मंगलबार भारतको दिल्लीमा ऊर्जासचिवस्तरीय बैठक हुँदै छ।
नेपालका ऊर्जा सचिव सुरेश आचार्य र भारतीय समकक्षी पंकज अग्रवालबीच ऊर्जा व्यापारको विषयमा छलफल हुनलागेको हो।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् उत्पादन र प्रसारणलाइनकै विषयमा छलफल हुने जनाएको छ।
‘भारतसँगको ऊर्जासचिवस्तरीय बैठक नियमित हो’, ऊर्जा महाशाखा प्रमुख सन्दीप देवले भने, ‘प्रसारणलाइन निर्माणको मोडालिटी र नेपालको विद्युत् उत्पादनमा भारतीय लगानीका विषयमा छलफल हुनेछ।’
वर्षातको समयमा नेपालले भारतमा विद्युत् निर्यात गर्छ भने हिउँदको समयमा भारतबाटै आयात गरिरहेको छ। छलफलमा भारतसँग पञ्चेश्वर आयोजना, २ देशबीच प्रसारणलाइन, १० हजार मेगावाट विद्युत् निर्यातको विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ।
नेपालको इनरुवा र लम्कीबाट भारतमा ४०० केभीको प्रसारणलाइन बनाउने विषयमा छलफल हुनेछ।
Shares

प्रतिक्रिया