कारोबार


कुखुराको फ्रोजन मासुमा लगाइएको भ्याट हटाउन र अन्त:शुल्क घटाउन माग

कुखुराको फ्रोजन मासुमा लगाइएको भ्याट हटाउन र अन्त:शुल्क घटाउन माग

नेपालखबर
चैत १९, २०८१ मंगलबार १७:५९, काठमाडौँ

नेपाल पोल्ट्री महासंघले कुखुराको फ्रोजन मासुमा लाग्दै आएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर हटाएर ५ प्रतिशत अन्त:शुल्क मात्र लगाउन माग गरेका छन्।

मंगलबार महासंघको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर ताजा खुकुराको मासुमा पाँच प्रतिशत अन्त:शुल्क लाग्ने गरेको तर त्यही मासु फ्रिजमा राखेर बेच्दा १३ प्रतिशत मूल्यअभिवृद्धि कर लगाउने गरेको भन्दै यसमा अन्तशुल्क मात्र कायम गर्न माग गरेको हो।

उनीहरुले मन्त्री पौडेललाई बुझाएको ज्ञापन पत्रमा कृषिजन्य प्राथमिक उत्पादनमा मूल्यअभिवृद्धि कर लगाउदा उपभोक्त मूल्य बढ्न गएको र चोरी पैठारी बढेको भन्दै मूल्यअभिवृद्धि कर हटाउन माग गरिएको छ।

२०७९ सम्म आर्थिक ऐनमा  सिंगो र टुक्रा पारिएका फ्रोजन कुखुराको मासुमा पैठारीमा मूल्यअभिवृद्धि करमा छुट रहेको र पाँच प्रतिशत मात्र अन्त:शुल्क थियो।

आर्थिक ऐन २०८० मा आएर यी दुबैमा लाग्ने गरेको अन्त:शुल्क हटाएर मूल्यअभिवृद्धि कर लगाएको थियो।

ताजा मासु बेच्दा पाँच प्रतिशत तर त्यही मासु फ्रिजमा राखेर बेच्चा १३ प्रतिशत कर लाग्ने व्यवस्था अव्यवहारिक भएकाले दुबैमा १३ प्रतिशत मूल्यअभिवृद्धि करको प्रावधान हटाउनु पर्ने महासंघका महासचिव दिनेश मिश्रले बताए।

भेटमा अर्थमन्त्री पौडेलले महासंघको मागमा सरकार सकारात्मक रहेको र आगामि बजेटबाट समस्या समाधान गर्ने बताएको मिश्रले बताए।
आर्थिक ऐन २०८० मा भएको करको परिवर्तनले पोल्ट्री उद्योगलाई नराम्रो असर गरेको आत्मनिर्भर रहेको उद्योगलाई परनिर्भरतामा जाने जोखिम बढेको मिश्रले दाबी गरे।

पोल्ट्री क्षेत्रमा करिब एक खर्ब ६० अर्बको लगानी रहेको, प्रत्यक्ष तीन लाख र अप्रत्यक्ष गरी करिव पाँच लाख जनाले रोजगारी पाएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad