कारोबार


ट्रम्पले रोके पनि एमसीसीको अनुदानका काम धमाधम

विस्तार हुने सडकमा माग्यो परामर्श सेवा
ट्रम्पले रोके पनि एमसीसीको अनुदानका काम धमाधम

नेपालखबर
चैत ७, २०८१ बिहिबार १३:२३, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि रोकिदिए पनि एमसीसीको अनुदानमा हुने काम चलिरहेका छन्। 

अर्थसचिव अध्यक्ष रहेको एमसीए नेपालले बिहीबार आफ्नो परियोजना अनुगमन गर्नको लागि परामर्श सेवा खरिद गर्न सूचना जारी गरेको हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले सबै प्रकारका विदेशी अनुदान स्थगन गरेका थिए। सो क्रममा यूएसएडका कतिपय कार्यक्रम खारेजीमै परेका छन्।लामो समय अन्योल रहेको एमसीसी परियोजना समेत रोकिएको पत्र अर्थ मन्त्रालयमा आएको थियो। 

अर्थ मन्त्रालयका अधिकारीहरू एमसीसी स्थगन भए पनि पुनः सुचारु हुनेमा विश्वस्त छन्। नेपालम स्थापना भएको एमसीए कार्यालयले पनि आफ्ना नियमित काम अघि बढाएको छ। 

बिहीबार पूर्व-पश्चिम राजमार्गको धानखोला– लमही सडक क्षेत्रमा विस्तार हुनलागेको सडकको निरीक्षण सेवाका लागि परामर्श सेवा माग गरेको छ। 

त्यस्तै नारायणगढ–मुग्लिङ सडकको आवधिक मर्मतको कन्सल्टिङ सेवा माग गरेको छ। एमसीए नेपालले आज बिहीबार सूचना जारी गरेको छ। परामर्शदाताले २४ अप्रिल २०२५ सम्म आवेदन दिन भनेको छ। 

‘एमसीसी अहिले स्थगनको अवस्थामा छ। कसरी अघि बढ्ने भनी अध्यक्ष (अर्थसचिव)ले बैठक बोलाउनु भएको छैन’, एमसीए नेपालका एक बोर्ड सदस्यले भने, ‘तर अनुदान पुनः सुचारु हुने देखिन्छ। अनुदान कटौती भए पनि नेपाललाई चाहिने पूर्वाधार निर्माण भएकाले निरन्तरता पाउँछ।’

एमसीए नेपालले २९७ किलोमिटर प्रसारणलाइन निर्माणका नोभेम्बरमा बोलपत्र आह्वान गरेको थियो। हाल प्रसारणलाइनको ठेक्का प्रक्रिया समेत चलिरहेको छ। 

‘नोभेम्बरमा भएको प्रसारणलाइनका टेन्डरका  प्रक्रिया नियमित रुपमै अघि बढेको छ’, एमसीए नेपालका एक अधिकारीले भने, ‘केही समय अन्यौल भए पनि हाम्रा नियमित काम भइरहेका छन्। कुनै पनि काम हामीले स्थगन गरेका छैनौँ।’

६९७ मिलियन खर्च गर्नको लागि एमसीए नेपाल स्थापना भएको थियो। यसमा ५०० मिलियन अमेरिकाको र १९७ मिलियन नेपाल सरकारले खर्च गर्नेछ।

एमसीएले नेपालका विद्युतका संरचना निर्माण, सडकको गुणस्तर वृद्धि गर्नेछ। डोनाल्ड ट्रम्पले पुनः राष्ट्रपति बन्नुअघि मात्र एमसीसीले थप ५० मिलियन डलर नेपाललाई अनुदान दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad