कारोबार


नौबिसे नागढुङ्गा सुरुङमार्गको निर्माण शुरु हुँदै

नौबिसे नागढुङ्गा सुरुङमार्गको निर्माण शुरु हुँदै

नेपालखबर
असार १९, २०७६ बिहिबार १६:६,

काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नौबिसे नागढुङ्गा सुरुङमार्गको निर्माण चाँडै शुरु हुने भएको छ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आजको बैठकमा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले सुरुङमार्ग निर्माणका लागि सबै तयारी भइसकेको बताए। उनका अनुसार जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा सो योजना बनाउने सहमति भएको छ। जाइकाबाट अन्तिम निर्णय आउनासाथ काम अघि बढ्ने उनले बताए। उनले भने 'उताबाट हुन्छ भनेको १५ दिनभित्रै शिलान्यास हुनेछ।' 

सो आयोजना सकेसम्म चाँडो सम्पन्न गर्ने गरेर जाइकासँग छलफल भइरहेको मन्त्री महासेठले बताए। ४० महीनामा सम्पन्न गर्ने गरी छलफल भइरहेकामा सरकारले दुई वर्षभित्रै सम्पन्न गर्न जाइकालाई आग्रह गरेको उनले जानकारी दिए। सरकारले विभिन्न स्थानका सुरुङमार्ग निर्माणका लागि एकमुष्ठ रु ५९ करोड विनियोजन गरेको उनको भनाइ थियो। सरकारका योजनामा परेका ती आयोजनामा आवश्यकताअनुसार बजेट विनियोजन हुनेछ।

बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापनाको तयारी गरिरहेको बताए। सरकारले आफैँ निर्माण कम्पनी खोले पनि निजी कम्पनीलाई प्रोत्साहन गर्ने नीति रहेको बताइएको छ।

काठमाडौँ उपत्यकामा सडक विस्तार क्रममा देखिएका समस्या पूर्णरुपमा समाधान नहुँदा काममा बाधा पुगिरहेको छ। उनका अनुसार निर्माणाधीन चाबहिल–साँखु सडक समस्याका बाबजुत पनि अघि बढिरहेको छ। सो सडकमा काम अघि बढाउने सन्दर्भमा केही समय पहिले मात्रै सडक विभागले त्यहाँका जनप्रतिनिधिसँग छलफल अघि बढाएको थियो। जोरपाटी आसपासको कतिपय स्थानमा त्यहाँ रहेका झण्डै १५० वर्ष पुराना पाइप हटाउन नसक्दा काममा बाधा पुगेको थियो। खानेपानी मन्त्रालयसँग समस्या समाधानका लागि कुरा गर्दा मन्त्रालयसँग बजेट नभएको बताएपछि अहिले आफैँले बजेटको व्यवस्थापन गरिरहेको उनले बताए। उनले भने 'बजेटको समस्या भए आएर भन्नुहोस्, व्यवस्था हुन्छ तर काम रोक्न हुँदैन भनेर हामीले भनिरहेका छौँ।'

सडकको अवस्था सुधार नभएको र सडककै कारण दुर्घटना भइरहेको भन्ने समितिका सदस्यको जिज्ञासामा उहाँले यो सरकार गठन भएपछि धेरै सडकका काम अघि बढेको दाबी गरे। अहिले निर्माण शुरु भएका वा शुरु हुने क्रममा रहेका सडक छोटो समयमा नै सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको पनि उहाँले औँल्याए। उनले भने 'समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई ठेक्का तोड्नेसम्मको कारवाही भइरहेको छ।'

काठमाडौँ उपत्यकामा आगामी दिनमा ‘सिग्नेचर व्रिज’ निर्माणमा प्राथमिकता दिइने योजना रहेको सो अवसरमा जानकारी दिइयो। राजधानी काठमाडौँमा आकर्षक पुलको निर्माण सरकारको प्राथमिकतामा रहेको छ। उपत्यकाको जडीबुटीसँगै महाराजगञ्ज, थापाथली, चाबहिललगायतका स्थानमा कतै ‘अण्डर पास’ र कतै ‘फ्लाइ ओभर’ निर्माणका लागि छलफल भइरहेको छ। जडीबुटीमा ‘कभर अण्डरपास’ निर्माणका लागि जाइकासँग छलफल भइरहेको छ। उनले भने 'जाइकाले ढिलाइ गर्ने देखिएमा सरकार आफैँ निर्माणमा लाग्नेछ।'

समितिका सदस्यसमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौँबाट धार्केसम्मको सडक निर्माण गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा १० वर्ष पहिले भए पनि अझैसम्म काम अघि नबढ्नुको कारण मन्त्रीलाई साेधेका थिए। मन्त्रालयले आफूसँग योजना, नीति र ‘भिजन’ नभए बनाउनुपर्ने तर काममा ढिलाइ गर्न नहुने बताए। विद्युतीय बसले देशको व्यापार घाटा कम गर्न सक्ने भन्दै उनले त्यसको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याए। मदन भण्डारी लोकमार्गको सर्वेक्षण गर्दा चुरेको पल्लो भागलाई समेत छुटाउन नहुने उनको सुझाव छ। उनले भने, 'वास्तवमा इलामको पाटापुरदेखि नै चुरे शुरु हुने भएकाले त्यहीँबाट अध्ययन गर्नुपर्छ ।'

समितिका सभापति कल्याणीकुमारी खड्काले कतिपय राजमार्गमा सडकको अधिकार क्षेत्र स्पष्ट नभएकाले स्पष्ट पार्नुपर्ने बताए। तीनकुनेस्थित वाग्मती पुल निर्माणमा ढिलाइ भएपछि समिति त्यस ठाउँमा पुगेर अनुगमन गरेको थियो। अहिले पनि पुलको अवस्था उस्तै रहेको बताइएको छ। समितिका सदस्य पूर्वमन्त्री टोपबहादुर रायमाझीले काठमाडौँ उपत्यकामा सडकमा देखिएको धुलो र हिलोमा सुधार आइरहे पनि अझै सुधारका लागि काम गर्न बाँकी रहेको बताए।

सांसद गणेशकुमार पहाडीले सर्वाेच्च अदालतले बहिरा व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिनु भन्ने आदेश दिएकाले कानूनमा सुधार गरेर निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। सांसद रङ्गमति शाहीले काठमाडौँमा धुलो नहटेको थाहा पाउन स्कुटरमा हिँड्नुपर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad