चालू आर्थिक वर्षको भदौ २ गते सेयरबजार परिसूचक नेप्से ३ हजार विन्दुमा पुग्यो। तर त्यसयताको ५ महिना पूरा हुँदा फेरि नेप्से सोही विन्दुको नजिक पनि पुग्नसकेको छैन।
यस अवधिमा अधिकतम २८ र न्यूनतम २४ सयको सीमामा बजार अल्झिरहेको छ।
असोज १३ मा २४४२ रहेको नेप्से असोज ३० मा २७४९ पुग्दा कात्तिक १३ मा २६९० र कात्तिक ३० मा फेरि २७४९ मा नै पुगेको थियो।
यस्तै मंसिर ९ गते २६६६ मा ओर्लिएको नेप्से सोही महिनाको १९ गते २७९६ अंकमा पुग्यो भने फेरि सोही महिनाको अन्तिम कारोबार दिने २६३० सम्म ओर्लियो।
त्यति मात्रै होइन। पुस १ गते २६३४ अंकमा झरेको नेप्से पुस ३० गते फेरि २५९४ सम्म ओर्लिएको देखिन्छ। नेप्सेले माघ महिनामा पनि यसअघिकै प्रवृत्तिको पुनरावृत्ति देखाएको छ।
माघ २ गते २५९५ मा रहेको नेप्से सूचक माघ २१ मा आइपुग्दा २७६३ मा पुगेको थियो र पुनः घट्न थाल्यो। माघ ३० सम्म आइपुग्दा नेप्सेले २६८० सम्मको विन्दु छुँदै फागुन १ गते (बिहीबार) फेरि २६७८ अंकमा आइपुग्यो।
असोज १३ गते २४४२ अंकमा पुगेर फर्किएको बजारले त्यसपछि पनि साइड ड्रिफ्टमा (लामो समय बजार एकै अंक वरिपरि रुमलिनु) गएको हो।
असोजयता बजारमा माग र आपूर्तिबीचको दूरी बढ्न नसक्दा सूचक साइड ड्रिफ्ट जोनमा गएको हो। यसलाई सेयरबजारकै शब्दमा ‘साइडवेज’ पनि भनिन्छ।
अर्थात् यदि सूचकले उकालो र ओरालो दुवै यात्रा नगरी उस्तै रेन्जमा रुमलिरह्यो भने त्यस्तो अवस्थालाई साइडवेज भन्ने गरिन्छ।
सेयरबजारमा किन देखिन्छ यस्तो प्रवृत्ति?
बजार परिसूचकमा (नेप्से) अक्सर बढ्ने र घट्ने प्रवृत्ति देखिन्छ। तर एक दिन सूचक बढ्ने अर्को दिन लगत्तै घट्ने प्रवृत्ति बजारले लामो समय देखाउँदा त्यसले बजारलाई साइडवेजमा लाने सेयरबजार जानकारहरुको भनाइ छ।
लगानीकर्ताको आत्मविश्वास घट्दा पनि यस्तो प्रवृत्ति देखिने उनीहरु बताउँछन्।
सेयरबजार विश्लेषक तथा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागमा वित्तशास्त्रका उपप्राध्यापक डा. भरत थापा बजारलाई लिएर लगानीकर्ता विश्वस्त बन्न नसक्दा यस्तो प्रवृत्ति देखिने बताउँछन्।
‘सूचक तल जान पनि नसक्नु र माथि उक्लिन पनि नसक्नु भनेको बजारमा गरिएको लगानीलाई लिएर लगानीकर्ता सशंकित बन्नु हो’, उनले नेपालखबरसँग भने, ‘बजारप्रतिको विश्वास नबढ्दा यस्तो प्रवृत्ति देखिन्छ।’
सेयरबजारसम्बन्धी समाचार लेख्ने अन्तर्राष्ट्रिय मिडिया इन्भेस्टोपेडियाका अनुसार पनि साइड ड्रिफ्ट मार्केटमा सेयरको माग र आपूर्तिबीच ठूलो अन्तर नदेखिँदा एउटै सूचक वरिपरि नै बजार लामो समयसम्म रुमलिने गर्छ।
सेयरको माग र आपूर्ति दुवै बराबरजस्तो हुँदा सूचक वा मूल्य दुवैलाई स्थिर वा सोही अंक छेउछाउमै रहने अवस्था सिर्जना गर्ने भएकाले बजारलाई बुलिस (बढ्दो प्रवृत्ति) र बियरिस (घट्दो प्रवृत्ति) दुवै हुनबाट रोक्ने गर्छ।
इन्भेस्टोपेडियाले यस्तो प्रवृत्ति अन्तर्राष्ट्रिय पुँजीबजारमा पनि देखिने उल्लेख गर्दै यसले दीर्घकालीन लगानीकर्तालाई निरुसात्हन गर्न मद्दत गर्ने उल्लेख गरेको छ।
अमेरिकामा पनि माघ तेस्रो हप्ता सेयरबजारमा साइडवेज प्रवृत्ति देखिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित वस्तुमा अतिरिक्त शुल्क वृद्धि गर्ने निर्णय गरेपछि नास्डाक र डाउ जोन्स साइडवेजमा गएको थियो। त्यतिबेला नास्डाक घटेर ५० दिनअघिको लाइनमा पुगेको थियो।
ट्रम्पको शुल्कवृद्धि, रोजगारीको मिश्रित रिपोर्ट र महँगीको डरले लगानीकर्ताको आत्मविश्वासलाई घटाइदिएको कारण यसो भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। तर माघ २५ पछि भने दुवै सूचकमा केही सुधार देखिएको थियो।
लामो समय बजार एउटै अंक वरपर मात्र रुमलिँदा बजारमा सक्रिय लगानीकर्ता घट्ने मात्रै हुँदैनन्, सेयर कारोबार पनि खुम्चिने गर्छ।
नेपालको सेयरबजारको परिवेश पनि यस्तै अवस्थामा गुज्रिरहेको एक ब्रोकर सञ्चालक बताउँछिन्।
‘यसखाले बजारमा सर्ट टर्म इन्भेस्टर रमाउँछन्। अहिले हाम्रोमा पनि यस्तै भइरहेको छ’, उनले भनिन्।
बजारमा सामान्य लगानीकर्ताले सहज रुपमा नाफा निकाल्न नसक्ने हुँदा यस्तो खालको प्रवृत्ति लगानीकर्ताको हितविपरीत हुने उनको बुझाइ छ।
साइडवेज वा साइड ड्रिफ्टले बजारलाई निश्चित विन्दुबाट तल वा माथि दुवैतर्फ जान नदिने हुनाले यस्ता बजारमा सर्ट टर्म प्रोफिट (छोटो समयमा नाफा निकाल्ने) लक्षित कारोबारीहरु हावी हुने गर्छन्।
विश्वबजारमा पनि यस्तो प्रवृत्तिलाई अप्रत्याशित वा प्रक्षेपण गर्न नसकिने खालको भन्ने गरिन्छ।
Shares

प्रतिक्रिया