कारोबार


सेयरबजारमा २ महिनादेखि धुम मच्चाइरहेको एउटा खराब कम्पनी

सेयरबजारमा २ महिनादेखि धुम मच्चाइरहेको एउटा खराब कम्पनी

सम्झना घिमिरे
चैत ७, २०८१ बिहिबार ८:४२, काठमाडौँ

पछिल्लो दुई महिना धितोपत्रको दोस्रो बजार तीव्र उतारचढावपूर्ण रह्यो।

झण्डै ५ महिना रुमलिएको सेयर बजार परिसूचक (नेप्से) ले २९ सय अंकको अवरोध भत्कायो। योसँगै सुस्ताएका लगानीकर्ता जुर्मुराए। उत्साह झनै बढ्यो। ४ अर्बको दैनिक कारोबार १६ अर्बसम्म पुग्यो। 

तर, नेप्सेको वृद्धि धेरै समय टिक्न पाएन। २९ सय विन्दु पार गरेकै भोलिपल्टबाट सूचक फेरि ओर्लिन थाल्यो। जुन रफ्तारमा उकालो लागेको थियो, ओर्लिँदा पनि त्यही रफ्तार समात्यो।

यसले लगानीकर्ताको उत्साह पनि क्षणिक बन्न पुग्यो। उनीहरूले दैनिक कारोबारलाई फेरि औसत ४ अर्बमै झारे।

२९ सयको सीमामा पुग्दा ४७ खर्ब पुगेको लगानीकर्ताको सम्पत्ति (बजार पुँजीकरण) चैत ६ गते ४४ खर्बमा  ओर्लिसकेको छ भने नेप्से सूचक पनि २९ सयबाट २६ सयमा ओर्लिसकेको छ। 

एकातिर बजारको प्रवृत्ति यस्तो छ भने अर्कोतिर फेरि कम्पनीगत प्रवृत्ति फरक छ। एउटा वित्तीय अवस्था खराब भएको कम्पनीको यही बेला निरन्तर मूल्य बढिरहेको छ। त्यो कम्पनी हो नारायणी विकास बैंक। 

यो बैंकको सेयर मूल्य माघ ९ देखि बढ्न थालेको थियो। यसको रफ्तार पछिल्लो ३६ कारोबार दिनदेखि निरन्तर छ। वित्तीय अवस्था खराब रहेको यस कम्पनीले करेक्सनविनै निरन्तर मूल्य बढाइरहेको छ। 

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अनुसार माघ ९ देखि चैत ६ गते (मंगलबार) सम्म बजार हरियो बनेको छ। यो अवधिमा कम्पनीको मूल्य ६५.५१ अंकले बढिसकेको छ। अर्थात्, दुई महिनायता उक्त कम्पनीको सेयर एक दिन पनि घटेको छैन। 

माघ ९ गते प्रतिकित्ता ११ सय ६० रुपैयाँमा रहेको सेयरमूल्य फागुन ६ गते मंगलबार १९ सय २० रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ। योबीचमा कम्पनीको मूल्य अधिकतम २ हजार रुपैयाँसम्म उक्लिएको छ। 

यो कम्पनीको वित्तीय अवस्थालाई जानाजान बेवास्ता गर्दै लगानीकर्ताहरु सेयर मूल्यवृद्धिमा लोभिएर कारोबारमा झुम्मिरहेका छन्। 

नेप्सेका अनुसार ७ लाख ८७ हजार कित्ता मात्रै रहेको यो कम्पनीमा दैनिक सरदर १ लाख बराबर मात्रै कारोबार भइरहेको छ।

मागअनुसारको आपूर्ति कम हुन थालेपछि कारोबार रकम कम देखिए पनि कम्पनीको मूल्य बढाउन भने यसले प्रमुख भूमिका खेलिरहेको छ।

खराब छ वित्तीय अवस्था 
कम्पनीको वित्तीय अवस्था नाजुक छ। चालू आवको दोस्रो त्रैमासिकसम्म आइपुग्दा कम्पनीको वासलातमा कुनै सुधार देखिएको छैन। बरु खराबकर्जा उच्च छ भने नाफा पनि आधा करोडले ऋणात्मक छ। 

पुससम्मको वित्तीय विवरणअनुसार नारायणी विकास बैंकको खुद नाफा ५२ लाख १३ हजार रुपैयाँले ऋणात्मक छ। 

पहिलो त्रैमासिकमा ४८ लाखले ऋणात्मक रहेको कम्पनीले दोस्रो त्रैमासिकमा सुधार गर्न नसक्दा उल्टो ६.९६ प्रतिशतले नाफा ऋणात्मक बनेको थियो। 

यस्तै कम्पनीको अन्य वित्तीय सूचकहरु पनि राम्रा छैनन्। कम्पनीको प्रतिसेयर नेटवर्थ २० रुपैयाँ मात्रै छ। अहिले ९० रुपैयाँमाथिको नेटवर्थ भएका कम्पनीहरुलाई मात्रै धितोपत्रको दोस्रोबजारमा कारोबारयोग्य कम्पनी मान्ने नमान्ने बहस चलिरहेको छ। यद्यपि ९० रुपैयाँभन्दा माथिको नेटवर्थ भएको कम्पनीलाई वित्तीय रुपमा स्वस्थ मान्ने गरिन्छ। 

यस्तै अर्को सूचक पीई रेसियो पनि ४९७ रुपैयाँले ऋणात्मक छ भने प्रतिसेयर आम्दानी (ईपीएस) रेसियो १ रुपैयाँ ९९ पैसा मात्रै छ। 

खराबकर्जा उच्च भएर राष्ट्र बैंकको निगरानीमै रहेको यो बैंकको असोज मसान्तसम्म खराब कर्जा ४२.५३ प्रतिशत छ। सामान्यतया खराब कर्जा ५ प्रतिशतसम्मलाई सामान्य अवस्था मान्न सकिन्छ। तर पछिल्लो दुई वर्षयता कर्जा असुलीमा दबाब खेपिरहेका बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा ५ देखि १० प्रतिशसतसम्म पुगेका छन्। 

यो अवस्थालाई राष्ट्र बैंकले आत्तिनु नपर्ने तर सचेत हुनुपर्ने अवस्था मानेको छ। यस्तो अवस्थामा नारायणी विकास बैंकको खराब कर्जा भने ४२ प्रतिशतमाथि पुग्नुले बजारमा सो कम्पनीको लगानी जोखिमपूर्ण अवस्था छ भन्ने बुझ्न सकिन्छ। 

वासलात बिग्रिएर ऋणात्मक अवस्थामा पुगेको कम्पनीले अझै केही वर्षसम्म लगानीकर्तालाई कुनै पनि प्रकारको लाभांश दिन सक्नेछैन।

ठूला खेलाडीले थाप्ने पासो बन्दै कम्पनी
त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागमा वित्तशास्त्रका उपप्राध्यापक डा. भरतसिंह थापा यस्ता कम्पनी ‘पम्प एन्ड डम्प’ शैलीमा चलेको बताउँछन्। 

उनका अनुसार यो भनेको बजारमा नक्कली सेयर माग बढाएर मूल्य माथि लैजानै र लगत्तै सबै सेयर बिक्री गरेर मूल्यलाई झर्न दिने भन्ने हो। 

‘अहिले धितोपत्रको दोस्रो बजार ‘पम्प एन्ड डम्प’अनुसार नै चलिरहेको छ। थोरै कित्ता सेयर भएका कम्पनीहरुलाई सीमित खेलाडीहरुले पासोको रुपमा प्रयोग गर्दा खराब कम्पनीमा पनि अस्वाभाविक वृद्धि देखिने गर्छ।’

