कारोबार


चन्द्र ढकाल भन्छन्- आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ

चन्द्र ढकाल भन्छन्- आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ

नेपालखबर
चैत २८, २०८१ बिहिबार १३:३७, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभामा उनले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्बाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने बताएका हुन्। 

अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरुको साझा धारणा बनाउनुपर्नेमा अध्यक्ष ढकालले जोड दिए।

उनले भने, “अर्थतन्त्रलाई कुनै पनि वादले बिथोल्नु हुँदैन। यसलाई सबैभन्दा माथि राख्नुपर्छ। मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो। त्यसका लागि पैसा, बुद्धि, विवेक र सीपको लगानी गर्नुपर्छ। त्योभन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ। जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ।” 

विगतमा सरकारले चाहिनेभन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र संकुचन भएको उल्लेख गर्दै उनले त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको धारणा बताए।

‘म निराशा हैन आशा छर्न चाहन्छु। अवस्था सुधारोन्मुख छ। तर हाम्रा युवाहरुको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन। जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारीका अवसरहरु सिर्जना गर्न सक्दैनौँ, निराशालाई आशामा बदल्न सकिँदैन। अहिले व्याप्त निराशा त्यसैको परिणाम हो,’ उनले भने।

विश्वव्यापी रुपमा नयाँ आर्थिक परिवेशले पनि नेपाललाई लाभ दिने संकेत गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालका प्रतिस्पर्धी मुलुकहरुको तुलनामा अमेरिकाले नेपालका लागि निकै कम भन्सार दर तोकेकोले नेपालमा लगानी बढ्नसक्ने सम्भावना झन् बलियो बनाएको र यसबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए। 
 
पछिल्लो पटक भएका नीतिगत सुधारले सकारात्मक संकेत गरेको उल्लेख गर्दै उनले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटलाई सुधारको प्रस्थान बिन्दुका रुपमा ल्याउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad