कारोबार


ललितपुरको वाइवाई फ्याक्ट्री नवलपरासीमा सारियो

ललितपुरको वाइवाई फ्याक्ट्री नवलपरासीमा सारियो

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १०:३५, काठमाडौँ

तयारी चाउचाउ ब्रान्ड वाइवाईको पहिलो उत्पादन केन्द्र स्थानान्तरण गरिएको छ।

ललितपुरको भैँसेपाटीमा चार दशकदेखि सञ्चालनमा रहेको यो फ्याक्ट्री अब नवलपरासीस्थित सीजी इन्डस्ट्रीयल पार्क (सिजिआईपी) मा सारिएको छ।

वाइवाईका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीका अनुसार स्थानान्तरणको सम्पूर्ण प्रक्रिया श्रमिकको ससम्मान  व्यवस्थापन र अन्य सरोकारवालाबीच आपसी समझदारी र लिखित सहमतिमा सम्पन्न गरिएको हो।

सन् १९८४ मा स्थापना भएको भैँसेपाटीको वाइवाई फ्याक्ट्री नेपालको तयारी चाउचाउ उत्पादन केन्द्रहरूमध्ये एक हो। स्थापना भएको समयमा भैँसेपाटी खुला क्षेत्र थियो, जहाँ औद्योगिक गतिविधि सहज रूपमा सञ्चालन गर्न सकिन्थ्यो।

‘समयक्रमसँगै यो क्षेत्र उच्च जनघनत्व भएको आवासीय क्षेत्रमा परिणत भयो, जसले औद्योगिक उत्पादनलाई निरन्तरता दिन कठिन बनायो र हामी यस ऐतिहासिक फ्याक्ट्रीलाई स्थानान्तरण गर्ने निर्णयमा पुग्यौँ’, पुडासैनीले भने। 

साथै केही समयदेखि स्थानीय तथा सामाजिक क्षेत्रबाट वातावरणीय प्रदूषण, ध्वनि प्रदूषण, तथा औद्योगिक गतिविधिको प्रभावसम्बन्धी चिन्ता पनि प्रकट भएका थिए। यसलाई गम्भीर रूपमा लिँदै र वातावरणीय सन्तुलन कायम राख्ने प्रतिबद्धताका साथ वाइवाई व्यवस्थापनले स्थानान्तरणको निर्णय गरेको जनाइएको छ। 

फ्याक्ट्री स्थानान्तरणका क्रममा कुनै पनि श्रमिकलाई असहज स्थिति नहोस् भन्ने उद्देश्यले कम्पनीले विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरेको थियो। साथै इच्छुक कर्मचारीका लागि वाइवाईका काठमाडौँबाहिर रहेका अन्य प्लान्ट तथा अफिसमा स्थानान्तरणको अवसर खुला गरिएको छ।

व्यवस्थापनका अनुसार, यस प्रक्रियाले कम्पनीभित्रको कार्य वातावरणलाई अझ सुदृढ बनाउनेछ।

‘सम्पूर्ण कर्मचारीहरुको उचित व्यवस्थापन पश्चात लिखित सहमतिमा नै यस फ्याक्ट्रीलाई स्थानान्तरण गरिएको हो’, पुडासैनीले भने। 

नवलपरासीमा स्थानान्तरण भएको नयाँ फ्याक्ट्री अत्याधुनिक प्रविधियुक्त उत्पादन प्रणालीमा अपग्रेड गरि सञ्चालनमा ल्याइएको छ। चौधरी ग्रुपले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक उत्पादन सुनिश्चित गर्न प्रविधिमा थप लगानी गरिरहेको छ।

यो स्थानान्तरणले वाइवाई ब्रान्डलाई अझ विस्तार गर्न, उत्पादन क्षमतामा वृद्धि गर्न, तथा गुणस्तरमा सुधार ल्याउन टेवा पुग्ने विश्वास कम्पनीको छ।

एफएमसीजी ब्रान्डमध्ये एक वाइवाईले आफ्नो उत्पादनलाई अझ सुदृढ गर्दै विश्व बजारमा अझ प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad