सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त कुलमान घिसिङ र सो पदमा नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट सुनुवाइ गर्दै दुवै रिटका पक्ष र विपक्षलाई १७ गते छलफलका लागि बोलाएको छ।
दुवै रिटको सुनुवाइपछि शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले यस्तो आदेश जारी गरेको हो, जसअनुसार आइतबार (१७ गते) अन्तरिम आदेश जारी हुने कि नहुने भनेर छलफल गरिनेछ।
सर्वोच्चले दुवै रिटका विपक्षीहरूसँग लिखित जवाफ पनि माग गरेको छ।

आफूलाई सरकारले पदावधि हुँदै बर्खास्त गरेपछि कुलमान सोविरुद्ध सर्वोच्च गएका थिए।
सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले विपक्षीहरुलाई १५ दिनभित्र लिखित जवाफ दिन भनेको छ भने अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई सर्वोच्चमा आउन भनेको छ।
यो रिट सुनुवाइलाई प्राथमिकतासहित अग्राधिकार दिई नियमानुसार पेस गर्न आदेशमा भनिएको छ।
यस्तै नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा पनि सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ।

रिट निवेदक शाक्यको मागबमोजिम अन्तरिम आदेश जारी हुने वा नहुने निष्कर्षमा पुग्न दुवै पक्षलाई १७ गते सर्वोच्चमा बोलाइएको हो।
शाक्यको रिट सुनुवाइलाई समेत प्राथमिकतासहित अग्राधिकार दिई नियमानुसार पेस गर्न सर्वोच्चको आदेशमा भनिएको छ।
Shares

प्रतिक्रिया