कारोबार


पाँच वर्षभित्र विपद् उत्थानशील नेपाल बनाउने मिसनमा छु : कार्यकारी प्रमुख भट्ट

पाँच वर्षभित्र विपद् उत्थानशील नेपाल बनाउने मिसनमा छु : कार्यकारी प्रमुख भट्ट

नेपालखबर
चैत ६, २०८१ बुधबार १६:२४, काठमाडौँ

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले पाँच वर्षभित्र विपद् उत्थानशील नेपाल बनाउने प्रतिवद्धता जनाएका छन्।

नेपाल बहुप्रकोपीय विपद्को जोखिममा रहेकाले विपद् उत्थानशील बनाउन कार्य ढाँचालाई नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरे। मंगलबार कार्यकारी प्रमुखको पदभार सम्हालेका भट्टले आफू ‘डिजास्टर रेजिलेन्स नेपाल’ बनाउने अभियानमा प्रतिवद्धत रहेको बताए।

प्राधिकरणलाई स्थानीय तहसम्म बलियो बनाउने गरी आफूले काम गर्ने पनि उनले स्पष्ट पारे। स्थानीय सरकारलाई बलियो बनाउन टोल टोलमा स्वयंसेवक तयार गर्न प्राधिकरणले शुरु गरेको कामलाई बिस्तार गर्दै लैजाने पनि उनले बताए।

ऐनले निर्देशन गरेको र दिएको अधिकारक्षेत्रभित्रै रहेर आफूले संयोजनकारी भुमिका निर्वाह गर्ने पनि उनले उल्लेख गरे।

उनले भने, ‘ऐनले प्राधिकरणलाई अधिकार दिएको छ। नियमावलीले पनि दिएको छ। केही कुरामा गृह मन्त्रालयको मार्फत भन्ने शब्द छ। त्यो हुँदा कोर्डिनेशन ढिलो हुने र कोर्डिनेशन ढिलो हुँदा परिचालन ढिलो हुने स्थिति छ। त्यसका लागि नीतिमा, ऐनमा भएको कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने भनेको कतिको उनीहरुसँग कोर्डिनेसन गर्नुहुन्छ, कतिको एप्रोच छ? त्यसमा पनि पहल गर्नेछौँ। २०२९ सम्म नेपाललाई डिजास्टर रेजिलेण्ट नेपाल बनाउने मिसनका साथ म आएको छ। हामीले धेरै सेक्टरमा काम गर्नुछ। बिहान, राति, दिउँसो नभनिकन काम गर्नुपर्ने ठाउँ हो यो। म पूरै मेहनत गर्नेछु । स्थानीय सरकारलाई बलियो बनाउँछु, टोलमा स्वयंसेवक तयार पार्ने काम गर्छु।’

आफूले विपद् पूर्वतयारीको विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाउने उनले उल्लेख गरे। उनले आवास पुनःनिर्माणको कामलाई सिधै लाभग्राहीको खातामा रकम जम्मा हुनेगरी काम गर्ने पनि बताए।

उनले भने, ‘सरकारले प्राविधिक सहयोग गर्ने हो, घर कसैको भत्किएको छ भने व्यक्तिकै खातामा पैसा पठाउनुपर्छ। त्यसले आफ्नो घर आफैँ बनाउँदा बलियो बनाउँछ। लाभग्राहीकै खातामा पैसा जाने गरी पुनःनिर्माणको प्रक्रियामा जानुपर्छ। तर क्षति नै हुन नदिनका लागि हामीले काम गर्नुपर्छ।’

भट्टलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो। उनले हिजो मंगलबार नै आफ्नो कार्यभार सम्हालिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad