कारोबार


एनसेलले पायो आईएसओ २७००१ र २७७०१ को मान्यता

एनसेलले पायो आईएसओ २७००१ र २७७०१ को मान्यता

नेपालखबर
पुस २४, २०८१ बुधबार १९:३८, काठमाडौँ

एनसेलले प्रतिष्ठित आईएसओ २७००१ः२०२२ (आईएसएमएस) र २७७०१ः २०१९ (पीआईएमएस) को  मान्यता पाउन सफल भएको छ।

यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको छ र ग्राहकहरूको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको भनाई छ।

यस उपलब्धिसँगै, एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआईएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ, जसले ग्राहकहरूको सूचना सुरक्षा सुनिश्चित गर्ने एनसेलको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

एनसेलको विश्वसनीयता र सूचना सुरक्षालाई अझ सुदृढ बनाउँदै कम्पनीको डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेज्ले यी मान्यताहरु प्राप्त गरेका कम्पनीले जनाएको छ।

‘यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु हाम्रो सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासहरूको एक प्रमुख कोसेढुङ्गा हो। यसले एनसेल निरन्तर सुधार र उत्कृष्टता प्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको, गुणस्तर र सुरक्षाप्रति सधै समर्पित रहेको स्पष्ट पार्दछ। सीईओका रुपमा, म यो अनतर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्ड प्राप्त गर्ने परिवर्तनकारी अनुभव साझा गर्न पाएकोमा हर्षित छु। यसले टेलिकम उद्योगमा उत्कृष्टताप्रति हाम्रो प्रतिबद्धतालाई उजागर गर्दछ। हाम्रो टिमको समर्पणमा म अत्यन्त गर्व गर्छु, र नवीन प्रविधि भित्राउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै सूचना सुरक्षा र डेटा गोपनीयताका उच्चतम मापदण्डहरू कायम राख्नेछौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने।

कम्पनीका अनुसार यी मान्यताहरू ग्राहक डेटा सुरक्षा र डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेज्मा गोपनीयता सुनिश्चित गर्ने अभ्यासहरुमा एनसेलले उच्चतम मापदण्डहरू पुरा गरेको प्रमाण हो। यसले ग्राहकहरूलाई उनीहरुका व्यक्तिगत र संवेदनशील जानकारीहरु एनसेलले उच्च जवाफदेहीताकासाथ ह्यान्डल गर्ने र डेटाहरु सुरक्षित रहने प्रत्याभुति प्रदान गर्दछ।

ग्राहक र साझेदारहरुका डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपायहरू कार्यान्वयन गरेको आईएसओ २७००१ मान्यताले सुनिश्चित गर्दछ। त्यसै गरी, आईएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लंघनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको छ।   

आइएसओ मापदण्डहरू पालना गरेर, एनसेलले ग्राहकहरूलाई उनीहरुको डाटा अन्तर्राष्ट्रिय मापदण्ड प्रक्रिया पुरा गरेको एक सुरक्षित प्रणालीले संरक्षण गरिरेहको सुनिश्चितता प्रदान गर्दछ। यी मान्यताहरुले एनसेलको पारदर्शिता र जवाफदेहीतालाई दर्शाउँछ जसले ग्राहकको विश्वास नै व्यवसाय सञ्चालनको केन्द्रबिन्दु रहेको सुनिश्चित गर्दछ। एनसेलका सिस्टमहरू सम्भावित अवरोधहरु न्यूनिकरण गर्ने, जोखिमहरू कम गर्ने, र व्यवसाय निरन्तरतालाई बढाउने गरी डिजाइन गरिएको छ र सबै प्रक्रियामा डेटा सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिइएको कम्पनीको भनाई छ।

यस उपलब्धिसँगै, एनसेलले नेपालको दूरसञ्चार क्षेत्रमा एउटा नयाँ मापदण्ड स्थापित गरेको छ। ग्राहक र व्यवसायिक क्लाइन्टहरूलाई सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो नेतृत्वलाई थप सुदृढ पारेको कम्पनीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad