नेपालले चालू आर्थिक वर्षको आठ महिनामा डेढ खर्ब बढीको निर्यात गरेको छ।
भन्सार विभागले निकालेको पछिल्लो तथ्यांकअनुसार नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख २ हजार रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको हो।
तुलनात्मक रुपमा अघिल्लो वर्षको सोही अवधिभन्दा यो ५७.२० प्रतिशत वृद्धि हो।
साउनदेखि फागुनसम्मको अवधिमा नेपालको आयात व्यापारमा पनि सुधार देखिएको छ।
८ महिनामा नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख ४० हजार रुपैयाँबराबरको आयात गरेको हो। जुन अघिल्लो वर्ष सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजारको मात्र भएको थियो।
आयातमा मात्रै नेपालले ११.२० प्रतिशतले सुधार गरेको देखिएको छ।
तथ्यांकअनुसार नेपालको कुल ८ महिने वैदेशिक व्यापार १५.२९ प्रतिशतले बढेको छ। यो भनेको १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख ४२ हजार रुपैयाँ बराबर हो। अघिल्लो वर्ष सोही अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख ४४ हजार रुपैयाँको कुल व्यापार भएको थियो।
यो अवधिमा नेपालको व्यापारघाटा ६.२२ प्रतिशतले बढेको छ। ८ महिनामा व्यापारघाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख ३८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष व्यापारघाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख ५५ हजार रुपैयाँ थियो।
विभागका अनुसार अघिल्लो वर्ष र यस वर्षको ८ महिनामा कुल व्यापारमा आयातको हिस्सा ३.५५ प्रतिशतले ऋणात्मक हुँदा निर्यातको हिस्सा ३६.३५ प्रतिशतले धनात्मक छ।
Shares

प्रतिक्रिया