उत्तराखण्डको देहेरादूनमा इण्डो–नेपाल अन्तराष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव २०२५ सुरु भएको छ।
शुक्रबारदेखि देहेरादूनको रेञ्जर मैदानमा तेस्रो संस्करणको इण्डो–नेपाल अन्तराष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव सुरु भएको हो।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एक कार्यक्रमकाबीच शुक्रबार मेलाको उद्घाटन गरे। मेलाले नेपाल–भारतबीच सांस्कृति तथा व्यापारिक सम्बन्ध थप विकास हुँदै जाने मुख्यमन्त्री धामीले विश्वास व्यक्त गरे।
‘नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ। दुई देशको व्यापारिक र पर्यटकीय सम्बन्धलाई यो मेलाले यो अझ विकास गर्न मद्धत गर्नेछ,’ उनले भने।
मेला उद्घाटन सत्रमा विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल थिए। यस्तै, उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका अन्य थुप्रै सांसद पनि अतिथिका रुपमा सहभागी भएका थिए।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा उद्योग वाणिज्य संघले इण्डो–नेपाल अन्तराष्ट्रिय मेलाको आयोजना गरेको हो। मेला ५ दिनसम्म चल्नेछ।
मेलामा भारत र नेपालका व्यापारीहरुले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर स्टल राखेका छन्। मेलाका लागि सुदूरपश्चिमदेखि पूर्वसम्मका नेपाली व्यापारी देहेरादूनमा जमघट भएका छन्।
मेलामा ५० नेपाली स्टल छन्। अलैँचीको विभिन्न कपडा, अल्लोका ढाका टोपी, रुद्राक्षको माला, खुकुरी लगायत मौलिक नेपाली उत्पादन उनीहरुले स्टलमा राखेका छन्।
उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले दुई देशको व्यापारिक सम्बन्ध सुमधुर बनाउने उद्धेश्यले मेलाको आयोजना गरेको बताए।
‘नेपालमा कसरी पर्यटक भित्रा्उन सकिन्छ र दुई देशका व्यापारीहरुको ज्ञान सीप आदान प्रदान गर्ने उद्धेश्यले मेला आयोजना गरिएको हो,’ उनले भने।
Shares

प्रतिक्रिया