छिमेकी देश भारतसँग सीमा जोडिएका जिल्लाहरुमा भारतीय नक्कली चुरोटको व्यापार बढेको छ।
तराई क्षेत्रका बजारमा सूर्य नेपाल प्रालिको नाममा दर्ता भएको खुकुरी चुरोटको नक्कल गरी भारतीय चुरोटको व्यापार भइरहेको पाइएको हो।
सूर्य नेपाल प्रालिका अनुसार भारतको पटनामा रहेको गोल्डस्टेप टोबाको प्रालिले राजस्व तथा प्रचलित कर छलेर, नक्कली अन्तःशुल्क स्टिक टाँसेर तराई क्षेत्रका बजारमा नक्कली चुरोट बेचिरहेको छ।
योसँगै कम्पनीले गत २२ गते उद्योग विभागमा निवेदन दिएको थियो। सो निवेदनपछि विभागले गृह मन्त्रालयलाई आवश्यक सहयोग गरिदिन पत्र पठाएको छ।
उद्योग विभागले काटेको पत्रमा भनिएको छ, ‘एउटा उद्योगले दर्ता गरेको ख्यातिप्राप्त ट्रेडमार्कको हुबहु नक्कलले उद्योगको आम्दानी, राज्यको कर तथा उपभोक्ताको अधिकार समेतमा असर गर्ने यस प्रकारको नक्कली उत्पादनको आयात, बिक्रीवितरणलाई खोजतलास गरी उचित कारबाही गर्न गराउन तहाँ मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरी आवश्यक सहयोग गरिदिनुहुन आदेशानुसार अनुरोध छ।’
विभागले पर्सा जिल्ला प्रशासन, सप्तरी जिल्ला प्रशासन, धनुषा जिल्ला प्रशासन र सुनसरी जिल्ला प्रशासनलाई आवश्यक निर्देशनका लागि गृहलाई गुहारेको छ।
खुकुरी चुरोटको सक्कली र नक्कली छुट्याउने आवश्यक कागजातसमेत सूर्य नेपालले विभागमा पठाइसकेको उल्लेख गरेको छ।
चुरोट र सुर्तीको बढ्दो अवैध व्यापार
यसैबीच, नेपालमा चुरोट र सुर्तीको अवैध व्यापार बढ्दो क्रममा देखिएको छ।
इन्डस्ट्री एस्टिमेट्स र मिडिया रिपोर्टअनुसार चोरीतस्करीका चुरोटबाट ४ अर्ब १२ करोड कर छली हुने गरेको छ भने बिँडी, खैनी र गुट्खाबाट साढे ९ अर्ब करछली भएको पाइएको छ। यसरी सरकारले यस्ता वस्तुको अवैध व्यापार तथा ओसारपसारबाट कुल १३ अर्ब ६२ करोड करछली भएको अनुमान छ।
चुरोटको अन्तःशुल्क र स्वास्थ्य जोखिम करमा भएको निरन्तर वृद्धिले चुरोटको अवैध व्यापारलाई बढावा दिएको छ। यसले नेपालमा नक्कली चुरोटको तस्करी र बिक्री वितरण बढेको छ।
बजारमा खासगरी तराई क्षेत्र र काठमाडौंका बजारमा अवैध रुपमा ओसारपसार गरी भित्र्याइएका अन्तर्राष्ट्रिय ब्रान्डका चुरोट तथा घरेलु ब्रान्डका नक्कली चुरोटहरु छ्यापछ्यापती पाइने गरेका छन्।
विगतका वर्षहरुमा सूर्य, शिखर, खुकरीलगायतका प्रसिद्ध घरेलु ब्रान्डका चुरोटको नक्कली उत्पादनको मौज्दात वीरगन्ज, जनकपुर र नेपालगन्जका बजारहरुबाट उल्लेख्य मात्रमा जफत गरिएका छन्। कर छली गरिएका नक्कली तथा अन्य सुर्तीजन्य पदार्थहरुलगायत चुरोटको अवैध व्यापारका कारण नेपाल सरकारले वार्षिक लगभग १४ अर्ब बढी राजस्व गुमाइरहेको अनुमान छ।
यसरी पत्ता लाग्यो भारतीय नक्कली चुरोट
तराई क्षेत्रका बजारमा भारतीय कम्पनीले खुकुरीको कपी गरेको पत्ता लागेको थियो। सो क्रममा भारतीय कम्पनीले बनाएको प्याक सूर्य नेपालको प्याकको कलर, ट्रेडमार्कलगायतसँग मिल्दैन।
भारतीय कम्पनीले नक्कली अन्तःशुल्क स्टिकर, नक्कली ब्रान्ड लेबललगायत प्रयोग गरी नेपाली कम्पनीको व्यवसाय र सरकारी राजस्वमा असर पुर्याएको पाइएसँगै विभागले गृहलाई नियन्त्रणका लागि पहल गर्न पत्रमार्फत अनुरोध गरेको हो।
सीमावर्ती बजारहरुमा अहिले नेपाल प्रहरीले समेत यसबारे अनुसन्धान गरिरहेको बताइएको छ। यसबीचमा प्रहरीले नक्कली चुरोट आयात र बिक्री गर्नेहरुलाई पक्राउ तथा छापामारी गर्नथालेको छ।
Shares

प्रतिक्रिया