अर्थमन्त्री विष्णु पौडेलले बजेटमा स्रोतको प्रबन्ध नगरी सुन्दर शब्दको पुलिन्दा निर्माण गर्दैमा बजेट नहुने बताएका छन्।
चालू आर्थिक वर्षको अर्धवार्षिक बजेट मूल्यांकन प्रतिवेदन संसद्मा पेस गर्दै उनले बिहीबार उक्त धारणा राखेका हुन्।
अर्धवार्षिक समीक्षा प्रतिवेदनमामार्फत आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन चुनौती देखिए पनि लक्ष्यको नजिक हुने उनको आशा छ।
चालू वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँ बजेट विनियोजन भएकोमा ३५ प्रतिशत खर्च भएको उनले जानकारी दिए।
मन्त्री पौडेलले गत आर्थिक वर्षको बजेटको तुलनामा चालू वर्षमा १७ प्रतिशतले खर्च बढेको उल्लेख गरे। लक्ष्यअनुसार पुँजीगत खर्च गर्न नसकेकोमा भने उनको स्वीकारोक्ति छ।
उनका अनुसार ६ खर्ब ७२ अर्ब राजस्व उठाउने अनुमान रहेकोमा ५ खर्ब ६७ अर्ब रुपैयाँ संकलन भएको छ। राजस्वप्राप्तिको तुलनामा ८४ प्रतिशत भएको छ।
राष्ट्रिय गौरवका आयोजना २७ वटा पुगेको बताउँदै उनले १९ वटा आयोजना कार्यान्वयनमा रहेको जानकारी दिए। जसका लागि ६६ अर्ब छुट्याइएकोमा १७ अर्ब मात्रै खर्च भएको छ।
संसदलाई सम्बोधन गर्दै मन्त्री पौडेलले चालू आर्थिक वर्षको बजेट सिद्धान्तमाथि रहेर निर्माण नभएको दाबी गरे। संसद् र मुलुकको लागि यस्तो बजेट बोझ हुने उनको दाबी छ।
विनियोजित बजेट खर्च नहुने तर दायित्व बढ्दै जाँदा सन्तुलन मिलाउन अप्ठ्यारो भएको उनले बताए।
‘बजेट ठीक ढंगले निर्माण भएको छैन। पूरक बजेट ल्याएर अघि बढ्न पनि सक्थेँ’, अर्थमन्त्री पौडेलले भने, ‘पूरक बजेटभन्दा केही सच्याएर बजेट कार्यान्वयन गर्नलागे पनि बजेट ल्याउने अर्थमन्त्री वर्षमान पुनले नै आलोचना गर्नुभयो।’
३ करोडभन्दा कमका कार्यक्रम प्रदेश र स्थानीय तहमा पठाउनुपर्नेमा पुनले ७५ हजार रुपैयाँका योजना संघबाटै ल्याएको पौडेलले बताए।
बजेट ल्याउँदा पुनले ७ हजार योजनामा ११ हजार योजना थपेर १८ हजार पुर्याएर गलत गरेको उनको भनाइ छ।
पूर्ववर्ती सरकारले अर्थतन्त्रलाई डिलमा पुर्याएर छाडेको बताउँदै मन्त्री पौडेलले आफूहरुले सुधार गरिरहेको दाबी गरे।
‘अघिल्लो वर्ष नै भुक्तानी हुनुपर्ने निर्माण व्यवसायीको ३० अर्ब रुपैयाँ बाँकी थियो। म आएर भुक्तानी गरेँ’, अर्थमन्त्री पौडेलले भने, ‘पूर्वप्रधानमन्त्रीले रोष्टममा उभिएर तथ्यविना गलत दाबी गर्नुभयो।’
पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीले नयाँ स्टक एक्सचेन्ज लाइसेन्स प्रक्रिया बढाएर छाडेको भन्दै उनले पुनः सुरु गरेको बताए।
Shares

प्रतिक्रिया