ad ad

कारोबार


चौधरी फाउन्डेसनद्वारा कोरोनाविरुद्ध लड्न प्रदेश २ लाई पीपीई हस्तान्तरण

चौधरी फाउन्डेसनद्वारा कोरोनाविरुद्ध लड्न प्रदेश २ लाई पीपीई हस्तान्तरण

नेपालखबर
चैत १४, २०७६ शुक्रबार १३:४१,

 चौधरी फाउन्डेसनले प्रदेश नं– २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम र उपचारका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ।

प्रदेश नं. २ का मुख्य–मुख्य स्वास्थ्य केन्द्रमा वितरण गर्ने गरी उनलाई हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनका टोलीहरूले शुक्रबार पर्वत र बागलुङका प्रमुख जिल्ला अधिकारीद्वय क्रमशः कल्पना घिमिरे नेपाल र गौलोचन सैंजू, पोखरास्थित मातृशिशु मितेरी अस्पतालकी प्रमुख प्रतिभा गौलीलाई सम्बन्धित स्वास्थ्य संस्थाका लागि पीपीई हस्तान्तरण गरेको हो।

फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले शुक्रबार बिहानमात्रै ट्विट गर्दै सातै प्रदेशका ३३ स्वास्थ्य केन्द्रहरूमा पीपीई वितरण गरिसकिने बताएका थिए। उनले तत्कालको आवश्यकता पूरा गरिए पनि यो आफैंमा पूर्ण नभएको भन्दै देशभरका सबै स्वास्थ्य केन्द्रलाई सुरक्षा उपकरणबाट थप सुसज्जित तुल्याउन सबैलाई आग्रह गरेका छन्।

अब आफूहरूको ध्यान परीक्षण किट, एन९५ मास्कलगायत अन्य अत्यावश्यक सामग्रीमा केन्द्रित रहेको उनले बताएका छन्।

‘यी सामान आपूर्तिका लागि चीनका विभिन्न शहरमा तयार पारेर राखेका छौं र नेपाल भित्र्याउन उपयुक्त माध्यम खोज्न संघर्षरत छौं। ती सामान विदेशी वा नेपाली विमानमा ढुवानी गर्न सम्भव छ’ उनले भनेका छन्, ‘यसका लागि हामीले सरकारलगायत सबै साझेदार मित्रहरूसँग निरन्तर सम्पर्कमा छौं। कसैले यो कार्यमा सहयोग पुर्‍याउन सक्नुहुन्छ भने हामी आभारी हुनेछौं।’

अध्यक्ष चौधरीले विषम परिस्थितिमा दिनरात खटेर ज्यानको जोखिम मोल्दै देशैभर सुरक्षा उपकरण बाँड्न हिँडेका आफ्ना सहकर्मीहरूप्रति पनि आभार व्यक्त गरेका छन्।

फाउन्डेसनले यसअघि जिल्ला प्रशासन कार्यालय बर्दिया, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित स्वास्थ्य सेवा निर्देशनालय, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, जिल्ला प्रशासन कार्यालय कैलाली, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, प्रदेश १ को प्रादेशिक अस्पताल, कान्ति बाल अस्पताल महाराजगन्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र रुकुम (पश्चिम) जिल्ला अस्पताल, पाल्पा जिल्ला अस्पताल, कोरोना विशेष अस्पताल (भरतपुर), सहज हेल्थ फाउन्डेसन (गैंडाकोट), पिताउन्जी हेल्थ पोस्ट (भेडाबारी, नवलपुर), प्राइमेरी हेल्थ सेन्टर (दुम्कौली) लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज) मा सुरक्षा उपकरण वितरण गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .