एमसीसीअन्तर्गत रातमाटे सबस्टेसन, नयाँ दमौली सबस्टेसन र २९७ किलोमिटर लामो विद्युत् प्रसारणलाइन निर्माण सुरु भएको छ।
मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसन र नयाँ दमौली सबस्टेसन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारणलाइन निर्माण थालेको छ।
अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा बनिरहेको यो परियोजनाले अन्तर्राष्ट्रियस्तरको विद्युत् प्रसारण पूर्वाधार निर्माण र महत्त्वपूर्ण सडक सञ्जालको स्तरोन्नति गर्नेछ।
नेपाल र संयुक्त राज्य अमेरिकाको संयुक्त लगानी रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत् प्रसारण आयोजना अन्तर्गत तीन वटा उच्च क्षमतायुक्त ४०० केभी सबस्टेसन तथा ३१५ किलोमिटर प्रसारणलाइन निर्माण हुँदैछ। यो पूर्वाधारले नेपालको राष्ट्रिय विद्युत् ग्रीडलाई सदृढ पार्नुका साथै प्रसारण अवरोध न्यूनीकरण गर्ने बताइएको छ। घरपरिवार र व्यवसायहरूका लागि विद्युत् आपूर्तिको भरपर्दो सुधार गर्नेछ।
बुधबार शिलान्यास गरिएको २९७ किलोमिटर लामो प्रसारणलाइन सञ्जालमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा प्रसारणलाइन खण्ड, रातमाटे–न्यू दमौली प्रसारणलाइन खण्ड र न्यू दमौली–न्यू बुटवल प्रसारणलाइन खण्ड छन्।
'नेपाल सरकारले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि गरिएको महत्वपूर्ण लगानीका रूपमा आत्मसात् गरेको छ,' अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले भने, ु'ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवद्र्धन गर्न र नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत् प्रसारण पूर्वाधारलाई सुदृढ पार्नु आवश्यक छ।'
यस्तै, नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले यस कम्प्याक्टमार्फत अमेरिका नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माणमा लागेको बताए।
'भरपर्दो बिजुली देशका कुना कुनाका साथै सीमापारसमेत प्रवाहित हुनेछ। घरपरिवारका लागि यसको अर्थ निरन्तर बल्ने बिजुली हुनेछ भने कारखाना तथा कृषिका लागि यसको अर्थ उत्पादन अभिवृद्धिका लागि ऊर्जाको अनवरत उपलब्धता हुनेछ। नेपाली व्यवसायहरूको विस्तारका लागि यसले नयाँ क्षितिजहरू उघार्नेछ,' उनले भने।
एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले नेपालको आर्थिक वृद्धि र क्षेत्रीय ऊर्जा एकीकरणको दीर्घकालीन महत्वमाथि जोड दिएका छन्। 'यी लगानीले घरपरिवार, व्यवसाय र उद्योगहरूका लागि भरपर्दो बिजुली आपूर्ति गर्न आवश्यक प्रसारण प्रणालीलाई सुदृढ बनाएर नेपालको ऊर्जा क्षेत्रको पूर्ण सम्भाव्यता उपयोग गर्न मद्दत गर्नेछ। एमसीसी यस रूपान्तरणकारी पूर्वाधार निर्माण पहलमा नेपालसँग साझेदारी गर्न पाउँदा गौरवान्वित छ,' फ्रान्सिस्कोले भने।
यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण भइरहेका यी पूर्वाधार कुनै छुट्टै प्रणाली नभई नेपालको राष्ट्रिय प्रसारण सञ्जालकै महत्वपूर्ण विस्तार हुने बताएका छन्।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपालको ऊर्जा पूर्वाधार विकासका सन्दर्भमा आजको दिन कोशेढुङ्गाका रूपमा स्थापित हुने प्रतिक्रिया दिए।
'निर्माणाधीन सशक्त, थप भरपर्दो र नवीन विद्युत् प्रसारण सञ्जालले नेपालीलाई लामो समयसम्म लाभान्वित गर्नेछ भने नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा एक प्रमुख पक्षका रूपमा स्थापित गर्नेछ,' बिष्टले भने।
बुधबार शिलान्यास गरिएका सबस्टेसन तथा प्रसारणलाइन निर्माणको काममा चार निर्माण कम्पनी संलग्न छन्। टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडले रातमाटे र न्यू दमौली सबस्टेसन निर्माण गर्दैछ भने आशिष–बोझ्लर संयुक्त उपक्रमले ११७ किमि लामो लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारणलाइन खण्ड बनाइरहेको छ। साथै, एञ्जेलिक–स्किपर संयुक्त उपक्रमले ९० किमि लामो रातमाटे–न्यू दमौली प्रसारणलाइन खण्ड र वाइबा–सालसर संयुक्त उपक्रमले ९० किमि लामो न्यू दमौली–न्यू बुटवल प्रसारणलाइन खण्ड निर्माण गर्दैछन्।
निर्माण सम्पन्न भएपछि रातमाटे सबस्टेसन र न्यू दमौली सबस्टेसन नेपालका सबैभन्दा ठुला उच्च–भोल्टेज क्षमताका सबस्टेसनमध्येका हुनेछन्। यी सबस्टेसन तथा प्रसारणलाइन पूर्वाधारले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सदृढ बनाउनुका साथै दीर्घकालीन ऊर्जा मागलाई सम्बोधन गर्न र आर्थिक वृद्धिलाई तीव्रता दिन सहयोग गर्ने एमसीसीले जनाएको छ।
Shares

प्रतिक्रिया