यसलाई उनी साना लगानीकर्तालाई फसाउन ठूला लगानीकर्ताले थापेको पासो मान्छन्। 

नारायणी विकास बैंकको वित्तीय अवस्था राम्रो वा सुधारोन्मुख नै भएको भए लगानीकर्ता पनि आशावादी हुँदा मूल्य बढ्ने आधार रहन्थ्यो। तर वित्तीय अवस्था तीव्र गतिमा बिग्रिँदै गर्दा पनि सोही कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् भने मूल्य बढेको बढ्यै छ। ३६ कारोबार दिनमा मूल्यले एक दिन पनि करेक्सन नलिई माथि उक्लिएको हो।

डा.थापाका अनुसार खराब वित्तीय अवस्थामा भए पनि मूल्यमा अस्वाभाविक वृद्धि देखिनुलाई केही सीमित लगानीकर्ताले थापेको पासो मान्न सकिन्छ।

उनी भन्छन्, ‘ठूला र केही सीमित खेलाडीहरुले थोरै भोलुम (सेयर संख्या) भएका सेयरलाई पासोको रुपमा प्रयोग गर्छन् र बजारमा भ्रम फैलाउँछन्। यस्ता गतिविधि साना लगानीकर्ता फसाउने जाल मात्र हो।’

सेयर किन्न सामाजिक सञ्जालमा उर्दी, मौन नियामक
बजार नियामक धितोपत्र बोर्ड र बजार सञ्चालक नेप्से दुवैले सामाजिक सञ्जालमा कुनै पनि कम्पनीको सेयर खरिद वा बिक्री गर्न उक्साउने कामलाई गैरकानुनी मान्दै यस्ता क्रियाकलाप नगर्न आग्रह गर्दै आएको छ। 

तर सूचना मात्रै जारी गरेर निगरानीमा चासो नदेखाउँदा यस्ता खेलाडीले थापेको खराब कम्पनीको पासोमा साना लगानीकर्ता पर्दै आएका छन्। 

हरेक दिनजसो फेसबुक ग्रुप, ट्विटर, क्लबहाउसजस्ता सामाजिक सञ्जालमा कम्पनीको नाम तोकेरै खरिदबिक्री गर्न लागउने उर्दीसहितको पोस्टहरु छताछुल्ल भइरहँदा नियामक निकाय मौन बस्दै आएको हो। 

सेबोनका उपनिर्देशक तथा प्रवक्ता निरन्जय घिमिरे धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताले दीर्घकालीन प्रतिफलभन्दा मूल्यको उतारचढावलाई प्राथमिकतामा राखेको बताउँछन्। 

सोही कारण खराब कम्पनीको सेयर मूल्य उचालिने गरेको उनको भनाइ छ। उनका अनुसार यस्तो अवस्था सामान्य नै हो। 

‘बजारमा यसरी मूल्य बढ्ने घट्ने प्रक्रिया स्वाभाविक नै हो’, उनले भने, ‘बजारमा मूल्य बढ्नेबित्तिकै कर्नरिङ भएको भन्ने हल्ला चल्छ तर त्यसमा हामीले निगरानी गरिरहेका हुन्छौँ।’

तर डा. थापा भने नियामक निकायले यस्ता विषयलाई गम्भीरतापूर्वक नलिँदा व्यक्तिगत र संस्थागत लगानीकर्ता पनि पासो थाप्न उन्मुख देखिएको बताउँछन्। 

‘नियमन नै कमजोर छ, यसको असर अहिले ठूला संस्थागत लगानीकर्तामा पनि देखिन थालेको छ’, थापाले भने, ‘इन्भेस्टमेन्ट कम्पनीहरुले बजारको अवस्थालाई बुझेर राम्रा कम्पनीहरुमा लगानी बढाउनुपर्नेमा उनीहरु पनि खेलाडीझैँ खराब कम्पनीमै पासो थाप्न व्यस्त देखिन्छन्।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad