कारोबार


केएमसी ग्रुपको लगानीमा काठमाडौँमा खुल्यो चारतारे होटल बेस्ट वेस्टर्न प्लस, आईपीओ पनि आउने

केएमसी ग्रुपको लगानीमा काठमाडौँमा खुल्यो चारतारे होटल बेस्ट वेस्टर्न प्लस, आईपीओ पनि आउने

नेपालखबर
माघ ९, २०८१ बुधबार २०:२८, काठमाडौँ

शिक्षा क्षेत्रको अग्रणी केएमसी ग्रुपले होटल क्षेत्रमा पनि लगानी विस्तार गरेको छ। केएमसी ग्रुपका संस्थापकहरूकै लगानीमा स्थापित रायन होटल लिमिटेडले विश्वप्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य गरी बेस्ट वेस्टर्न प्लस काठमाडौँ सञ्चालनमा ल्याएको हो।

बुधबार आयोजित एक विशेष समारोहमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले होटलको उद्घाटन गरेका हुन्।  

उद्घाटन समारोहमा होटलका अध्यक्ष रामेश्वर अर्यालले पर्यटन क्षेत्रमा यो आफ्नो प्रवेश मात्र रहेको र अझै पाँचतारे होटल निर्माण र सञ्चालन गर्नका पनि तयार रहेको बताए।

उनले भने, ‘आजको दिन हाम्रा लागि निकै गौरवको दिन हो। शिक्षामा हामी देशकै ठूलो र अगुवा शैक्षिक सञ्जाल निर्माण गर्न सफल भएकै थियौँ। विभिन्न १० वटा अब्बल शैक्षिक संस्थाहरूबाट १४ हजार विद्यार्थीलाई उत्कृष्ट शिक्षा दिइरहेका छौँ। आजका दिनबाट हामी शिक्षासँगै अतिथि सत्कार व्यवसायमा पनि फड्को मारेका छौँ। यसबाट अब हाम्रा होटल व्यवस्थापनका विद्यार्थीले प्रशिक्षार्थीका रूपमा काम गर्न बाहिर जानुपर्ने छैन। साथै पर्यटन क्षेत्रबाट देशलाई समृद्धिको उचाइमा लैजान हाम्रो पनि महत्त्वपूर्ण योगदान रहनेछ।’

काठमाडौँको पिंगलास्थानमा अवस्थित यो चार तारे होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब डेढ किलोमिटरको दूरीमा अवस्थित छ। पशुपतिनाथ मन्दिरबाट पनि यो पैदल दूरीमा पर्छ।

पश्चिमा फ्लेभरको विश्वस्तरीय सुविधा र नेपाली संस्कृतिको मिश्रण रहेको यस होटेलले नेपाली अतिथि सत्कार उद्योगमा नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको व्यवस्थापनले जनाएको छ। होटलमा कुल ८७ वटा कोठा छन्। जसमध्ये ४ वटा सुइट रुम, ७ वटा प्रमियम रूम, १२ वटा सुपर डिलक्स र ६१ वटा  डिलक्स रूम सञ्चालनमा छन्।

उद्घाटन समारोहमा दिइएको जानकारी अनुसार होटलमा दुईवटा क्याफे, रूफटप बार, हेल्थ क्लब, स्पा, स्टिम, सौना र स्विमिङको पनि मज्जा लिन सकिने होठ। प्राइभेट डाइनिङ रूम र बोर्ड मिटिङ रूमको पनि व्यवस्था छ। २ वटा बहुद्देश्यीय हलहरू छन्, जसमा क्रमशः ६०० र ६५० जना सहभागी क्षमता रहेको छ।

साढे ७ रोपनी क्षेत्रफलको जग्गामा १ अर्ब ५० करोड रूपैयाँभन्दा बढीको लागतमा होटलका संरचनाहरू निर्माण गरिएका छन्।

होटल पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता रहेको र चाँडै नै सर्वसाधारणले पनि लगानी गर्न पाउने गरी आईपीओ सेयर जारी गर्ने तयारी रहेको अध्यक्ष अर्यालले जानकारी दिए।

तस्बिरहरूः सरोज बैँजु/नेपालखबर 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad