कारोबार


जसले किन्न सक्छन् अमेरिकामा टिकटकको व्यवसाय, ट्रम्पको चाहनामा को को?

जसले किन्न सक्छन् अमेरिकामा टिकटकको व्यवसाय, ट्रम्पको चाहनामा को को?

नेपालखबर
माघ १३, २०८१ आइतबार १२:१२, काठमाडौँ

टिकटकको चिनियाँ मातृकम्पनीसँग एपको अमेरिकी व्यवसाय किन्ने व्यक्ति-कम्पनी खोज्ने समय दुई महिना छ।

क्रेता नभेटिए अमेरिकाभर टिकटकले प्रतिबन्धको सामना गर्नुपर्नेछ। नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशबाट टिकटकलाई यो समय उपलब्ध गराइदिएका थिए।

त्यसअघि नै टिकटकको स्वामित्व किन्न प्रतिस्पर्धा देखिएको छ। 

कुनै पनि खरिदले यसको मातृकम्पनी बाइटडान्स र चीन सरकारसँग यसको सम्बन्धभन्दा ज्यादा अमेरिकी सरकारको राष्ट्रिय सुरक्षाप्रतिको ध्यानाकर्षणलाई सम्बोधन गर्नुपर्नेछ।

हालसम्म कम्पनीले यो समस्या सुल्झाउन सकेको छैन र अरुको स्वामित्वमा जानबाट आफूलाई रोकिरहेको छ। जनवरी १९ मा टिकटक एप अमेरिकी कानुनअनुसार लगभग प्रतिबन्धित बनिसकेको थियो। तर ट्रम्पले कार्यकारी आदेश जारी गर्दै ७५ दिनभित्र बिक्रीको छिनोफानो गर्न बाइटडान्सलाई समय दिएका थिए। 

‘टिकटकका लागि मभित्र न्यानो स्थान छ जुन यसअघि थिएन’, ट्रम्पले उक्त आदेशमा हस्ताक्षर गर्दै ओभल अफिसबाट भनेका थिए। 

तर बाइटडान्स लोकप्रिय भिडिओ सेवा बिक्रीका लागि तयार रहे नरहेको स्पष्ट भइसकेको छैन, पछिल्लो वर्षैभर कम्पनीले यो विचारको प्रतिवाद गरिरहेको थियो। बिक्री हुने भएमा यसको बजार मूल्यांकन ५० अर्ब अमेरिकी डलरभन्दा माथि जानसक्नेछ। बाइटडान्सको सञ्चालक समिति सदस्य तथा जेनरल एटलान्टिकका प्रमुख कार्यकारी अधिकृत बिल फोर्डले ब्लुमबर्ग टेलिभिजनसँग यसको समाधानबारे कम्पनीले सोच्ने बताएका छन्। 

त्यसो त राष्ट्रपतिको बिक्री समय लम्ब्याउने कार्यकारी आदेश वैधानिकताको कसीमा सफल हुने नहुने पनि देखिन बाँकी नै छ। राष्ट्रिय सुरक्षा कानुनअनुसार यदि बिक्री सम्झौता यसअघि नै प्रक्रियामा रहेको भए मात्र समय लम्बिन सक्ने उल्लेख छ तर त्यस किसिमको सम्झौता घोषणा भएको अवस्था छैन। 

यद्यपि टिकटक प्राप्त गर्ने चाहनामा भने कुनै कमी देखिँदैन। 

टिकटकका १७ करोड मासिक अमेरिकी प्रयोगकर्ता छन् भने युवा अमेरिकीमाझ संस्कृति र राजनीतिको मुख्य संवाहक बनेको छ। ट्रम्प आफूलाई सम्झौता गराउन सामर्थ्यवान् व्यक्तिका रुपमा उभ्याउँदै आएका छन्। र, यो मुद्दामा उनले पाएका मतले अर्थ राख्छन्ः टिकटक खरिदका लागि हुने सम्झौता उनीबाट स्वीकृत हुनुपर्छ र यसले देशको राष्ट्रिय सुरक्षाको चिन्तालाई आश्वस्त पार्न सक्नुपर्छ। 

त्यसो भए कसले किन्ला त टिकटक? यहाँ टिकटक किन्न उपयुक्त व्यक्तिहरुको लामो सूची छ— 

जसले पहिलेदेखि नै चाहेका छन् टिकटकको स्वामित्व 

फ्रान्क म्याककोर्ट र केभिन ओ’लिरी 
म्याककोर्ट एक अर्बपति त हुन् नै, लस एन्जलस डजर्सा पूर्वमालिक पनि हुन्। उनले शार्क ट्यांक लगानीकर्ता केभिन ओ’लिरीसँग समूह बनाएर टिकटक खरिद गर्न चाहेका छन्। यसको प्रस्ताव समेत बुझाइसकेको उनको भनाइ छ।

ब्लुमबर्ग अर्बपति सूचकांकअनुसार उनीसँग २.४ अर्ब अमेरिकी डलर सम्पत्ति छ। उनका अनुसार यो समूहले टिकटक प्रयोगकर्तालाई विषयवस्तु सिफारिस गर्ने सफ्टवेयर अल्गोरिदम खरिद गर्न पनि पर्दैन। यसले टिकटक खरिदमा यो समूहको दाबेदारीलाई सहज बनाउँछ।

म्याककोर्टले यही हप्तामात्र अमेरिकी सरकार समेत सहभागी हुने गरी आवश्यक व्यवस्थापन मिलाउन यो समूह तयार रहेको बताइसकेका छन्। 

मिस्टरबिस्ट 
जिम्मी डोनाल्डसन नामका चर्चित युट्युबर मिस्टरबिस्टले पनि धेरै लगानी समूहहरुसँग यसबारे छलफल चलाइरहेका छन्।

यसमा प्रविधि उद्यमी तथा इम्प्लोयर डटकमका संस्थापक जेसे टिन्स्लेको नेतृत्वमा रहेको एक ग्रुप पनि सहभागी छ। यो ग्रुपले टिकटक खरिद गर्ने चाहना व्यक्त गर्दा डोनाल्डसनलाई पनि लगानीकर्ताको सूचीमा राखेको छ। 

‘धेरै सम्भावित क्रेताहरु जिम्मीसँग टिकटक खरिदो छलफल चलाइरहेका छन् तर कोहीसँग पनि उनको तात्विक सहमति बनिसकेको छैन’, एक प्रवक्ताले भने, ‘डोनाल्डसनले कुनै पनि खरिद प्रस्तावमा वित्तीयभन्दा सञ्चालकीय भूमिका निर्वाह गर्नेछन्।’

जसले किनिदेओस् भन्ने चाहन्छन् ट्रम्प

इलोन मस्क 
इलोन मस्क संसारकै धनाढ्य मात्र होइनन्, उनीसँग ४ खर्ब ४० अर्ब अमेरिकी डलर सम्पत्ति छ। उनी राष्ट्रपति ट्रम्पका शीर्ष सल्लाहकार समेत हुन् भने अर्को सामाजिक सञ्जाल एक्सका मालिक पनि छन्। 

यसबाहेक चिनियाँ सरकारी अधिकारीहरुले समेत टिकटकको स्वामित्व मस्कले लिनेबारे छलफल गरेका छन्। यसले गर्दा मस्क थोरैमध्ये टिकटक खरिद गर्नसक्नेमा पर्छन्। यसो हुँदा अमेरिकी सरकारको स्वीकृति र चीनको सहमति जुट्ने अपेक्षा गर्न सकिन्छ। 

यसै सन्दर्भमा ट्रम्पलाई सोधिएको जवाफमा उनले भनेका छन्, ‘यदि उनले खरिद गर्न चाहन्छन् भने म योबारे खुल्ला नै छु।’

