भारतीय धनाढ्य मुकेश अम्बानीको रिलायन्स जियोले पनि भारतमा स्टारलिंक इन्टरनेट सेवाका लागि इलोन मस्कको स्पेस एक्ससँग सम्झौता गरेको छ।
रोयटर्सका अनुसार धेरै महिनाको अन्योलपछि जियोले पनि भारतमा स्टारलिंक इन्टरनेट सेवा दिने सम्झौता गरेको हो।
यसअघि नै भारतको दोस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक भारती एयरटेलले मंगलबार मात्रै साझेदारीको घोषणा गरेको थियो।
योसँगै भारतीय सेवाप्रदायकका स्टोरहरुमा स्टारलिंकका उपकरणहरु उपलब्ध हुने भएको छ। भारतभर कम्पनीहरुका हजारौँ स्टोरहरु रहेकाले स्टारलिंकले तिनमा पहुँच पाउनेछ।
दुवै सम्झौता भारत सरकारबाट स्टारलिंकलाई सेवा सञ्चालनको अनुमति दिएको अवस्थामा लागू हुनेछ।
भारतमा भित्रियो स्टारलिंक, एयरटेल र स्पेसएक्सबीच साझेदारीको घोषणा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका गएको बेला मस्क र मोदीबीच कुराकानी भएको थियो। अन्तरिक्ष, यातायात, प्रविधि र नवप्रवर्तनबारे उनीहरुबीच छलफल भएको थियो। भारतको स्याटेलाइट सेवा क्षेत्र वर्षेनी ३६ प्रतिशतका दरले वृद्धि हुँदै सन् २०३० सम्म १.९ अर्ब अमेरिकी डलर पुग्ने डिलोइटको आकलन छ।
दुई स्थानीय कम्पनीले सेवा दिन सम्झौता नै गरेपछि अब भारत सरकारलाई पनि स्टारलिंकलाई अनुमति दिन सहज भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।
सन् २०२२ देखि नै व्यावसायिक सेवाका लागि स्टारलिंकले भारत सरकारको अनुमति कुरिरहेको छ। अनुमति पाएको अवस्थामा दुई भारतीय कम्पनीमार्फत स्पेसएक्सको स्टारलिंक इन्टरनेट भारतमा सुरु हुनेछ।
जियोले स्टारलिंक उपकरण इन्स्टलेसन र एक्टिभेसनमा समेत सहयोग गर्ने बताइएको छ।
Shares

प्रतिक्रिया