विश्व स्वास्थ्य संगठनले महामारी घोषण गरेको कोरोना हालसम्म आइपुग्दा १८० भन्दा बढी मुलुकमा फैलिसकेको छ। यतिबेला विश्व यस भाइरसबाट आक्रान्त बनेको छ।
कोरोनाका कारण शनिबारसम्म २ लाख ७६ हजार ५३२ बिरामी भएका छन्। यसबाट मृत्यु हुनेको संख्या ११ हजार ४१८ पुगिसकेको छ। दैनिक कोरोनाबाट संक्रमित र मृतक बढ्दै गएका छन्।
यसबीचमा सबैले कोरोना भाइरस के हो? यसका संकेत के हुन्? र यसबाट बच्न के गर्नुपर्छ? भन्नेबारे जानकारी हासिल गर्नु महत्वपूर्ण हुन्छ।
कोरोना भाइरस ‘कोभिड–१९’ बारे विस्तृत जानकारीः
वुहानबाट फैलिएको कोरोना भाइरस के हो?
कोभिद–१९ कोरोना भाइरस परिवारको भाइरस हो। यस भाइरस पहिले कहिल्यै मानिसमा देखिएको थिएन। वुहानको हुवानान सिफुड ‘माछाजन्य जीव पाइने’ होलसेल मार्केटमा काम गर्ने व्यक्तिमा पहिलो कोरोना संक्रमण देखिएको थियो।
कोरोनाभाइरसको लक्षण के–के हुन्?
यस भाइरसले निमोनिया निम्त्याउँछ। जो कोरोनाबाट संक्रमित बन्छन् ती व्यक्तिमा कफ हुने, लामो समय ज्वरो आउने, सास फेर्न गाह्रो हुने, शरीर दुख्ने, नाकबाट पानी निस्कने, घाँटी दुख्ने संकेत देखिन्छ।
संक्रमण गम्भीर बनेको अवस्थामा मानिसका अंगले काम गर्न छाड्छ। भाइरल निमोनिया निम्त्याउने भएकाले यसको संक्रमणपछि एन्टीबायोटिकले काम गर्दैन। फ्लूविरुद्ध प्रयोग हुने औषधिले यस भाइरस मार्न सक्दैन। संक्रमणबाट निको हुने सम्भावना मानिसमा रहेको प्रतिरक्षा प्रणालीमा निर्भर हुन्छ। कोरोनाबाट धेरै ज्यान गुमाउनेहरु अस्वस्थ्य मानिसहरु हुन्।
मानिसबाट सर्छ कोरोना भाइरस?
यस नयाँ कोरोनाभाइरस मानिसदेखि मानिसमा अत्यधिक सरेको देखिएको छ। कोरोना संक्रमितसँग नजिकैबाट बोल्दा उनको थुक, कफको थोपाबाट यस भाइरस सर्छ। कोरोना संक्रमितले छोएको बस्तुसँग मानिसको मुख, नाक र आँखा सम्पर्कमा आए यस भाइरस सर्छ।
कफ भएको अवस्थामा के गर्ने?
बेलायतको स्वास्थ्य अधिकारीहरुले कफ भएको अवस्थामा अस्पताललाई खबर गर्न सुझाव दिएको छ। कोरोनाको कुनैपनि लक्षण देखिए अस्पताल भर्ना हुनुपर्छ।
कोरोनाभाइरस प्रभावित क्षेत्रबाट भ्रमण गरेर फर्केको भए घरभित्रै कोहीसँग सम्पर्कमा नआएर बस्नुपर्छ। यस्तै अस्पतालमै उपचार गराउन चिकित्सकहरु सुझाव दिन्छन्।
कोरोनाबाट कसरी बच्ने?
हालसम्म कोरोनाको औषधि बनिसकेको छैन। विश्व स्वास्थ्य संगठनले विश्वभर २० भन्दाबढी कोरोनाको भ्याक्सिन बनिरहेको बताएको छ। केही भ्याक्सिन अमेरिकाले परीक्षण गरिरहेको छ। तत्काललाई कोरोनाबाट बच्न हामीले कोरोनाबाट संक्रमित बिरामीसँग सम्पर्क गर्नुहुन्न।
मुख र नाक मास्कले छोप्नुपर्छ। कफ र नाकबाट पानी बग्ने समस्या भए त्यसलाई हातले छुनुहुन्न। साबुन पानीले लगातार हात धुने गर्नुपर्छ।
विश्व स्वास्थ्य संगठनले दिएका सुझाव यसप्रकार छन्ः
–स्पिरिट वा तातो पानी र साबुनले नियमित हात धुनुहोस्।
–हाच्छ्युँ गर्दा वा खोक्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्नुहोस्
–ज्वरो र खोकी लागेका मानिससँग निकट सम्पर्क नराख्नुहोस्
–ज्वरो, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए तुरुन्तै अस्पताल जानुहोस् र चिकित्सकलाई आफ्नो यात्राको विवरण दिनुहोस्
–जीवजन्तुबाट उत्पादित खानेकुरा काँचै तथा कम पकाएर नखानुस्। मासु वा दूधजस्ता खानेकुरा तयार गर्दा काँचोबाट पाकेकामा संक्रमण हुन नदिनोस्।
यो पनिः
कोरोनाविरुद्धको चिनियाँ कदमबाट अरु देशले के सिक्ने?
विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्यो यी १५ सुझाव
प्रतिक्रिया