ल्यारी एलिसन 
त्यसो त ट्रम्पले ओरेकलका प्रमुख ल्यारी एलिसनले टिकटकको स्वामित्व लिनेबारे पनि खुल्ला रहेको बताएका छन्। 

‘म ल्यारीले पनि किनून् भन्ने चाहन्छु’, ट्रम्पले आफूसँगै उभिएका ल्यारीलाई सुनाउँदै केही दिनअघि भनेका थिए। २ खर्ब ९ अर्ब डलरका मालिक ल्यारीले पनि ट्रम्पलाई समर्थन गरेका छन्। यसले गर्दा पनि उनले किन्न सक्ने सम्भावना समेत बलियो छ। त्यसो त ओरकल टिकटकका लागि मुख्य प्रविधि र पूर्वाधार साझेदार हुन्। यसले यसअघि नै एपको अमेरिकी डेटा भण्डारण गरिरहेको छ। 

४ वर्षअघि पहिलो कार्यकालको अन्त्यतिर ट्रम्पले टिकटक बिक्री गराउने प्रयत्न गरेका थिए। ट्रम्पले ओरेकललाई टिकटक खरिदका लागि छानेका समेत थिए। तर त्यतिबेला खरिदबिक्री सफल भएन। 

अमेरिकी सरकार 
राष्ट्रपति ट्रम्पले अमेरिकी सरकारले नै आंशिक स्वामित्व लिनेबारे समेत यसअघि पटक पटक बताइसकेका छन्। 

उनले जनवरी २१ मा एक नयाँ लगानीकर्ताले टिकटक किन्ने र आधा स्वामित्व सरकारलाई दिनुपर्ने उल्लेख गरेका थिए। यसो हुँदा अमेरिकामा टिकटक निर्बाध चल्नसक्ने उनको भनाइ थियो। 

यद्यपि यस्तो व्यवस्थापनले कसरी काम गर्ला भन्नेबारे भने अनिश्चितता नै छ। त्यसमाथि निजी व्यवसायमा सरकारको सेयर रहेका सीमित उदाहरण मात्र छन्। यस्तो व्यवस्थापनलाई चीनले सहमति दिनेबारे पनि अन्योल नै छ। 

यसका बाबजुद ट्रम्प भने नयाँ क्रेताबाट किनाउने र सरकारलाई समेत स्वामित्व बाँड्नेबारे आफूमै शक्ति निहित रहेको विश्वास गर्छन्। 

अरु कसले चाहलान् टिकटक? 
मेटा

यो प्लेटफर्मले यसअघि नै विश्वमा सामाजिक सञ्जालको नेटवर्किङ प्रडक्टको नियन्त्रण गर्छ। जसमा फेसबुक र इन्स्टाग्रामहरु पर्छन्। यसका सीईओ मार्क जकरबर्ग यस्ता अनलाइन प्रडक्टहरुका लागि ठूलो प्रयोगकर्ता सञ्जाल निर्माणमा उपयुक्त मानिन्छन्। कम्पनीले यसअघि नै विज्ञापन व्यवसाय स्थापना गरिसकेको छ। यस्तोमा टिकटकलाई थपेर सेवाको विविधीकरणबाट फाइदा पाउन सहज हुनसक्छ। 

तर मेटाका लागि सफलता र प्रभुत्वका कारण भने यो सम्झौता नहुनसक्छ। किन कि मेटाले धेरै सरकारको अनुसन्धानको सामना गरेको छ। अमेरिकामा संघीय नियामकहरुले यसअघि नै कम्पनीलाई टुक्र्याउन चाहिरहेका छन्। यस्तोमा टिकटकको अर्को सामाजिक सञ्जाल सेवा थप्न दिनेमा शंका छ। 

