्त फेस्टिभलमा जेसन पनि २०१३ को वर्षायाममा आउने भयो। 

ग्लास्टनबरीभन्दा केही महिनाअघि सन् २०१३ मेमा जेसन बेलायततर्फ लागे। त्यहाँ केही महिना जेनीसँगै रहने उनको योजना थियो। 

‘सबै मेरा साथीहरु भने केही दिन मात्र चिनेको साथीसँग यति धेरै समय बस्न नहुने भनिरहेका थिए’, जेनी भन्छिन्। 

उनले साथीहरुलाई जेसन अपरिचित मान्छे नभएको भन्दै सम्झाइन्।  

हरेक दिनजसो स्काइपमा बोलिरहेकाले जेनीलाई यस्तो लागेको थियो। 

बेलायतमा भेट अनि अस्ट्रेलियाको निर्णय 
२०१३ मेमा लन्डनको हिथ्रो विमानस्थलमा जेसन आइपुगे। उनीसँग जेनीको ब्रिस्टलको ठेगाना फोनमा थियो। 

‘मलाई याद छ, लन्डनबाट ब्रिस्टोलको बस चढेँ र बस टर्मिनल छोडेपछि त्यही ठेगानामा ट्याक्सीबाट गएँ’, जेसन सम्झिन्छन्, ‘र, मैले देखेँ– उनी झ्यालबाट हेरिरहेकी थिइन्।’ 

जेसनले ढोका ढकढक्याए। जेनी तल आइन् र खोलिन्। 

‘मेरो पहिलो शब्द नै मैले सम्झेभन्दा चहकिलो छौ’, उनले सम्झिए। 

त्यो क्षण कस्तो कस्तो लागेको बताउँछन् जेसन। त्योचाहिँ किनभने १ वर्षअगाडि एकपटक मात्र भेटेको कसैलाई उनी आँखैअगाडि देखिरहेका थिए। 

जेनीलाई पनि त्यस्तै लागिरहेको थियो। उनी जेसनसँगको पुनर्मिलनलाई पत्याइरहेकी थिइनन्। 

बेलायतमा जेसनले जेनीसँग ९ महिना बिताए। अपार्टमेन्ट भाडामा लिए। दुवैले काम गरे। विदाको समय युरोप घुमे। त्यसपछि ग्लास्टनबरी म्युजिक फेस्टिभलको मज्जा लिए। 

त्योसँगै जेनी पनि केही समयको लागि जेसनसँगै अस्ट्रेलिया जाने भइन्। 

दुवैलाई एकअर्काको सम्बन्ध लामो समय जाने महशुस भयो। 

जेसनले २०१४ फेब्रुअरीमा बेलायत छाडे। त्यसको १ महिनापछि जेनी पनि ब्रिस्बेनतिर लागिन्। अस्ट्रेलिया जाने निर्णय जेनीका लागि निकै भावुक थियो। 

उड्ने अघिल्लो दिन जेनी आफ्नो लिभिङ रुमको भुइँमा आमासँगै थिइन्, उनीहरुको अगाडि एउटा खाली सुटकेस थियो। 

जेनीका आँखा रसाइरहेका थिए। तर उनले त्यसअघि नै निर्णय लिइसकेकी थिइन्। 

अस्ट्रेलियामा उनको कोही साथी थिएनन्। चिनेको, जानेको भनेकै एक जना थिए– जेसन। ऊसँगको बसाइ कस्तो होला भन्ने थियो। उनी कहिल्यै त्यहाँ गएको पनि थिइनन्। 

आमाले जेनीलाई जान उत्साहित गरिन्। त्यसपछि उनी राजी भइन्। अस्ट्रेलिया आएको निकै पछि उनले सोचिन्– आफूले गरेको निर्णय सही रहेछ ! 

‘हाम्रो पहिलो भेट २०१२ अप्रिल ६ मा भएको थियो, २०१५ अप्रिल ६ मा जग्गा किन्यौँ र त्यसपछि २०१८ अप्रिल ६ मा विवाह गर्‍यौँ’, जेनीले खुलाइन्। 

‘हिमाली गाउँमा भेट्यौँ र विवाह पनि हिमालकै छेउमा गर्‍यौँ’, जेसनले थपे।

आज जेनी र जेसन ब्रिस्बेनमा बस्छन्। दुवै काम गर्छन्। उनीहरुका साना दुई सन्तान छन्। बेला–बेला बेलायत पनि आइरहन्छन्।

२०१७ अप्रिलमा उनीहरु भेटको ५ वर्ष पुगेको अवसरमा पुनः नेपाल आएका थिए। तर नाङीसम्म भने पुग्न सकेनन्।

तर उनीहरुलाई फेरि नाङी पुग्ने धोको छ।

‘र, एक दिन हामी हाम्रा सन्तानसँगै नाङी पुग्नेछौँ’, जेसन भन्छन्, ‘त्यो क्षण निकै राम्रो हुनेछ।’ सीएनएनबाट भावानुदित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad