गत जुलाई ११ मा चितवनको सिमलतालमा २ बस दुर्घटनामा परे।
पहिरोमा परेका ती २ बस त्रिशूली नदीमा खस्दा कम्तीमा ६२ यात्रु बेपत्ता भए। ज्यान गुमाउनेमा ९ जना भारतीय नागरिक पनि थिए।
१ महिना नपुग्दै पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीमा भारतीय पर्यटक बोकेको बस नदीमा खस्यो। ऐना पहरामा भएको यो दुर्घटनामा पनि २६ भारतीयको घटनास्थलमै मृत्यु भयो।
२०८१ को वर्षातमा भएका यी २ ठूला दुर्घटनामा परेका कतिपय भारतीयको त अझै शव भेटिएको छैन।
नेपाललाई औधी रुचाउने भारतीयहरुलाई यस्ता दुर्घटनाले निराश बनाउँदा पछिल्लो समय घुम्न आउने संख्यामै कमी आउनथालेको छ।
सन् २०२४ को अगस्टबाट भारतीय पर्यटक निरन्तर घट्दै गइरहेका छन्। सन् २०२५ को जनवरीसम्म यो क्रम नरोकिएको तथ्यांकले देखाउँछ।
गत वर्ष अगस्ट महिनामा भारतीय पर्यटक ३.१ प्रतिशतले घटेका थिए।
सन् २०२३ अगस्टमा २६ हजार ६६५ भारतीय पर्यटक भित्रिएकोमा २०२४ को अगस्टमा २५ हजार ८३२ भित्रिएका थिए।
त्यसपछि सेप्टेम्बरमा महिनामा एकै पटक १९.९ प्रतिशतले भारतीय पर्यटक आगमन घटेको थियो। सन् २०२३ को सेप्टेम्बरमा २८ हजार ६९४ भारतीय पर्यटक भित्रिएकोमा २०२४ को सेप्टेम्बरमा २२ हजार ९८४ आएका थिए।
अक्टोबर महिनामा भारतीय पर्यटक आगमन ११.७ प्रतिशतले घट्न पुग्यो। २०२३ को अक्टोबरमा १८ हजार ४८० पर्यटक भित्रिँदा २०२४ को अक्टोबरमा १६ हजार ३१३ मात्र भारतीय पर्यटक भित्रिए। सो वर्ष भारतको पर्यटक आगमन हिस्सा १३.१ प्रतिशतमा सीमित भएको थियो।
सन् २०२४ नोभेम्बर महिनामा समेत भारतबाट आउने पर्यटक १८.५ प्रतिशतले घटेका थिए। २०२३ को नोभेम्बरमा २४ हजार ४४३ पर्यटक भित्रिएकोमा २०२४ को नोभेम्बरमा १९ हजार ९१५ पर्यटक भित्रिए। २०२४ को नोभेम्बरमा भारतीय पर्यटकको बजार हिस्सा १७.४ प्रतिशत रह्यो।
२०२३ को तुलनामा २०२४ मा भारतीय पर्यटक करिब १ प्रतिशतले पर्यटक घटे। अहिलेको अवस्था कायम रहे २०२३ मा भन्दा पनि कमी हुने देखिएको छ।
नेपाल पर्यटन बोर्डले सडक दुर्घटनाको प्रभाव भारतीय पर्यटकमा परेको जनाएको छ।
‘जुलाईमा त्रिशूलीमा बस खसेपछि भारतीय पर्यटक बढ्नसकेका छैनन्। गत वर्षको जनवरीमा ३०.५ प्रतिशत हिस्सा थियो। अहिले घटेको छ’, पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नेपालखबरसँग भने, ‘त्यही दुर्घटनाको कारण नै घटेको देखिन्छ। गत वर्षको तुलनामा झन् पर्यटक घट्नुमा चिन्तित हुनुपर्ने विषय हो।’
गाडीमा नेपाल आउने भारतीय पर्यटकको गणना नै हुँदैन। काठमाडौंमा हवाइमार्गबाट आए पनि सडकबाटै पोखरा, चितवन र लुम्बिनीसम्म जाने गरेका छन्।
उनीहरु जाने ठाउँमा दुर्घटना भएको प्रभाव बढी हुनसक्छ। हवाइमार्गसँगै सडकमार्गबाट आउने पर्यटक समेत घटेको हुनुपर्छ। तर एकीन तथ्यांक हुँदैन।
जुलाई महिनासम्म भारतीय पर्यटकमा उतारचढाव थियो। पर्यटक आगमन घट्दा ३–४ प्रतिशतमा सीमित थियो। जुलाईमा ०.६ पर्यटक बढी भित्रिएका थिए। २०२३ को जुलाईमा २१ हजार ३५७ पर्यटक भित्रिएकोमा २०२४ को जुलाईमा २१ हजार ४९१ पर्यटक आगमन भएको थियो।
भारतीय पर्यटक आगमन मे महिनामा ४.७ प्रतिशत, मार्चमा १८.५ प्रतिशत, फेब्रुअरीमा ३९ प्रतिशत, जनवरीमा ४६.९ प्रतिशतले बढेको थियो। योसँगै पर्यटक आगमनले ३०.५ प्रतिशत बजार हिस्सा ओगटेको थियो। यो बीचमा अप्रिलमा ४.१ प्रतिशतले मात्रै घटेको थियो।
‘२ वटा बस खसेपछि भारतीयहरु नेपालको सडकमा हिँड्न झस्किएका छन्’, होटल संघ नेपालका अध्यक्ष विनायक शाहले भने, ‘सरकारले घटना भवितव्य हो। दुर्घटना भए पनि उद्धार छिटो गर्छौँ भन्ने सन्देश दिन सकेनौँ।’
२०२५ को सुरुवात नै खल्लो, भारतीय पर्यटक ‘डाइभर्ट’
अंग्रेजी नववर्षको पहिलो महिना जनवरीमा नेपालमा कुल ७९ हजार ९९१ पर्यटक भित्रिएका छन्।
विश्वका अधिकांश देशमा पर्यटकीय गतिविधि उच्च हुँदा नेपालमा २०१९ बराबर पर्यटक पनि भित्रिएनन्। सन् २०१९ मा ८१ हजार २७३ पर्यटक नेपाल भित्रिएका थिए। त्यसको तुलनामा ९८ प्रतिशत मात्रै पर्यटक भित्रिएका छन्। २०२४ मा ७९ हजार १०० भित्रिएका थिए।
यो महिना बंगलादेशबाट ४९ प्रतिशत बढ्दा भारतीय पर्यटक नै १५ प्रतिशतले घटेका छन्। सार्क मुलुकबाटै ४.३ प्रतिशतले पर्यटक गिरावट आएको छ। जनवरीमा भारतबाट २० हजार ४८५, चीनबाट ८ हजार १९१, अमेरिकाबाट ८ हजार ६३, बंगलादेशबाट ५ हजार ४०६ पर्यटक भित्रिए।
सन् २०२४ को तुलनामा भारतबाट आउने पर्यटक १५.१ प्रतिशतले घटेका छन्। सन् २०२४ को जनवरीमा भारतबाट २४ हजार १३९ पर्यटक भित्रिएकोमा अहिले २० हजार ४८५ पर्यटक भित्रिए। जुन कुलमध्ये भारतीय पर्यटकको बजार हिस्सा २५.६ प्रतिशत हो। अघिल्ला वर्ष भारतको पर्यटक आगमनको हिस्सा ३५ प्रतिशतसम्म पुगेको थियो। कोभिड महामारीपछि युरोपियन, अमेरिकन, चिनियाँ पर्यटकको आगमन घट्दा ३५ प्रतिशत पुगेको थियो।
सार्कबाहेक एसियाका अन्य देशबाट पर्यटक आगमन ३.२ प्रतिशतले घटेको छ। युरोपको ३.७ प्रतिशतले बढ्दा ओसियानामा २५.३ प्रतिशतले बढेको छ। अमेरिकन महादेशबाट १४ प्रतिशत बढेको छ। अफ्रिकाबाट आउने पर्यटक समेत ११.२ प्रतिशत छ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टका अध्यक्ष कुमार थपलियाले भारतीय पयर्टक डाइभर्ट भएको बताउँछन्।
‘भारतीय पर्यटक नेपाल आउँदा लाग्ने भाडा र अरु देशमा जाने भाडामा उस्तै हुँदा डाइभर्ट भएको देखिन्छ’, अध्यक्ष थपलिया भन्छन्, ‘भारतमै नेपालको बारेमा राम्रो प्रचार गर्न सकिएको छैन।’
महंगो गन्तव्यको पहिचान बन्दा भारतीयसँगै एसियाली मुलुकबाटै नेपालमा आउने पर्यटक घटेका छन्। भारतमा महाकुम्भ मेला चलिरहेकाले भारतीय पर्यटक घटेको हुनसक्ने व्यवसायी बताउँछन्।
‘दिल्लीबाट काठमाडौंको हवाइ भाडाभन्दा थाइल्यान्ड र इन्डोनेसिया जान सस्तो पर्न थाल्यो’, होटल संघका अध्यक्ष शाह भन्छन्, ‘सडकबाट आउन कुनै पनि राम्रा छैनन्, हवाइबाट आउँदा धेरै खर्च।’
भारतबाट आउने पर्यटक घटे पनि एसियामा बंगलादेश र युरोपियन, अमेरिकनले बजार थामेका छन्। सार्क मुलुक बंगलादेशबाट कोभिड महामारीपछि बढ्दै गएका छन्। बंगलादेशमा आन्दोलनको समयमा पर्यटक आगमन घटेको थियो अहिले पुनः बढ्दै गएको छ।
कोभिडपछिको ट्रेन्ड विश्लेषण गर्दा बंगलादेशी नेपालमा मनोरञ्जन क्षेत्रमा रमाउने गरेका छन्।
नेपालको हिमाल हेर्न, खानपिनसँगै रमाइलो गर्न आउने बढी हुन्छन्। केही क्यासिनो जानका लागि समेत आउने गरेका छन्। ट्रेकिङ र धार्मिक रुपमा आउँदैनन्।
‘नेपालको हवाइ भाडा महंगो हुँदा जति पर्यटक आउनुपर्ने हो, त्यति आउन सकेनन्’, बोर्डका निर्देशक लामिछानेले भने, ‘त्रिभुवन विमानस्थल रातिको समयमा बन्द हुँदाको असर समेत पर्यटन क्षेत्रमा देखिन्छ।’
Shares

प्रतिक्रिया