गुगल 
गुगल यसअघि नै युट्युबकोे स्वामित्वकर्ता हो। जुन विश्वकै लोकप्रिय भिडिओ सञ्जाल हो। यसको विज्ञापन व्यवसाय टिकटकसँग राम्रोसँग मिल्न सक्छ। यसबाहेक अनलाइन भिडिओ क्रिएटरसँग यसको गहिरो ज्ञान र अनुभव पनि छ।

यसले टिकटकमा भिडिओ पोस्ट गर्ने मानिसहरुका लागि राम्रो हुने देखिन्छ तर मेटाजस्तै अल्फाबेटको गुगलले पनि धेरै सरकारको अनुसन्धानको सामना गरिरहेको छ र अमेरिकी जस्टिस डिपार्टमेन्टले गत वर्ष मात्रै यसले अनलाइन खोजी बजारमा अवैध रुपमा एकाधिकार जमाएको आरोपको सामना गरिरहेको छ। त्यसकारण नियामकहरुले अर्को मुख्य विज्ञापन व्यवसाय प्लेटफर्म थप्न दिने कुरा असम्भव देखिन्छ। 

अमेजन 
यता अमेजन डटकमसँग यसअघि नै भिडिओ सर्भिस सञ्चालनको अनुभव छ। यसले स्ट्रिमिङ प्लेटफर्म ट्विच चलाउँछ र ७२ अर्ब डलर क्यास पैसा वा यसबराबरको ब्यालेन्स शिट छ। 

त्यसबाहेक अमेजन यसअघि नै शपिङ फिचरमा टिकटकको साझेदार बनिसकेको छ। यसले टिकटक शपसँगको एकीकरणबाट राम्रो फाइदा मिल्न सक्छ। अमेजनसँग समाहित हुँदा टिकटकले सेवा थप्न समेत सहज हुन्छ। तर अमेजन टिकटक खरिदमा कति उत्सुक छ भन्ने स्पष्ट छैन।

संस्थापक जेफ बेजोसले पनि पछिल्लो समय ट्रम्पसँग सम्बन्ध बढाइरहेका छन्। यसले टिकटक किन्न चाहेमा अमेजनलाई सहज हुनसक्छ। 

माइक्रोसफ्ट 
पछिल्लोपटक टिकटक बिक्री हुने कुरा चल्दा माइक्रोसफ्ट सुरुवाती प्रस्तावदाता थियो। माइक्रोसफ्टसँग यसअघि नै लिंक्डइनको स्वामित्व छ। त्यसकारण सामाजिक नेटवर्किङ प्रडक्टहरुमा केही अनुभव बटुलिसकेको छ। 

यद्यपि सन् २०२० मा सीईओ सत्या नडेलाले यो प्रक्रियालाई नै अनौठो कुरा भएको टिप्पणी गरेका थिए। अहिले माइक्रोसफ्ट टिकटक किन्न चाहन्छ र प्रस्ताव हाल्ला भन्नेमा स्पष्ट छैन। 

नेटफ्लिक्स 
नेटफ्लिक्सले अहिलेसम्म ठूला प्राप्ति गरेको छैन र यस्तोमा चाहना समेत नभएको बताउँदै आएको छ। तर टिकटकले पटक पटक नेटफ्लिक्सलाई सन् २०२० मा यसबारे चासो देखाएर पछ्याएको थियो। यसका बाबजुद सम्झौताको चरणमा पुग्न भने सकेन। नेटफ्लिक्स समेत यो सम्झौतामा उपयुक्त विकल्प भने देखिन्छ। 

नेटफ्लिक्सका सेयर हालसम्मकै उच्च बनिरहँदा टिकटकले कम्पनीलाई छोटा भिडिओ वितरण प्लेटफर्म दिन सक्छ। यसले नेटफ्लिक्सलाई समेत दशौँ लाख युवा अमेरिकी उपभोक्तासम्म पुग्न सहयोग गरी युट्युबसँग बलियो प्रतिस्पर्धाको अवसर दिन सक्छ। ब्लुमबर्गबाट 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad